काठमाडौं : झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं विरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ।
एकीकरण अघि नै तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घरमा मार्सी भात ख्वाएको फोटो सार्वजनिक भएपछि प्रसाईँ एकाएक चर्चित बनेका थिए।
प्रसाईं केही दिनअघि पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले कलेजको सम्वन्ध प्राप्त गर्नेको लागि २० करोड रुपैयाँ मागेको आरोप लगाएका थिए।
जिल्ला प्रहरी कार्यालय भक्तपुरले घटनाको अनुसन्धान सुरु गरेको हो। बिहीवार पनि प्रहरी प्रसाईंको घरमा पुगेको थियो। 'उजुरी परेपछि अनुसन्धान त गर्नु पर्यो। त्यसको शिलशिलामा उहाँसँग भेट हुनुपर्यो,' जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी दीपक गिरीले पहिलोपोस्टसँग भने। प्रसाईंलाई घरमा नभेटेपछि प्रहरी फर्किएको थियो।
प्रहरीले प्रसाईँलाई पक्रन भने अदालतबाट वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ। तर, अहिलेसम्म अनुमति नलिएको जिल्ला अदालत भक्तपुरका श्रेष्तेदार घनेन्द्र अधिकारीले जानकारी दिए।