PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उच्च हिमाली क्षेत्रमा हिमपात, पहाडी क्षेत्रमा निरन्तरको वर्षाले जनजीवन कष्टकर



पहिलोपोस्ट

उच्च हिमाली क्षेत्रमा हिमपात, पहाडी क्षेत्रमा निरन्तरको वर्षाले जनजीवन कष्टकर

काठमाडौं : बिहीवार दिउँसोदेखि मौसममा बदलाव आउँदा चिसो पुनः बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ। महाशाखाका अनुसार पश्चिम, मध्य भू-भाग र पूर्वी पहाडी क्षेत्रमा सामान्यदेखि पूर्णतया मौसममा बदली भइरहेको छ।

महाशाखाका अनुसार शुक्रवार देशभर अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको हुनेछ। उच्च पहाडी र हिमाली भेगमा अधिकांश क्षेत्रमा हल्का हिमपात र उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

शुक्रवार राति पनि केही स्थानहरुमा हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ। शनिवार पनि हल्का वर्षाको सम्भावना रहेको छ। आइतवारदेखि मौसममा क्रमशः सुधार हुँदै जानेछ।

कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ। यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको सातौँ पटक भएको जनाइएको छ।

हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ। हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको यहाँका स्थानीय बासिन्दा जनाएका छन्। जाजरकोट, रुकुमपश्चिम र कालीकोटको उच्च भागका बासिन्दा चिसोबाट अछुतो रहन सकेका छैनन्। हिमपात र वर्षाले कठ्याङ्ग्रिँदो चिसो बढ्दै गएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालले हिमपातले हुम्लाका नागरिकको दैनिकी निकै सकसपूर्ण बन्दै गएको जानकारी दिए। उनका अनुसार हिमपातको समयमा जिल्लावासीलाई बाहिर नजान र लामो यात्रा नगर्न सुझाइएको छ। हिमपातले साविकको कर्णालीमा मोबाइल तथा टेलिफोन सेवा पनि अवरुद्ध छ।

लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन्। हवाई यातायात दुई दिनदेखि ठप्प छ। खाद्य तथा अन्य वस्तुको आयात रोकिँदा हिमाली बासिन्दाको दैनिकी समस्याग्रस्त बन्दै गएको छ। चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युत्का पोल भाँचिने तथा तार चुँडिने समस्या बढेको त्यहाँका स्थानीयले जनाएका छन्।

जुम्ला चन्दननाथ–९ का स्थानीय धर्मसिंह कठायतले बरफ जमेर धारा बन्द हुँदा खानेपानी जुगाड गर्न धौ–धौ भएको बताए।

‘धारोबाट पानी पग्लाउन पानी तताएर पाइपमा खन्याउनुपर्छ तर पानीको विकल्प हिउँ प्रयोग गर्ने गरेका छौँ’, उनले भने।

सिलिण्डरको ग्याँससमेत चिसोले जम्न थालेपछि खान पकाउन पनि समस्या भएको छ।

जाडो मौसममा वर्षेनि हिमाली जिल्लाका अधिकांश युवा कालापहाड जाने भएकाले यहाँ रहने ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई समस्या हुने गरेको तिला गाउँपालिका–३ जुम्लाका स्थानीय नरबहादुर रावतले बताए।

हिमपातले बिस्कुन सुकाउन पिठो पिस्न, वस्तुभाउलाई घाँसपात, घरमा बाल्ने दाउरा प्रबन्ध गर्न गाह्रो भएको उनले दुखेसो व्यक्त गरे।

चिसोले सुर्खेत, दैलेख सल्यान र रुकुम पश्चिमका शैक्षिक संस्था पनि प्रभावित भएका छन्। सरकारी कामकाज नियमित कामकाज हुन सकेको छैन। हिमाली जिल्लामा बढेको चिसोका कारण सेवाग्रहीले सेवा लिन पाएका छैनन्। कर्मचारीले भने आगो बालेर कार्यालय खुला गर्दै आएका छन्।  जिल्ला प्रशासन कार्यालय जुम्लाले भने सबै जिल्लावासीलाई चिसोमा न्यानो कपडा लगाउन, घरबाहिर ननिस्कन र प्राकृतिक तथा मानवीय विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना गरेको छ। हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको आजको तापक्रम माइनस दुई डिग्री सेल्सियस छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतले हिमपातको समयमा गरिब घरपरिवार, ज्येष्ठ नगारिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोका कारण हुने भाइरल रुघाखोकी, न्यूमोनिया, दमको रोगबाट बच्नका न्यानोमा बस्न, बिरामीलाई नियमित औषधि सेवन गरिराख्न, झोलिलो तात्तानो चीज खान सन्देश प्रवाह गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell