PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सिसी टिभी फुटेजमा हेर्दा आस्थाले जे गरिन्... : गुमनाम त थिइनन् तर यस प्रकरणले उनको नाम हुन्छ कि बद्‍नाम?



सविन ढकाल

सिसी टिभी फुटेजमा हेर्दा आस्थाले जे गरिन्... : गुमनाम त थिइनन् तर यस प्रकरणले उनको नाम हुन्छ कि बद्‍नाम?

कालो रंगको ज्याकेट। कालै चस्मा र ब्याग। बुधवार मध्यान्ह एक युवती त्रिभुवन विमानस्थलको आन्तरिक कक्षमा पुग्छिन्। सुरक्षाकर्मीले यात्रुको चेकिङ गरिरहेका हुन्छन्।

ती युवतीले सँगै ल्याएको सानो पछाडि भिर्ने ब्याग 'एक्स-रे मेसिन'मा हाल्छिन्। र मेटल डिटेक्टिभ मेसिनबाट अगाडि लम्किन्छिन्। रातो बत्ती बल्छ। मेसिनले मेटल भएको संकेत गरेपछि सुरक्षाकर्मीले उनलाई ज्याकेट एक्स-रे मेसिनमा हाल्न लगाउँछिन्। त्यतिखेर युवतीको स्वभावमा एक्कासी फरकपन देखिन्छ। उनी झोक्किएर ज्याकेट एक्स-रे मेसिनमा हाल्छिन्।

विमानस्थलमा देखिएकी ती युवती अरु कोही होइनन्। हुन् त गायिका आस्था राउत।

सिसिटिभी फुटेजमा झोक्किएकी देखिएकी राउत बिहीवार बिहानैदेखि चर्चामा छिन्। चर्चामा उनलाई कसैले ल्याएको होइन, आफैँ आएकी हुन्। आफैँले पोस्ट गरेको भिडियोले उनी छाइन्, एकैसाथ विवाद र चर्चा लिएर।

सामाजिक सञ्जालमा उनले भिडियो अपलोड गरिन् जसमा उनले अशिष्ट शब्दहरु भरमार प्रयोग गरेकी छिन्। बुधवार दिउँसो कार्यक्रमका लागि झापाको भद्रपुर जाँदा त्रिभुवन विमानस्थलमा एक महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै भिडियोमार्फत् उनले यसरी आक्रोश पोखिन् कि त्यो भाइरल नभइ रहन सकेन। भद्रपुर विमानस्थल हुँदै उनी सिक्किममा कार्यक्रमका लागि जाँदै थिइन्।

उनीसँगै सुरक्षा जाँच गराउँदै गरेका अन्य महिलालाई प्रहरीले ज्याकेट खोल्न लगाएको देखिँदैन। किनकि उनीहरुको ज्याकेट मेटल डिटेक्टरबाट पार हुँदा कुनै संकेत दिँदैन। तर, उनको ज्याकेटमा केही थियो जसले मेटल डिटेक्ट गर्ने मेसिनमा रातो देखियो। झोक्किँदै ज्याकेट स्क्यानरमा हालेर उनी फेरि चेकिङ् कक्षमा पुग्छिन्। सिसिटिभी फुटेजमा उनी हतारिँदै गएको प्रस्टै देखिन्छ। उनको हातमा कफीको कप देखिन्छ। उनलाई महिला सुरक्षाकर्मीले चेक गर्छिन्। त्यसपछि एक्स-रे मेसिनबाट आएको सामान उठाउन पुग्छिन् राउत।

 

सामान उठाउन जाँदा उनले प्रहरीको चेकिङ कक्षमै कफीको कप छाडेकी हुन्छिन्। उनको कफीको कप देखेपछि उठाएर उनलाई नै दिन ल्याउँछिन् त्यहाँ खटिएकी महिला सुरक्षाकर्मी। उनले कप आस्थालाई दिन्छिन्। तर, आस्थाले आफ्नो जुठो कफीको कप लिन मान्दिनन्। पटकपटक कफी समाउन प्रहरीले आस्थाको हात समाएको देखिन्छ। उनले कफी नलिएपछि प्रहरीले उनको कप ब्यागमा हाल्दिन खोजेको सिसिटिभी फुटेजमा देखिन्छ।

महिला प्रहरीले आस्थाको छेउमा रहेको टेबलमा कफी राख्छिन्। त्यसपछि आस्थाले फेरि कफीको कप पर धकेल्छिन्। प्रहरी आएर फेरि कप सार्छिन्। सिसिटिभी क्यामरा फुटेज भएकाले उनीहरुबीचको सम्वाद के भएको थियो चाहिँ खुल्न सक्दैन।

यही क्रममा कफी टेवलमा पोखिन्छ पनि। त्यसको छिटा आस्थाको ज्याकेटमा पनि परेको देखिन्छ। आस्थाले ज्याकेटको कफी पुच्छिन् र प्रहरीतर्फ औला उठाएको देखिन्छ फुटेजमा। अनि उनी कफी टेबलमै छाडेर हिँड्छिन्।

गाडीमा आफैले खिचेको भिडियोमा भने आस्थाले 'प्रहरीले उनलाई ‘तँ’' भनेर सम्बोधन गरेको भन्दै आक्रोशित भएको देखिन्छ। प्रहरीलाई तल्तोस्तरमा उत्रिएर गालीसमेत गरेकी छिन् राउतले, भिडियोमा।

‘रुट्स नै बिग्रेको छ। नालीका किराहरुलाई कहिले सुधार्ने?’ राउतले भनेकी छिन्, ‘अनि त्यो पुलिस डन्ठिनीहरु। त्यो सिपाही प्युसी प्युसीहरु। तिमीहरुको बोल्ने ढंग छैन भने नबोल के!’

सामाजिक सञ्जालमा प्रहरीको व्यवहारलाई लिएर जति टिप्पणी भएको छ, त्यो भन्दा चर्को टिप्पणी चाहिँ आस्थाले प्रयोग गरेको भाषालाई लिएर भएको छ।

नाम होस् या बद्नाम चर्चामा आउन चाहनेले जे पनि गर्न सक्छन्। अध्यागमनको सिसिटिभी फुटेज र आस्थाको भिडियो म्यासेज हेरेर अब तपाईँ आफै निर्क्यौल गर्नुस् - आस्थाको नाम या बद्‍नाम गराउँछ यसले?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell