PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्यागोडा : चित्रकलाको फरक आयाम समेट्ने एउटै क्यान्भास



पहिलोपोस्ट

प्यागोडा : चित्रकलाको फरक आयाम समेट्ने एउटै क्यान्भास

२०७२ साल, वैशाख १२ गते। कपनस्थित प्यागोडा इन्टिच्युट अफ फाइन आर्टमा भर्ना भए, चित्रकला सिक्न। तर, भर्ना भएकै दिन भूकम्प गयो। दुर्भाग्य प्यागोडा इन्टिच्युट पनि बन्द भयो, भूकम्पकै कारण।

घटना भएको तीन महिनापछि सम्म पनि परकम्प जाँदै थियो। पीडा र त्रासले मानिसलाई छाडिसकेको थिएन। दैनिकीलाई सामान्य बनाउन प्रयासरत् थिए सबै। त्यस्तैमा एक साँझ कलाकार रोशन प्रधानलाई मेसेज आयो- 'सर हामी कहिलेदेखि क्लास सुरु गर्ने?'

मेसेज गरेका थिए किशोर ज्योतिले।

सायद उनले पत्तो पाएनन्, आफू भर्ना भएको इन्टिच्युट बन्द भइसकेको कुरा। 

रोशन लिटल एन्जल्स स्कूलमा चित्रकला पढाउँथे। स्कूलमा दिउँसो एक बजेदेखि मात्र क्लास हुने भएकाले प्राय फूर्सदमै हुन्थे। त्यसैले बहाना बनाएनन्। किशोर ज्योति, लिशा गैह्रे लगायत विद्यार्थीलाई घरमै बोलाए र घरमै कक्षा सञ्चालन गरे।

विद्यार्थीले शत् प्रतिशत् दिए, रोशनलाई उनीहरुको सिक्ने भोकले सकारात्मक उर्जा दियो। नतिजा नकारात्मक हुने कुरै भएन। कक्षा सञ्चालनको छोटो समयमै ती विद्यार्थीका चित्रहरु प्रदर्शनमा राखियो। जुन प्रदर्शनीको नाम थियो- 'ब्यूटी एण्ड द बीस्ट'।

उक्त प्रदर्शनीलाई लिएर आएका प्रतिक्रियाहरु सकारात्मक थिए। किशोर, लिशा लगायतको चित्रहरु बिक्री पनि भए। प्रतिक्रियाले जोस्यायो किशोरलाई, सायद। उनले रोशनसँग भन्न थाले- 'सर मिलेर केही गर्नुपर्छ।'

किशोरले पटकपटक राख्ने एउटै प्रस्तावले रोशनलाई पनि झक्झकायो। उनले सोचे- चित्रकारहरुको एउटा समूह किन नबनाउने त?

चित्रकारहरुको समूह 'प्यागोडा ग्रुप नेपाल'को सुरुवात कसरी भयो? भन्ने बारे गुत्थी खोल्दै थिए रोशन प्रधान। जुन समूहमा हाल ७ जना कलाकार आवद्ध छन्। ती ७ जना मध्य चारजना शनिबार दिउँसो दुई बजे लोक बाजा संग्राहलयमा जम्मा भएका थिए। त्यहाँ उनीहरुले 'नियमित अनौपचारिक छलफल'को नवौं श्रृङ्खलामा चित्रकला र त्यसका आयामहरु बारे आफ्ना कुरा राखे। 

कलाको विद्यार्थी। त्यसमाथि चित्र बनाउने भोक। फरक विषय, विचार, शैली अपनाउने यी कलाकारहरुलाई 'चित्रकला' मार्फत एक बनाउने काम गरेका हुन् रोशन स्वयंले। त्यसैले उनले समूहको नाम बारे प्रस्ट्याए- 'कलाकारलाई सधैं आफ्नो भाषा, संस्कृति वा सम्पदाले कुनै न कुनै किसिमको प्रभाव पार्छ। ममा प्यागोडा शब्द र त्यसको अर्थले त्यस्तै छाप छाड्यो। मैले पहिलोपटक यस शब्दबारे अध्ययन गर्दा नै सोचिसकेको थिएँ- कुनै दिन कला सम्बन्धी कुनै संघ वा संस्था खोलें भने यही नाम राख्छु।'

पहिले ललितकला सिकाउने एक संस्था रहेको प्यागोडा २०७३ सालदेखि कलाकारहरुको समूह पनि बन्यो। जहाँ उनीहरु आ-आफ्नो चित्रकलाको शैली, विचार, विविध विषयहरुमाथि छलफल गर्न थाले। एकअर्काको चित्रमाथि खुलेर विचार राख्न थाले। विमर्श गर्न थाले। वर्षौ पर्खेपछि मात्र सम्भव हुने चित्रकला प्रदर्शनीका लागि सामुहिक पहल गर्न थाले।

यहाँ समूहका सदस्यहरु बारे थोरै चर्चा आवश्यक छ। संस्थापक रोशन प्रधान कन्टेम्प्ररी चित्रकलामा रुची राख्छन्। २५ वर्षयता चित्रकलामा सक्रिय उनले ललितकला क्याम्पसबाट स्नातकोत्तर गरेका छन्। तीनवटा एकल चित्रकला प्रदर्शनी र विविध सामूहिक चित्रकला प्रदर्शनी गराइसकेका उनी हाल विगत र वर्तमानलाई एउटै क्यानभासमा उतार्दै छन्।

उदाहरण लिउँ पछिल्लो प्रयोगको, जसमा उनले पञ्चबुद्धका फरक चित्रहरुमा समसामयीक जीवनशैलीलाई जोडिदिए। भैरवले बियर पिउँदै गरेको दृश्य कस्तो देखिएला? अनि लाफिङ बुद्ध मोबालमा फोनमा मस्त। उनले त ग्रीनतारालाई चर्चित रोवोट सोफियासँग फ्युजन गराइदिए अनि बुद्धलाई अन्तरिक्ष यात्रीको स्पेशसुट लगाइदिए। 

विगतलाई वर्तमानसँग जोड्ने प्रयत्न उनले चित्रमार्फत गरेका हुन्। भन्छन्,'धार्मिक, राजनीतिक, सामाजिक इतिहासका कुरा त हुन्छन्। चित्रकलामा पनि। तर आजको पुस्ताले बाँचिरहेको जीवन चाहिं कतै छुटेको हो कि? त्यही कुरा सम्बोधन गर्नका लागि पौराणिक विषयलाई आजको आधुनिक पुस्तासँग जोडेर प्रस्तुत गरेको हुँ।'

उनको चित्रकलाको फ्युजनको प्रदर्शनी भइसकेको छ।  

चित्रमार्फत् रोशनको भन्दा फरक सन्देश प्रवाह गर्न लागि परेका छन् चित्रकार पासाङ उर्फ मंगोल पुत्र। उनी समाजसँग प्रत्यक्ष जोडिएका विषयहरुलाई क्यानभासमा उतार्छन्। आफ्नो चित्रकलाले कसैको विश्वास वा आस्थामा ठेस पुर्‍याउन नहुने तर्क राख्ने उनका चित्रमा परम्परागत् बुद्धिस्ट संस्कृतिको झल्को पाइन्छ। ललितकला क्याम्पसबाटै सर्टिफिकेट लेभल अध्ययन गरेका उनको चित्र धार्मिक विश्वास र आस्थाको विम्ब हुन्। 

पासाङ भन्छन्,'परम्परागत विधा र समसामायीक विधा दुई फरक कुरा हुन्। तर, यी दुबै विधा प्रत्यक्ष रुपमा एकअर्कासँग जोडिएका हुन्छन्। कुन विधा अपनाउने कलाकारको नितान्त व्यक्तिगत् चयन हो। तर एकअर्काको भाव र मौलिकतालाई धक्का पुर्‍याउनु भएन।' 

फरक विचार राखेर, फरक अर्थ बोक्ने चित्र कोरेर पनि एक हुनुको अर्थ न हो समूहमा काम गर्नु। उनीहरु एकअर्कालाई सुझाव दिँदै, सच्याउँदै, सल्लाह गर्दै अघि बढ्छन्। पासाङ भन्छन्,'फरक भएर पनि एक हुन सकिन्छ भन्ने उदाहरण हो प्यागोडा।'

समूहमा सुरुवातदेखि रहेका प्रधुम्न श्रेष्ठ रोशनका समकक्षी थिए। उनले पनि रोशनसँगै ललितकलाबाट स्नातकोत्तर सकेका हुन्। संस्कृति र सभ्यतालाई चित्रमा झल्काउने उनले सन् १९९८ देखि नै आफ्ना चित्रहरु प्रदर्शन गर्दै आएका छन्। 'चित्रकला अभिव्यक्तिको माध्यम हो। मैले जुन धरातलमा टेकेको छु त्यहींको कथा भन्छु। त्यहीँका विम्बहरु टपक्क टिपेर', उनी आफ्नो चित्रकलाप्रतिको लगाव बारे भन्छन्।

प्यागोडाको सुरुवातसँगै दश वर्ष चित्रकलाबाट टाढिएकी माला श्रेष्ठपनि जुर्मुराइन्। नाताले त उनी रोशनकी श्रीमती हुन् तर आफैमा एक कुशल कलाकार। उनले रोशनलाई कलाकारहरुको समूह स्थापना गर्न सहयोग पुर्‍याइन्। ललितकला क्याम्पसबाटै स्नातक तह सक्काएकी उनी आफ्ना चित्रहरुमा प्रकृतिलाई प्रस्तुत गर्छिन्।

'विवधतामा एकता'को सन्देश प्रवाह गर्ने यस समूहका रुद्रबहादुर पुन भने नेपाली गाउँ समाजको दैनिकीलाई क्यानभासमा उतार्छन्। प्यागोडा इस्टिच्युटबाटै चित्रकलाको औपचारिक शिक्षा लिएका उनी भन्छन्,'मैले बाल्यकालदेखि गाउँघरमा जे देखेर हुर्किएँ ती सेरोफेरोनै मेरा चित्रहरुका विषय हुन्।' 

किशोर ज्योतिका दार्शनिक विचारहरु उनको चित्रमा झल्कने तर्क राखेका छन् चित्रकार तथा लेखक मदन चित्रकारले। लिशा गैह्रेले आफ्ना क्यानभासमा महिलाको मुद्धालाई कुची र रङको माध्यमबाट उठाउँछिन्। 

यो समूहले स्थापना भएदेखिनै वार्षिक रुपमा सामुहिक चित्रकला प्रदर्शनीमा जोड दियो। जसको नतिजा स्वरुप सम्भव भयो २०७४ मा 'सिम्फोनिक एक्जिस्टेन्स' नामक सामूहिक प्रदर्शनी र २०७५ मा 'कोहिरेन्स' नामक दोस्रो प्रदर्शनी। यो वर्षका लागि पनि धुमधाम तयारी गर्दैछन्। आउँदो असोज १ गतेदेखि प्रदर्शनीको नयाँ संस्करण आयोजना हुनेछ। उनीहरु एउटै चित्र तयार पार्न महिनौ लगाउँछन्। एउटा कुनामा एक्लै घोत्लिएर एकोहोरो काम गर्दैनन् बरु एकअर्काको चित्र हेर्ने आफूलाई लागेको कुरा भन्ने गर्छन्। 

यो समूह आउँदो शनिबार अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा सहभागिता जनाउँन थाइल्यान्ड जाँदैछ। जनवरीको २६ देखि २९ तारिखसम्म चल्ने प्रदर्शनीमा समूहका ६ जना चित्रकारसँगै अन्य सात चित्रकार सहभागी हुनेछन्। नेपाली चित्रकारहरुसँगै अठारजना थाइ र छत्तिस भारतीय चित्रकारहरुको चित्र देखाइनेछ। 

कलालाई नाप्ने कुनै मापदण्ड नभएको बताउने यी कलाकारहरु चित्रकलाको उत्थानमा एकसाथ लागि परेका छन्। उनीहरु हरेक कलाकारको चित्रकलाले ठाउँ पाउनु पर्छ भन्ने तर्क राख्छन्। जुन चित्रमा फरक परिवेशबाट आएर, फरक बुझाइ राख्ने कलाकारहरुले फरक अभिव्यक्ति गर्छन्। ती चित्र हेर्ने हरेकले फरक अर्थ निक्र्यौल गर्छन्। र जन्मन्छ चित्रकलाका फरक आयामहरु। 

नियमित अनौपचारिक छलफलको बसाईमा उनीहरुले समूहको परिचयसँगै आफ्नो कलाप्रतिको धारणा बारे पनि बोलेका थिए।

सरकारी तहबाट कलाका अन्य क्षेत्रमा जस्तै चित्रकलालाई प्रोत्साहित गर्ने कुनै सहयोग या घोषणा नभएपनि उनीहरु सरकार प्रति आशावादी छन्। 'राज्यस्तरबाट कला क्षेत्रका लागि कुनै अवधारणा र कलाकारलाई कुनै सुविधा नभएपनि चित्रकला पढ्न चाहने युवाका लागि कलेज त छ नि? यही नै निकै सकारात्मक विषय हो', पासाङ बिक्रम लामा बोले। उनले समाजले कलाकारप्रति दर्शाउने सम्मान नै निरन्तर अभ्यास गरिरहने उर्जाको स्रोत भएको बताए। उनीहरु धन्य छन् चित्रकलामा राजनीति नमिसिनुकै कारण पनि यो क्षेत्र आफ्नै बुतामा उभिएको छ। 

'अग्रजहरुले राज्यसँग माग्नु भयो। सायदै केही पाउनु भयो। त्यसैले आज हाम्रो पुस्ताको कलाकार पनि मागी नै रहेका छौं। तर हामीभन्दा पछिका पुस्ताले पनि मागी नै रहनु पर्ने अवस्था सिर्जना हुनेजस्तो देखिएको छ', पासाङ भन्छन्,'त्यसैले प्यागोडा समूह राज्यसँग केही माग्नभन्दा पनि आफूहरुले यो क्षेत्रलाई सक्दो सहयोग दिन लागि परेका छौं।'

कला अमूर्त हुन्छ र यसले हरेकका लागि फरक अर्थ राख्छ। यो समूहले अहिले यही तथ्यलाई स्थापित गर्न खोज्दैछन्। समूहका हरेक आफै केही अभिव्यक्त गरुँ र त्‍यसले सबैका लागि केही न केही अर्थ राखोस् भन्ने चाहन्छन्। रङको भाषामा रमाउने प्यागोडा समूह सरल देखिने विषयहरुको गाम्भिर्यता बुझाउन खोज्दैछन्।

प्रधुम्न श्रेष्ठ भन्छन्, 'कलाको सिमितता हुँदैन। चित्र यस्तो नै हुनुपर्छ भन्ने पनि हुँदैन किनकि चित्र त सोच हो। अनि चित्रकलाले सोचको क्षेत्रफल बिस्तार गर्न सहयोग पुर्‍याउँछ। हामी प्यागोडा समूह त्यही प्रयासमा छौं।' 

तस्विरहरु सबै प्यागोडा समूहका चित्रकारहरुको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell