PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

लागुऔषधको ‘ट्रान्जिट’ क्षेत्रमा निःशुल्क परामर्श केन्द्रको स्थापना



राधेश्याम पटेल

लागुऔषधको ‘ट्रान्जिट’ क्षेत्रमा निःशुल्क परामर्श केन्द्रको स्थापना

वीरगंज : वीरगंजमा लागुऔषधको प्रयोग रोकथाम तथा नियन्त्रण गर्न निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रको स्थापना भएको छ।

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निःशुल्क परामर्श केन्द्रको स्थापना भएको हो। केन्द्रको उद्घाटन वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त रुपमा गरे।

कार्यक्रममा वीरगंजका मेयर सरावगीले देश कर्णधार युवाको भएकोले युवालाई लागुऔषधको कुलतबाट बचाउन समाजको सक्रिय भूमिकाका आवश्कता रहेको बताए। लागुऔषधको सेवनकर्ताको संख्या गुणात्मक रुपमा बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसबाट महानगरपालिकाका युवालाई बचाउन आफूबाट हुने सबै सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।

लागुऔषध प्रयोगकर्ताको पूनःस्थापनाका लागि खुलेका केन्द्रहरुमा चर्को शुल्क रहेको बताउँदै त्यहाँबाट प्रदान गरिने सेवा सहि नभएको मेयर सरावगीले बताए।

‘च्याउ उम्रे जस्तै रिह्याब सेन्टर खुलेपनि चर्को शुल्क लिइरहेका कारण गरिब परिवारका युवालाई राख्न सकिएको छैन ’, मेयर सरावगीले भने, ‘आगामी दिनमा प्रहरीसँग साझेदारी गर्दै गरिबका छोराछोरीलाई निःशुल्क रिह्याबको व्यवस्था मिलाइनेछ। ’

त्यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध प्रयोगकर्तालाई दण्ड नभई परामर्श दिनुपर्ने बताए। उनले लागुऔषध सेवनकर्ताका अवस्था विकराल रहेकोप्रति चिन्ता व्यक्त गर्दै पछिल्लो समय नेपालमा यो गम्भीर सामाजिक समस्या बन्दै गएको बताए। यस्तोमा प्रहरीले स्थानीय सरकारसँग मिलेर परामर्श केन्द्र स्थापना गरी लागुऔषध प्रयोगकर्ताको संख्यामा कमी ल्याउने लक्ष्य लिएको उनले बताए।

प्रहरी महानिरिक्षक खनालले विद्यालयका शिक्षक र अभिभावक लागुऔषधविरुद्ध खुलेर परामर्श केन्द्रमा आउनु पर्नेमा जोड दिए। छोराछोरीलाई अभिभावक र शिक्षकको सक्रिय सहभागितामा परामर्शबाट मात्रै लागुऔषधबाट बचाउन सकिने खनालको भनाइ थियो।

महानिरीक्षक खनालले भने, ‘छोराछोरी लागुऔषध कारोबारी पो हुन भएन, लागुऔषध तस्कर हुनु भएन, लागुऔषध सेवन गर्ने व्यक्ति आफैं पीडित हो। उसलाई उद्धार गर्नुपर्छ। लाज मान्नुपर्ने अवस्था छैन, केटाकेटि कतै स्कुल जाँदा राम्रो गार्जेनसिप भएन होला, साथी संगतबाट कुलतमा परे होला। अब अभिभावकहरु मुख खोलेर आउनुपर्छ।’

लागुऔषध दुर्व्यसन बोर्डर क्षेत्रमा अझै विकराल समस्या बनेको बताउँदै त्यसको न्युनिकरण मात्र नभई निस्तेज गर्नुपर्ने उनले बताए।

कार्यक्रममा वीरगंज महानगरपालिका र प्रहरीले संयुक्त रुपमा सञ्चालित परामर्श केन्द्रबाट पुनर्जीवन दिने प्रहरीले जनाएको छ। चितवन, तनहुँ, पोखरा, सिरहा र जनकपुरमा पनि परामर्श केन्द्र स्थापना गर्ने प्रहरीको तयारी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell