PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

वडाध्यक्ष खड्का भारतको एक होटलमा मृत फेला



रासस

वडाध्यक्ष खड्का भारतको एक होटलमा मृत फेला

राँझा : बाँकेको कोहलपुर नगरपालिका-१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा फेला परेका छन्। भारतको बहराइचमा रहेको शङ्कर होटलमा वडाध्यक्ष खड्काको शव फेला परेको कोहलपुर नगरपालिका सदस्य डिलबहादुर परियारले जानकारी दिए।

उनका अनुसार घटनाबारे वडाध्यक्ष खड्काको घरमा बहराइचबाट जानकारी गराइएको थियो। वडाध्यक्ष खड्काको शव नेपाल ल्याउनका लागि पहल भइरहेको उनले जानकारी दिए।

उनले शव नेपाल ल्याउनका लागि नेकपा बाँकेका सचिव अशोक कोइरालाको नेतृत्वमा नेकपाका नेता र परिवारका सदस्य भारत गएको बताए। तत्कालीन नेकपा एमालेको तर्फबाट उम्मेद्वार भई वडाध्यक्ष जितेका खड्काको तीन छोरी र तीन छोरा रहेको नेकपा कोहलपुरकी अध्यक्ष वसन्ती अधिकारीले जानकारी दिइन्।

वडाध्यक्ष खड्का मंगलवार भएको नगरसभामा समेत अनुपस्थित रहेको नगरपालिकाका सल्लाहकार कुलबहादुर भट्टराईले जानकारी दिए। बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले घटनाबारे जानकारी आएको बताए।

‘घटना भारतमा भएकोले भारतीय प्रहरीले अनुसन्धान गर्दैछ’, उनले भने, ‘यदि उहाँको हत्या भएको भए नेपाल प्रहरीले पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने छ।’

भारतीय प्रहरीको सहयोगमा अनुसन्धान शुरु गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वलीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell