PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

बिहे गर्ने चाहन्थे खगेन्द्र, रेखा थापालाई चुम्बन गर्दै सोधेका थिए, 'म सँग बिहे गर्छ्यौं?'



विष्णु गौतम

बिहे गर्ने चाहन्थे खगेन्द्र, रेखा थापालाई चुम्बन गर्दै सोधेका थिए, 'म सँग बिहे गर्छ्यौं?'
फोटो : nypost.com

पोखरा : २०६६ मंसिर १९ गते आइतवार गिनिजबुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन जाने क्रममा खगेन्द्र थापा मगरले तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटे। भेटमा प्रधानमन्त्रीसँग हात मिलाउदै नेपालको काखैमा बसे। प्रधानमन्त्रीको चश्मा र गाला मुसार्दै खगेन्द्रले भने, 'अब मेरो विवाह हुन्छ?'

फरक खालको रमाइलो भएको प्रधानमन्त्री कार्यालय एकाएक हाँसोको फोहोरा छुट्यो।

भोलिपल्ट सोमवार उनको विषयमा निर्माण गर्न लागिएको वृत्तचित्र छायाँकनपछि नायिका रेखा थापालाई पनि भेटे। उनको काखमा बस्दै लगातार मुख जोडेर किस गर्दै खगेन्द्रले भने, 'म सँग बिहे गर्छ्यौं?'

तस्विर : ekantipur.com

रेखाको उत्तर थियो - तपाई बेलायतबाट फर्केपछि विवाह गरौला है, लभ यु माई डियर।

त्यसपछि उनले विवाहको योजना सुनाए, 'म सँग धेरै पैसा छ। हातभरी औठी किनिदिन्छु अनि मासु र भात पनि खान दिन्छु।'

बाग्लुङको विकट धुल्लुवासकोट–६ मा जन्मेका थापामगर आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्मे। त्यसैले पनि उनको लागि मासु र औठी सहज रुपमा पाइने वस्तुको रुपमा थिएन। उनी १६ वर्षको भएपछि सपरिवार पोखाराको सिर्जनाचोकका मिनवहादुरको घरमा बस्न थाले। त्यसपछि उनी मिडियामा छाए। जसको कारण गिनिजमा नाम लेखाउनेबारे उनको चर्चा चल्यो।

अन्ततः ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च उचाइ भएका थापामगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखाउन सफल भएका थिए।

त्यसपछिका समयमा संसारभरका सामान्य मानिसहरुका लागि सेलिब्रेटी बनेका थापामगर मेला महोत्सवमा समेत प्रमुख आर्कषणको केन्द्र ‍बने। फल स्वरुप उनले केही पैसा पाउन पनि थाले। त्यसपछि उनको परिवारको जीवनस्तर पनि केही सहज बनेको थियो। मेला महोत्सव वा अन्यत्र पनि थापामगरको एउटै प्रश्न हुन्थ्यो मेरो बिहे हुन्छ? सबैले रमाइलो मानी उनलाई केही पैसा पनि दिन्थे।

उनै रमाईला र विश्वमा नै नेपालको नाम राखेका खगेन्द्रको हामीमाझ रहेनन्। स्वास्थ्यमा समस्या आएपछि थापामगरलाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो। मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसीयू) मा भर्ना भएका थापा मगरको शुक्रबार दिउँसो ३ बजे निधन भएको हो। थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन्।

२०४९ असोज १८ गते जन्मिँदा छ सय ग्राम थिए। पछिल्लोपटक उनको तौल ५ दशमलव ५ किलोग्राम मात्र रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell