PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रतिस्पर्धात्मक बन्दै लिग : मनाङ र थ्री स्टार बराबरीमा रोकिँदा शीर्ष तीन टिमको समान १३ अंक



मुकुन्द घिमिरे

प्रतिस्पर्धात्मक बन्दै लिग : मनाङ र थ्री स्टार बराबरीमा रोकिँदा शीर्ष तीन टिमको समान १३ अंक

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातौं चरणको खेलहरु चलिरहेको छ। आज भएको दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र थ्री स्टार क्लबले २-२ को बराबरी खेल्दै अंक बाँड्न पुगे।

प्रतिस्पर्धात्मक खेलमा मनाङका लागि अन्जन विष्टले दुवै गोल गरे भने थ्री स्टारका लागि लाल रामर्भाले दुवै गोल गरे। 

खेलको १९ औं मिनेटमै लाल रामर्भाले गोल गर्दै थ्री स्टार क्लबलाई अग्रता दिलाए। उनको अग्रतामा पहिलो हाफमा थ्री स्टारले १-० को अग्रता जोगाउन सफल रह्यो। तर दोस्रो हाफमा भने मनाङले खेल बराबरीमा ल्यायो। खेलको ४९ मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै अन्जन विष्टले खेल बराबरीमा ल्याए। थ्री स्टारका अशोक खवासले विष्टमाथि बक्सभित्रै खराब ट्याकल गरेपछि उनले पहेँलो कार्ड पाएका थिए भने मनाङले पेनल्टीको अवसर। र, यसलाई सदुपयोग गर्न विष्ट सफल रहे।

खेलको ५२ औं मिनेटमा थ्री स्टारका खेलाडी सन्जोग राईलाई फल गरेपछि मनाङका पुजन उपरकोटीले पहेँलो कार्ड खाए। दोस्रो हाफमा शुरुबाटै खेल थप प्रतिस्पर्धात्मक बन्दै गएको थियो। 

खेलको ६९ मिनेटमा मनाङले अग्रता लियो। र, गोल गर्ने खेलाडी उनै अन्जन विष्ट थिए। मनाङका कप्तान कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिकमा हेडिङमार्फत गोल गर्दै उनले टिमलाई अग्रता दिलाए। तर यो अग्रता धेरै बेर कायम रहन भने सकेन।

थ्री स्टारका लाल रामर्भाले खेलको ८३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। अनन्त तामाङले हेड गरेको बल किपरले रोक्ने क्रममा रामर्भाले गोल गरेका थिए। 

शीर्ष तीनको १३ अंक

खेल बराबरीमा रोकिएसँगै लिग तालिकाको शीर्ष तीन टिमको अंक बराबरी भएको छ। शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लबको समान १३ अंक छ। 

जारी लिगमा अपराजित रहेको एकमात्र टिम मनाङ सबैभन्दा धेरै बराबरी खेल्ने टिमको सूचीमा पनि परेको छ। मनाङ र हिमालयन शेर्पा क्लबले समान ४/४ खेल बराबरी खेलेका छन्।

खेल हेर्न रंगशालामा दर्शकको उल्लेखनिय उपस्थिति

लिगको खेलहरुमा दर्शकहरुको उपस्थिति कम भएको भनेर आलोचना भइरहँदा आजको खेलमा भने दर्शकहरुको उल्लेखनिय उपस्थिति थियो। दर्शकको उपस्थिति कम भएको भन्दै आलोचना भइरहँदा एन्फाले पुरस्कार लगायतका अफरहरु पनि ल्याएको थियो। खेल हेर्न करिब ५ हजार दर्शक आएको बताइएको छ।

यसअघि मनाङ मर्स्याङदी क्लब र मछिन्द्र क्लबबीचको खेलमा ठूलो संख्यामा दर्शकहरुको उपस्थिति थियो।

पुलिस पाँचौ स्थानमा

आजै भएको पहिलो खेलमा जित निकालेको नेपाल पुलिस क्लब अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। आज भएको खेलमा जाउलाखेल युथ क्लबलाई २-० को अन्तरले हराएर चौँथो स्थानमा पुगे पनि दोस्रो खेलको नतिजाका कारण पाँचौं स्थानमा झरेको हो।

खेलको २७ औँ मिनेटमा सौजन राईको गोलमार्फत पुलिसले अग्रता बनाएको थियो। पुलिसको लागि दोस्रो गोल ४८ औँ मिनेटमा सुमन सुवेदीले गरे।

मनाङसँग अंक बाँडेको थ्रीस्टार ११ अंकसहित तालिकाको चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell