PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

पेरिसको 'नोट्र डाम क्याथेड्रल' चर्चसँगै वाच २०२० मा चिभा र चैत्य पनि : काठमाडौं चिनाउने सम्पदालाई विदेशीले चिने, आफ्नैले बिर्से



सहयोग रञ्जित

पेरिसको 'नोट्र डाम क्याथेड्रल' चर्चसँगै वाच २०२० मा चिभा र चैत्य पनि : काठमाडौं चिनाउने सम्पदालाई विदेशीले चिने, आफ्नैले बिर्से

चर्चा नेपाल भ्रमण वर्ष २०२० को। त्यसैले सांस्कृतिक, प्राकृतिक स्थलहरु घुम्न आर्कर्षित गर्न विभिन्न प्याकेजहरुको व्यवस्था पनि गरिएको छ। २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्यसहित सुरु भएको छ अभियान। तर, धेरैजसो पर्यटक पहिला पुग्ने भनेको काठमाडौं नै हो। भारतीय बाहेक अधिकांश पर्यटकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नेपाल प्रवेश गर्छन्।

विमानस्थलमा पर्यटकहरुको स्वागतका लागि केही दिनअघि मात्रै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुद्धको मूर्ति अनावरण गरे, पर्यटकलाई आगमनसँगै बुद्धको देशमा आएको अनुभूति दिलाउन।

बुद्धको देश आएपछि पर्यटकलाई कहाँ घुमाउने त? जवाफ आइहाल्छ- काठमाडौंकै स्वयम्भू र बौद्ध। यही मौकामा उपत्यकामा रहेका दरबार र मन्दिरहरु पनि घुमाउनै पर्‍यो।

पर्यटकहरु नेपाल घुम्न आउँदा उनीहरुले धेरै हेर्न खोज्ने भनेका यहाँको सांस्कृतिक र प्राकृतिक पक्ष नै हो। हामीले पर्यटकलाई बोलाइरहँदा देखाउने यही मन्दिर र हिमाल नै हो, पहाड र खोलानाला नै हो।

यससँगै सांस्कृतिक अनुसन्धानका लागि पनि नेपाल आउनेको कमी छैन। विशेषगरी काठमाडौं उपत्यकामा रहेका सांस्कृति धरोहर र संस्कारहरुको अनुसन्धनात्मक कृतिहरु लेख्‍नेमा विदेशीहरु नै अगाडि छन्।

हेनरी ओल्डफिल्ड, टोनी हेगन जस्ता मानिसले काठमाडौंका बारेमा तयार गरेका दस्तावेज र भिडियोकै आधारमा अहिले हामी हाम्रो त्यो बेलाको काठमाडौं बुझ्न सक्छौं।

धेरै पर्यटक यहाँका सम्पदाहरु हेर्न आइपुग्छन् तर हामी आफै भने ती सम्पदा प्रति सचेत देखिँदैनौं।

भ्रमण वर्षमा पनि हामी पर्यटकहरुका लागि यही सम्पदा देखाउँदैछौं जुन हाम्रा पुर्वजहरुले बनाएका थिए। यी सम्पदाहरु देखाउँदैछौं जुन धेरै 'पपुलर' भए। तर, बिर्सियौं नेपाललाई मन्दिर नै मन्दिरको देश बनाउने सम्पदालाई- त्यो हो चिभा र चैत्य।

स्वयम्भू र बौद्ध महाचैत्य त सबैले देख्छन्। तिनको संरक्षणका लागि समितिहरु पनि छन्। तर, सडकका किनारमा, घरमा, बहा: बही :मा, खेतमा, मन्दिरमा रहेका यस्ता अनेकौं चैत्य र चिभा भने धेरैको नजरमा नै परेन।

कति चिभाहरु भत्किसके, हराइसके, कति पुनर्निर्माणको आशामा छन्। तर, हेर्ने कसले? स्वयम्भूमा रहेका चिभाहरु इनामेलले रंग्याइए, वसन्तपुरमा रहेको चिभामाथि चिया पिउन आउनेहरु हेल्मेट लगाइ दिन्छन्। यी चिभा र चैत्यको त्यही स्वयम्भू र बौद्ध जस्तै महत्वपूर्ण छ है भनेर बुझाउने कसले?

यस्तैमा आँखा पर्‍यो त 'वर्ल्ड मोनुमेन्ट फन्ड'को। अमेरिकाको न्यूयोर्कमा कार्यालय रहेको यस फन्डले विश्वमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक स्थानहरुको संरक्षणका लागि पहल गर्दै आएको छ।

यसपटक भिजिट २०२० चलिरहेकै बेला उक्त संस्थाले काठमाडौं उपत्यकामा रहेका चिभा र चैत्यहरुलाई '२०२० वर्ल्ड मोमुमेन्टस वाच' मा राखेको छ।

'२०२० वाच' मा काठमाडौं उपत्यकामा रहेका चिभा र चैत्यलाई समावेश गरिएसँगै यसको संरक्षण गर्नुपर्छ भन्दै व्यक्तिगत रुपमा नै लागि परेकाहरु भने उत्साहित भएका छन्।

'चिभाचैत्य अर्गनाइजेशन'ले अहिले काठमाडौं उपत्यकाका साथै उपत्यका बाहिर रहेका चैत्यहरुको संरक्षणका लागि पहल गरिरहेको छ। अर्गनाइजेशनका अध्यक्ष प्रबोध कासा भन्छन्, 'हाम्रो देश मन्दिर नै मन्दिरको देश भएको चिभा र चैत्यका कारण नै हो। यसको ऐतिहासिक महत्व छ। यहाँ लिच्छविकालीन चिभा चैत्यहरु छन्। तर, तिनको संरक्षणमा कसैको ध्यान पुगेको छैन।'

केही वर्षयता फेसबुक, इन्स्टाग्राममा 'चिभाचैत्य' नामको अकाउन्ट खोलेर यसको संरक्षण गर्नुपर्छ भनेर जनचेतना फैलाउने काम गरिरहेका छन् उनले। '२०२० वाच' मा चिभाचैत्य पर्नुले विश्वले यस सम्पदाको महत्व बुझेको उनी बताउँछन्।

यस पटकको वाच २०२० मा गत वर्ष आगलागी भएर पुनर्निर्माणको पर्खाइमा रहेको फ्रान्सको राजधानी पेरिसमा रहेको 'नोट्र डाम क्याथेड्रल' चर्चलाई समेत समावेश गरिएको छ। ८ सय ५० वर्ष पुरानो उक्त ऐतिहासिक चर्चको पुनर्निर्माणका लागि विश्वभरबाट सहयोग माग गर्दै पुरानै शैलीमा निर्माण गर्ने तयारी भइरहेको छ। यस्तै क्यानडाको प्रसिद्ध ओनटारियो प्लेस, अमेरिकाको बेयर्स एयर्स नेशनल मोनुमेन्ट, पाकिस्तानको अनारकली बजार लगायत २५ वटा सम्पदाहरुलाई वाच २०२० मा समावेश गरिएको छ। समावेश गरिएका सबै स्थलहरुले आफ्नो मौलिकता र इतिहास हराउन सक्ने तर्फ उक्त अभियानबाट सचेत समेत गराइएको छ।

चिभा चैत्यको संरक्षणमा लागिरहेका अमर तुलाधर भन्छन्, 'यो हाम्रो लागि सिक्ने मौका हो। चिभा र चैत्यको बारेमा बुझाउने अवसर हो। नोट्र डामको विश्वमा जति महत्व छ त्यति नै महत्व हाम्रो चिभा र चैत्यहरुको महत्व छ भन्ने यसले पुष्टि हुन्छ। हाम्रो सम्पदा सबैभन्दा पुरानो सम्पदा हो। विदेशीहरुले यसको महत्व बुझेर संरक्षण गर्नुपर्छ भन्ने तर हामीले भने आफ्नै सम्पदाको महत्व बुझ्न सकेनौं।'

मृतकको सम्झनामा चैत्यहरु निर्माण गरिएको एतिहासिक दस्तावेजहरुमा उल्लेख छ। गौतम बुद्धमा समेत आफू परिनिर्वाण भएपछि आफ्नो अष्टधातु राखेर स्तूप बनाउन भनेको वर्णन सुमति बज्राचार्यद्वारा लिखित 'स्तूप र चैत्य' किताबमा उल्लेख छ। नितान्त व्यक्तिगत र पुर्खाको सम्झनामा बनाइन सुरु गरिएको चैत्यहरु पछि विस्तारै सार्वजनिक आराधना गर्ने सम्पदाका रुपमा विकास हुँदै गयो। यस्तै बौद्ध र हिन्दु धर्मलाई एकीकृत गर्दै चिभामा हिन्दु भगवानहरुको मूर्ति समेत स्थापना गरियो।

दुवै धर्मका मानिसहरु विशेष गरी काठमाडौं उपत्यकाका नेवार समुदायबीच चिभा र चैत्यको ठूलो महत्व छ। यद्यपि, यसको संरक्षण र महत्वका बारेमा भावी पुस्तालाई थाहा नदिए आउने दिनमा चिभा र चैत्य लोप हुन सक्ने अवस्था रहेको बताउँछन् प्रविण शाक्य।

चिभा चैत्यमा उपाध्यक्ष रहेका शाक्य भन्छन्, 'हामीले चिभा र चैत्यको सम्मान र संरक्षण दुवै गर्नुपर्छ। युवा पुस्तालाई यसको महत्वको बारेमा बुझाउनुपर्छ। विद्यालयको पाठ्यक्रममा यसका बारेमा पढाउनु पर्छ।'

उपत्यकामा असंख्य चिभा र चैत्य रहेको र त्यो यहाँका मानिसहरुको दैनिकीसँग जोडिएकाले पनि अब यसको संरक्षणमा लाग्नु पर्ने उनको मत छ।

चिभाचैत्य अर्गनाइजेशनका यी तीनै जना अहिले चिभा र चैत्यको डकुमेन्टसन गर्दैछन्। चिभा रहेको स्थानको जीपीएस लोकेसन र डाटाबेस तयार गर्ने काम समेत गरिरहेका छन्। हालसम्म उनीहरुले २ हजार ५ सय भन्दा बढी चिभा र चैत्यको डकुमेन्टेनसन गरिसकेका छन्।

चिभा र चैत्यलाई विशेष यसको बनावटले बनाएको छ। ढुंगामा कुढिएका आकृति, स्तूपको शैली, देवीदेवताको स्थापना लगायतका विषयले चिभा र चैत्यलाई विशेष बनाएको हुन्छ। तर बढ्दो शहरीकरणसँगै चिभा र चैत्यको महत्व घट्दै गएको छ।

सडक वरिपरि, मन्दिर, गुम्बा, खेत तिर रहेका अधिकांश चिभाचैत्यको अवस्था नाजुक छ। सडक विस्तारले पनि यी सम्पदालाई असर गरेको छ। भत्किएका चिभाचैत्य बनाउने कसले भन्नेमा नै समुदाय र स्थानीय तहबीच विवाद देखिन्छ। यस्तो अवस्थामा स्थानीय तहले यसको संरक्षणको जिम्मा लिँदा उपयुक्त हुने उनीहरुको तर्क छ।

'मौका र चुनौती दुवै छ,' प्रवोध भन्छन्,' भ्रमण वर्षमा हामीले पर्यटकलाई चिभाचैत्यका बारेमा पनि जानकारी दिन सक्छौं। चिभाचैत्य खुल्ला संग्राहलय जस्तै हो। उपत्यकामा रहेका यी सम्पदाहरुको डकुमनेन्टेसन गरेर पर्यटकहरुलाई यसप्रति आकर्षित गर्न सकिन्छ। उपत्यकामा मात्रै हजारौं चिभाचैत्य छन्। यसलाई देखाएर यहाँ पर्यटकलाई होल्ड गर्न सकिन्छ।'

विदेशीमात्रै नभइ सरकारले नै चिभा चैत्यलाई चिनाउने अभियान सुरु गरे आन्तरिक पर्यटकलाई पनि यसका बारेमा बुझाउन सहयोग हुने उनी बताउँछन्।

काठमाडौं उपत्यकालाई नै चिनाएको चिभा र चैत्य बन्ने प्रक्रिया आउने दिनमा कम हुने प्राय निश्चित छ। त्यसैले भएकालाई जगेर्णा गरेर पुर्खाहरुको नासो संरक्षण गर्नुपर्नेमा उनीहरु अडिग छन्।

'चिभा चैत्य भनेको पनि एउटा कला हो। कला हरायो भने इतिहास हराउँछ,' अमर भन्छन्, 'यो हाम्रो विषय होइन। तर हामी यसलाई हाम्रो विषय बनाउँदै छौं। हामी चाहन्छौं चिभा र चैत्य संरक्षण सबैको विषय बनोस्।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell