PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओली-प्रचण्डको संवादहीनता ‘ब्रेक’, वार्ता सकारात्मक



पहिलोपोस्ट

ओली-प्रचण्डको संवादहीनता ‘ब्रेक’, वार्ता सकारात्मक
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीचको संवादहीनता ‘ब्रेक’ भएको छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीवार वालुवाटार पुगेका थिए।

प्रचण्ड केही घण्टाको भेट सकारात्मक भएको प्रतिक्रिया दिएको उनको सचिवालयले जानकारी दियो।

‘सभामुखबारे वार्ता सकारात्मक भएको जानकारी पाएको छु,’ प्रचण्डका सचिवालय सदस्यले जानकारी दिए।

नेकपामा सभामुखबारे अन्यौलता कायम नै छ। गत शनिवार प्रचण्डको अध्यक्षतामा बसेको नेकपाको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन गरेको थियो। तर, उपसभामुख तुम्बाहाङ्फे सभामुखको उम्मेद्वारी टुंगो नलाग्दासम्म राजीनामा नदिने अडानमा छिन्।

दुई अध्यक्षले आइतवार शिवमायालाई वालुवाटार बोलाएर राजीनामा दिन आग्रह गरेका थिए। तर, उनले अडान छाडिनन्।

सभामुखबारे निर्णयमा पुग्न नसक्दा गत पुस ११, १६ र २७ गतेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी स्थगित भयो। अर्को बैठक फागुन ६ गतेका लागि बोलाइएको छ।

सभामुखमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई अघि सारेका छन्। यस्तै, अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई प्रस्ताव गरेका छन्। उपसभामुख तुम्बाहाङ्फेको पनि सभामुखमा दावी कायमै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले समेत तुम्बाहाङ्फेलाई साथ दिएको नेकपा नेताहरु बताउँछन्।

सभामुख पदले दुई अध्यक्षबीच अविश्वास पैदा भएको बालुवाटार स्रोतको दावी छ। गत मंसिर २९ गतेदेखि एक साता चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदनमा उनले पार्टीभित्र गुट झाँगिएको उल्लेख गरेका थिए। उनले बैठकमा आत्मआलोचनासहित पूर्व गल्तीहरु नदोहोर्‍याउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।

तर, उनको प्रतिवद्धता एक महिना पनि टिक्न सकेन। उनी प्रतिबद्धतामा टिक्न नसेको कुरा गत बुधवार भैसेपाटी भेलाले प्रमाणित गरिदिएको नेकपाकै पूर्व एमाले पक्षका नेताहरुले आरोप लगाउन थालेका छन्। वामदेव गौतम निवासमा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु भेला भए।

प्रचण्डले छुट्टै भेला गरेपछि प्रधानमन्त्री रुष्ट बनेका छन्। कार्यकारी अध्यक्ष पाएका प्रचण्डको उक्त भेलाको नेकपाभित्र निकै चर्चा पनि पायो। त्यसो त प्रधानमन्त्री ओली सभामुख पार्टीले उठाउने निर्णय गरे पनि उपसभामुखलाई राजीनामा गर्ने निर्देश गरेको विषयप्रति पनि असन्तुष्ट थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell