PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

प्रदेश २ मा ‘छोरी शिक्षा बिमा सप्ताह’ शुरु, पहिलो दिन ८ सय जनाको भयो बिमा



राधेश्याम पटेल

प्रदेश २ मा ‘छोरी शिक्षा बिमा सप्ताह’ शुरु, पहिलो दिन ८ सय जनाको भयो बिमा

वीरगंज : ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेश नम्बर २ सरकारले ‘छोरी शिक्षा बिमा शिविर सप्ताह’ आजदेखि औपचारिक रुपमा शुरु गरेको छ। गत वर्ष फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको यो अभियान प्रदेश २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा एकै साथ शुरु भएको हो।

शिविरको पहिलो दिन पर्सामा ६५, बारामा १४०, रौतहटमा ६५, सर्लाहीमा २४६, महोत्तरीमा ७४, धनुषामा ५२, सिरहामा ४० र सप्तरीमा १०७ गरी बिहीवार कुल ७ सय ८४ जनाको बिमा गरिएको छ। प्रदेश २ को आठ जिल्लाका महानगरमा ४ दिन, उपमहानगरमा ३ दिन, नगरपालिकामा २ दिन र गाउँपालिकामा १ दिन बिमा गर्ने काम हुनेछ।

शिविरमा २०७५ माघ १ पछि जन्मेका छोरीको जन्मदर्ता प्रतिलिपि र अभिभावकको नागरिकताका आधारमा २० वर्षको लागि १ लाख विमांक रकमको बिमा गरिएको बताइएको छ। प्रदेश सरकारसँग प्रभु बैंकले बिमाको लागि गरेको सम्झौता अनुसार २० वर्षमा एक पटकको लागि १३ हजार ६ सय ४६ रुपैयाँ बिमा गरेपछि सो बालिकाको खातामा प्रदेश सरकारले अरु रकम जम्मा गरिदिन्छ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिमा शिविर सप्ताहको उद्घाटन गर्दै भने, ‘प्रदेश २ का आठ जिल्लामा जनचेतना जगाउन एक साता अवधी भरको लागि यो शिविर चलाइएको छ, प्रारम्भिक विवरण अनुसार प्रदेश २ को आठ जिल्लामा वर्षमा २५ हजार छोरीहरुको जन्म हुने भए तापनि गत वर्ष मात्र ९ हजारको हाराहारीमा बिमा भएको छ।’

बिमाले छोरीको बालविवाहलाई रोक्ने र उच्च शिक्षाको लागि सहयोग गर्ने उनले विश्वास व्यक्त गरे। कार्यक्रमका पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादवले आगामी दिनमा बिमाको रकम बढाई ५ लाखदेखि ७ लाखसम्म पुर्‍याउन प्रदेश सरकारलाई आग्रह गरे। हालको बिमांक २० वर्षपछिको लागि अत्यन्त न्यून हुने भएकाले बालिकाको शिक्षामा कमि नहोस् भन्ने उद्देश्यले विमांक रकम वृद्धि गर्न उनले प्रदेश सरकारलाई सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell