PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रिडी खोलामा बाढी, रुरु महोत्सव प्रभावित



रासस

गुल्मी : गत बुधवार रातिदेखि परेको वर्षाका कारण गुल्मीको रुरु महोत्सव प्रभावित बनेको छ। वर्षाका कारण रिडी खोलामा बाढी आएसँगै रिडीको रुरु महोत्सवमा बगर छेउमा बनाइएका ३४ वटा होटलका अस्थायी टहरामा समेत बाढी पसेको छ।

होटलका टहरामा बाढी पसेपछि व्यवसायी विस्थापित बनेका छन्। स्थानीय र सुरक्षाकर्मीको सहयोगमा व्यवसायीका सामानलाई टहराबाट हटाएर सुरक्षित स्थानमा सारिएको महोत्सव आयोजक समितिका निर्देशक हिमाल श्रेष्ठले जानकारी दिए।

रिडी खोलामा आएको बाढीले मेलाका लागि खोला तर्न बनाइएको काठको अस्थायी पुलसमेत बगाएको छ। रिडीको माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखा र रुरु फ्रेण्ड्स क्लबको संयुक्त आयोजनामा रुरु क्षेत्र गाउँपालिकाअन्तर्गत रिडीमा दोस्रो रुरु महोत्सवको आयोजना गरिएको हो।

माघ ९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव वर्षाका कारण बिहीवार दिनभर सुनसान बनेको थियो भने शुक्रवार पनि महोत्सव सुनसान बनेको छ। मेलामा व्यापारका लागि आएका कतिपय व्यवसायी वर्षाका कारण आफ्ना सामान लिएर त्यत्तिकै घर फर्कन बाध्य भएका छन्।

पाल्पा, स्याङ्जा र गुल्मीको संगमस्थल रिडीमा माघे सङ्क्रान्तिको अवसरमा तीन दिनसम्म ठूलो मेला लाग्ने गर्दछ। तर, यस पटक लगातारको झरी र अत्यधिक चिसोका कारण मेला प्रभावित बनेको हो। दुई दिनदेखिको वर्षाका कारण गुल्मी जिल्लाको जनजीवन प्रभावित बनेको छ।

लगातारको झरी र चिसोका कारण मानिस अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन्। वर्षाका कारण जिल्लाका चार दर्जनभन्दा बढी ग्रामीण सडकमा सवारी साधनसमेत सञ्चालन हुन सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell