दोलखा चित्रेका दावा दोर्जे तामाङ ८३ वर्षका भए। आलु रोप्ने तरखरमा छन् उनी यतिखेर। ६ महिना लगाएर फल्ने आलु उनको आम्दानीको मुख्य स्रोत। ऋण तिर्ने मेलो पनि यसैबाट पूरा गर्नुछ उनले। हिउँ परेकाले आलु राम्रै फल्ने आशा छ।
लेकैमा छ उनको घर। नजिकै वन पनि। यो देखिएको घर बनाउन ५ लाख पूरै खर्च भइसक्यो। तर, अझै बनिसकेको छैन। त्यसैले बास भने भूकम्पपछि बनाएको टहरोमै छ।
असजिलो बाटोबाट पार गर्नुपर्ने भएकाले उनको घरसम्म पुर्याउन ढुवानी महँगो पर्ने नै भयो। अनि घर बनाउन सस्तो होस् पनि कसरी? यो उमेरमा काम गरेर साहुको ऋण चुक्ता गर्न पाए अरु केही उद्देश्य छैन उनमा।
२०७२ सालको भूकम्पले उनको घर भत्कियो। तीन तलाको थियो उनको घर। मानिस र गाईवस्तुलाई त केही भएन र भित्र्याइएको मकै पूरै पुरियो, निकाल्न सकेनन्।
'मान्छेलाई केही भएन तर मकै सबै पुरियो। खाने कुरा केही रहेन,' उनले सुनाए।
+++
शैलुङ गाउँपालिका ३ की डम्बरकुमार श्रेष्ठको घर पनि दोर्जेको भन्दा खासै फरक छैन। उनको एउटा छोराका लागि मानसिक रोगको औषधिमा महंगै खर्च जुटाउनुपर्छ। अर्को छोरा काठमाडौँमा रहेर मोटरसाइकलमा सामान पुर्याउने काममा खटिन्छन्, आफूलाई टिकाउनमात्र सकेका छन्।
भूकम्पले बस्ने ठाउँ सक्काएपछि घर बनाउनुको विकल्प रहेन उनीसामु। सात लाख रुपैयाँ लाग्यो उनको घर ठडिन। घरसम्म बाटो पुग्ने अवस्था पनि थिएन। गाडीमा ल्याएको सामान बोकाउँदा खर्च अझ चुलियो। सरकारले विभिन्न किस्तामा उपलब्ध गराएको ३ लाख बाहेक ४ लाख रुपैयाँ सोझो ऋण थपियो उनको थाप्लोमा।
'देवरहरुले काठमाडौँबाट ऋण मिलाइदिनु भएको छ,' डम्बरकुमारीले भनिन्, 'सहकारीबाट ऋण निकालेर पठाउनु भयो।'
आलु र मकै मुख्य बाली हो उनको पनि। तीन रोपनी जग्गामा उनले खेती गर्दै आएकी छिन् जसबाट जेनतेन खान चाहिँ पुग्छ।
'ब्याज काठमाडौँमै देवरहरुले तिरिरहनु भएको छ। साँवा जत्तिको त्यत्ति छ,' उनले भनिन्।
+++
दावा दोर्जे र डम्बरकुमारीको भूकम्पपछिको संघर्ष कुनै कम्पनभन्दा कम छैन। सुरक्षित रुपमा जीवनयापन गर्दै आएका उनीहरु भूकम्पले गर्दा सडकमा आइपुगेका छन् जसकासामु ऋणको भारी अजङ्ग बनेर तेर्सिरहेको छ।
त्यसो त भूकम्पका कारण नभत्किएका घर त कसको पो थियो यहाँ? तर, दोर्जे डम्बरकुमारीको जस्तो अवस्था धेरैको छ जसले विना ऋण घर ठड्याउन सकेनन्। सक्नेका त कुरै रहेन।
दावा दोर्जेसँग ठूलो ऋण छ। १ सय रुपैयाँको मासिक ३ रुपैयाँ ब्याज तिर्नुपर्छ उनले। 'सयको ३ रुपैयाँमा ऋण लिएको छु, एक लाख,' उनले भने, 'त्यो तिर्न पाएँ भने पुग्यो।' उनले तिर्नुपर्ने ब्याजको हिसाब ३६ प्रतिशत पर्न आउने रहेछ। १ लाख रुपैयाँको प्रति वर्ष ३६ हजार रुपैयाँ तिर्नुपर्ने अवस्थाबाट गुज्रिरहेका उनले घर पूरै कहिले बनाइसक्लान? उनलाई भूकम्पले थिचिरहेको छ या ऋणले?
'घर बनाउने मिस्त्रीले मात्रै डेढ लाख रुपैयाँ लिएर गयो,' उनले भने।
त्यसो त दोर्जेले युरोपेली संघको आर्थिक सहयोगमा युएनडीपीले संचालनमा ल्याएको निर्व्याजी घुम्तीकोषबाट ५० हजार रुपैयाँ नलिएका होइनन्। त्यो रकम भने उनले फिर्ता पनि गरिसकेका छन्। कर र तिरोतारोमा उनी प्रस्ट छन् - कसैको खानु हुँदैन।
तर, बैंकले उनलाई ऋण पत्याउँदैन। त्यसैको बाध्यता सुदखोरकहाँ पुग्नुको विकल्प छैन उनीसँग।
केही मकै र आलु उब्जनीमै निर्भर छ उनको परिवार। निर्व्याजी घुम्ती कोषको रकम चाहिँ घर बनाउँदा सरकारले दिने किस्ता नपाउँदा लिएका रहेछन्। 'किस्ता आएपछि दुई महिनामा त्यो रकम फिर्ता गरेँ,' उनले भने।
उनको घरमा बस्ने ठाउँ चाहिँ बन्यो तर भान्सा बार्न अझै सकेका छैनन्। सरकारले तीन चरण गरी ३ लाख रुपैयाँ अनुदान दिएको छ, घर बनाउन। त्यति रकमले घरको आकार त आयो तर पूरै तयार भने हुन सकेन। उनको घर बनाउँदा ठूलो रकम चाहिँ बालुवा, गिटी र सिमेन्ट ल्याउँदैमा खर्च भयो।
भूकम्पले तहसनहस बनाएको पनि चार वर्ष पूरा भइसक्यो। यो चार वर्ष दोर्जेको परिवारले टिनको टहरोमै बितायो। ढलेको तीन तल्ले लोभलाग्दो घरबाट एक तल्ले घर उठाउँदा पनि चर्को ब्याज तिर्न परिरहेको छ उनले।
सदरमुकाम चरिकोटमा भत्केका घर पहिलेभन्दा अग्लो भएर ठडिइसकेका छन्। तर, भूकम्पपछि गाउँमा आम्दानीका स्रोत कम भएकाहरुले आफ्नो न्यूनतम आवश्यकता पनि पूरा गर्न सकिरहेका छैनन्।
बैंकले सडक नछोएका जग्गामा घर बनाउन ऋण दिँदैन। अनि अहिले नगरपालिकालाई जथाभावी डोजर चलाएर सडक बनाउन रोक लगाइएको छ।
'सडक छेउमा भएकाले त घर बनाउन सकेका छन् तर भित्रतिरकालाई ऋणसमेत मिल्न गाह्रो छ,' दोलखा भीमेश्वर नगरपालिका ९ का अध्यक्ष चित्रबहादुर भुजेलले भने।
३ लाखमा घर तयार हुन नसक्ने अनि त्यसभन्दा बढी खर्च गर्ने हैसियत नभएकाको संख्या सानो छैन। तर, त्यसभन्दा पनि डरलाग्दो विषय बनेको छ - देखासिखीमा घर ठड्याउने।
'कतिपय भने हौसिएर घर बनाउँदा नराम्ररी ऋणमा परेका छन्,' वडा अध्यक्ष भुजेलले भने, 'पहिलो र दोस्रो किस्ता लिएर जानेले तेस्रो किस्ता लिन नसक्ने अवस्थामा पुगेका छन्।'
दोलखाका गाउँहरु डुल्दा यस्तै फरक खाले दृष्यहरु आँखामा परिरहे। यी दृष्य दोलखामा मात्र केन्द्रित होइनन्, सबै प्रभावित जिल्लाहरु यस्तै अवस्थामा रहेको जो कसैले पनि अनुमान गर्न सक्छ। २०७२ साल वैशाखको भूकम्पले मानिसहरुको घरमात्र ढलाएन, जीवनको एउटा चक्रलाई नै नराम्ररी प्रहार गर्यो। जीविकोपार्जनमा आधारित पेशा अपनाएर बसेकासामु नयाँ घर बनाउने चुनौती थपियो जसलाई सम्बोधन गर्न निमुखाहरुले किन सक्थे?
त्यसैको असर देखिँदैछ यतिखेर। घर बन्नु अथवा ऋण पाउनुमात्र उनीहरुसँग जोडिएन। त्यो ऋण तिर्नु र पहिले झै सुरक्षित रुपमा जीवन यापनको अवस्थामा फर्किनु पनि उनीहरुका लागि सघर्षपूर्ण बनिरहेको छ। दावाले रोप्दै गरेको आलु फलेको रकमबाट ऋणको ब्याज तिर्छन् कि ऋण पनि घटाउँछन् पत्तो छैन। न त डम्बरकुमारीलाई नै थाहा छ - उनको ऋण कसरी घट्ला।
ऋण पाएकाहरुले पनि तिर्ने आधार तय नहुने हो भने कुनै दिन बैंकले उनीहरुको धितो खिचिहाल्छ। भूकम्पपछिको पुनर्निर्माण भनेको घर ठड्याउनेमात्र सोच्यो भने दावा र डम्बरकुमारी सामू खडा प्रश्नको उत्तर मिल्नेवाला छैन।