PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

सडकमा पल्टिएको ट्र्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु



राधेश्याम पटेल

सडकमा पल्टिएको ट्र्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

वीरगंज : बाराको सदरमुकाम कलैया उपमहानगरपालिकामा बिहीवार सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। सडकमा पल्टिएको ट्र्याक्टरको टेलरमा ना १५ प ५७४३ नम्बरको मोटरसाइकल ठोक्किँदा युवकको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा वीरगंज-२४ रामगढवा निवासी ३० वर्षीय धुरेन्द्र गिरी रहेका छन्। कलैया-वीरगंज सडकखण्डको मोतिसर चोकमा गएराति एउटा उखु बोकेको ट्र्याक्टर पल्टिएको थियो। चिसो र कुहिरोका कारण अनियन्त्रित भइ पल्टेको ट्रयाक्टरको टेलर सडकमै छोडिएको थियो।

महागढिमाई नगरपालिकको सेमरा तेगछियास्थित ससुरालीबाट आउने क्रममा गिरी सवार मोटरसाइकल विहान ६ बजे सोही टेलरमा ठोक्किएको बारा प्रहरीले जनाएको छ।

उखु बोकेको टेलरमा सवारी नम्बर उल्लेख नभएकोले प्रहरीले ट्र्याक्टर धनीलाई समात्न सकेको थिएन। मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै वीरगंज-२४ बहुअरी ड्राईपोर्ट-परवानीपुर चोकमा टायर बालेर प्रदर्शन गर्नुको साथै दिउँसो २ बजेदेखि ३ बजेसम्म चक्का जाम गरेका थिए।

प्रहरीले दोषी ट्र्याक्टर धनीलाई २४ घण्टाभित्र नियन्त्रणमा लिने र कानुन बमोजिम क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाएपछि चक्काजाम फिर्ता लिइएको थियो। चक्का जामबाट ड्राईपोर्ट र आइसिपी दुवै भन्सारमा एक घण्टा गाडी रोकिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell