
कैलाली : कैलाली प्रहरीलाई गत डिसेम्मबर ४ मा भारतको नयाँ दिल्लीबाट एकक करोड ४ लाख बराबरको रकम र अन्य सामान चोरी भएको सूचना भारतीय दूतावासबाट प्राप्त भयो।
भारतको दिल्लीमा काम गर्दे आएका श्रीमान् श्रीमती मिलेर चोरी गरेको दाबी गरिएको थियो। उक्त घटनामा अनुसन्धान थालेको प्रहरीले पुस २६ गते कैलालीको गौरीगंगा नगरपालिका ६ बस्दै आएकी बिन्दा थापाको घरमा खानतलासी थाल्यो।
खानतलासीका क्रममा प्रहरीले बिन्दा थापाको कच्ची घरमा रहेको कोठाभित्र खटियामुनि खाल्डो खनेर टिनको बाकसभित्र प्लास्टिक र कपडामा बेरी लुकाई राखिएको अवस्थामा ६५ लाख भारतीय रुपैयाँ बरामद गरेको छ।
सोधपुछका क्रममा रकम चोरीमा संलग्नहरू बाजुराको बुढीगंगा नगरपालिका १ घर भएका २९ वर्षीय जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई पक्राउ गर्न प्रहरी सफल भयो।
अनुसन्धानबाट उनीहरूसँग भएको ६५ लाख भारतीय रुपैयाँ बरामद गरिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
हालसम्म घटनामा अन्य व्यक्तिको प्रत्यक्ष संलग्नता नदेखिए पनि केही व्यक्ति सोधपुछमा तानिएको पनि उनको भनाई छ। अन्य रकम र घटनाबारे अनुसन्धान जारी रहेको बस्नेतले बताए।