PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सडक आश्रित मानवरहित प्रदेश घोषणा



पी बी खड्का

सडक आश्रित मानवरहित प्रदेश घोषणा

सुर्खेत : कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवरहित प्रदेश घोषणा गरिएको छ। शनिवार प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सहयोगापेक्षी सडक आश्रित मानवरहित प्रदेश घोषणा गरेका हुन्।

कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा सहयोगापेक्षी, बेसहारा, असाहय, अशक्त, अभिभावकविहीन बालबालिका र मानव अब सडकमा बस्नुपर्ने दिनको अन्त्य भएको बताए। प्रदेश सरकारले प्रदेशका दश जिल्लामै आफ्नो संरचना बनाएर सडक आश्रित मानिसहरुको लागि आवश्यक व्यवस्था गर्ने उल्लेख गरे।

‘प्रदेशका दशै जिल्लामा सामाजिक विकास मन्त्रालय मार्फत संरचना बनाएर अशक्त, असाहय, साहाराविहीनलाई ल्याएर सम्पूर्ण व्यवस्था गर्ने गरि तयारी गरिएको छ,’ मुख्यमन्त्री शाहीले भने।

मानवसेवा आश्रम सुर्खेतमा अहिलेपनि ६० जना असाहय, सहयोगापेक्ष बसिरहेका छन्। आश्रमले अहिलेसम्म एक सय ५० जनालाई उद्दार गरेको प्रदेश संयोजक सिर्जना ओलीले बताइन्। प्रदेशका विभिन्न जिल्लाहरुको अध्ययन र अवस्था बुझ्न जिल्ला-जिल्ला पुग्नेक्रममा यसअघि प्रदेशका पाँच जिल्ला पुगेको र बाँकी आगामी दिनमा जाने ओलीले बताइन्।

अहिले स्थानीय, प्रदेश सरकारलगायत विभिन्न सामाजिक संघसंस्थाको समन्वयमा प्रदेशको विभिन्न जिल्लामा बेसहारा, सहयोगापेक्षी सडक आश्रित मानवहरुको अवस्थाको अध्ययन तथा विवरण खोज्ने काम भइरहेको संयोजक ओलीको भनाइ छ। आश्रमले अहिले उद्दार, ओषधोपचार, एवं पालनपोषण गर्ने, मनोचिकित्सकीय सेवा, पारिवारिक पुर्नर्मिलन गराउने, पारिवारिक परामर्श दिनेलगायतको काम गर्दै आएको उनले जानकारी दिइन्। त्यस्तै, सरोकारवाला निकायसँग विभिन्न अन्तर्क्रिया र जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको उनको भनाइ छ।

गत पुस ८ गतेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सडक मानवरहित बनाउने निर्णय समेत गरेको थियो। प्रदेश समन्वय परिषद्को बैठकमा समेत स्थानीय सरकार लगायतको सहकार्य र समन्वय गरिने उल्लेख थियो।

मानवसेवा आश्रमका लागि भवन निर्माण (मानवीय स्मारक) गर्न समेत प्रदेश, स्थानीय सरकारको सहकार्यमा जग्गाको समेत खोजी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell