PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शीर्ष नेता बैठक : संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे द्वन्द्व पीडितसँग भएको परामर्शको रिपोर्टिङ



पहिलोपोस्ट

शीर्ष नेता बैठक : संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे द्वन्द्व पीडितसँग भएको परामर्शको रिपोर्टिङ
फोटो : प्रधानमन्त्रीको सचिवालय।

काठमाडौं : सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ।

शुक्रवार भएको छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, मिनेन्द्र रिजाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र नेकपा नेता खिमलाल देवकोटा सहभागी थिए।

छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधनबारे सातै प्रदेशका द्वन्द्वपीडितसँग पुस २८ गते भएको परामर्शको रिपोर्टिङ गरिएको बैठकमा सहभागी नेता खिमलाल देवकोटाले जानकारी दिए।

उनले भने, ‘विधेयक संशोधनका विषयमा द्वन्द्व पीडितसँग भएको परामर्शको रिपोर्टिङ भयो। शीर्ष तीन नेतालाई उक्त रिपोर्ट बुझायौँ। त्यही रिपोर्टको आधारमा अब विधेयकको मस्यौदा संशोधन गरेर संसदमा दर्ता हुन्छ।’

कानुन मन्त्रालयको नेतृत्वमा पुस २८ गते देशभर एकसाथ द्वन्द्व पीडितहरुसँग विधेयकबारे राय सुझाव लिइएको थियो। आजको बैठकमा पदाधिकारी सिफारिसको विषयमा पनि छलफल भयो।

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन गठित यी दुई आयोग गत चैतदेखि पदाधिकारीविहीन छन्। सरकारले गत चैतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति गठन गरेको थियो।

समितिले मंसिर पहिलो साता दरखास्त आहृवान गरेका ६१ उम्मेद्वारको सूची सार्वजनिक गरेको थियो। तर, राजनीतिक तहमा सहमति हुन नसक्दा समितिले नाम सिफारिस गर्न सकेको छैन। यसअघि प्रचण्ड र देउवाबीच यसबारे छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell