
काठमाडौं : त्रिभुवन विश्वविद्यलय र दक्षिण कोरियाको नेशनल युनिभर्सिटी अफ ट्रान्सपोर्ट्रेसनबीच द्वीपक्षीय सम्झौता भएको छ। दुई विश्वविद्यालयबीच ५ वर्षसम्म छात्रवृत्ति प्रदान गर्नेगरी सम्झौता भएको हो।
सम्झौता पत्रमा त्रिविका उपकुलपति धर्मकान्त बास्कोटा र कोरियन युनिभर्सिटीका प्रेसिडेन्ट डाक्टर जोन होन पार्कले सोमबार हस्ताक्षर गरेका हुन्। सात बुँदे सम्झौता पत्रमा नेपाली विद्यार्थीका लागि कोरियन युनिभर्सिटीले रेल्वे यातायात, इन्जिनियरिङ विषयमा छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ।
यस्तै यातायात क्षेत्रका इन्जिनियरिङ र रिसर्च ग्रुपबीच अनुभव आदानप्रदान हुनेछ। दुई पक्षले कुनै पनि विषयमा संयुक्त अध्ययन गर्न बाटो समेत खुला भएको छ। दुवै विश्वविद्यलयले गरेको अध्ययन प्रतिवेदन एक अर्काले प्रयोग गर्न पाउनेछन्।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै उपकुलपति बास्कोटाले यो सम्झौताले दुई विद्यालयबीच सुमधुर सम्बन्धको विकास गर्ने बताए। यस्तै कोरियन युनिभरसिटीका प्रमुख पार्कले दुई विश्वविद्यालयबीच आपसी सहयोग जारी रहने बताए।
सम्झौताका लागि कोरियाबाट विद्यार्थी सहित ३५ सदस्यीय टोली त्रिवि पुगेका थिए। यस्तै उनीहरुले विभिन्न विभिन्न साँस्कृतिक प्रस्तुतीहरु समेत देखाएका थिए।