पोखरामा जारी व्यापार मेलामा पञ्चेबाजामध्यको ढोलकी भिरेर नेपाली पोशाक दौरा सुरवालमा सजिएका एक बालक देखिए। आफूभन्दा ठूलो बाजा बोकेर लयमा धुन बजाइ रहेका उनी निकै रमाइरहेका देखिन्थे।
उनको नाम अमित परियार रहेछ। उमेर मात्र १२ वर्ष। पोखरा महानगरपालिका १८ स्थित शुक्रराज बलभद्र माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्ने। फुटुफुटु हिड्ने र खेल्ने उमेरका उनी पुर्ख्यौली बाजा संरक्षण गर्न भन्दै हिँडिरहेका पो रहेछन्।
उनको एउटा फोटो खिचौँ न भन्ने बित्तिकै उनीसँगै भएका समूहका अन्य वृद्ध सदस्यहरुले केहि मागेको आशयमा हातको पारले भने, ‘फोटो खिचेपछि एसो केहि खाजा आउँला नि है बाबु?’
उनका हजुरबुबा उमेरकाले उसो भनिरहँदा आडैमा रहेका अमितले उनीहरुलाई आँखा तर्दै भने, ‘मेरो खिच्नुस्, पैसा पर्दैन।’
पाका पुस्ताले आफ्नो पेशालाई मागी खाने भाँडो बनाएकोमा उनी निकै चिन्तित देखिए।
उनी भन्छन्, ‘हामीले हाम्रो संस्कृतिको संरक्षण गर्न सकेनौँ, हाम्रो पहिचान हाम्रा बा, हजुरबाहरुले एक गिलास रक्सीमा बेचे।’
उनको यो भनाइलाई पुष्टी गर्दै पछिल्लो समयमा नौमती बाजा अब मगर बाजाका रुपमा पनि परिवर्तन भएको पाइन्छ कास्कीमा। मगर समुदायका मान्छेहरुले व्यावसायीक रुपमा विवाह व्रतबन्ध र अन्य शुभ कार्यहरुमा तीनै पञ्चेबाजा/नौमतीबाजा बजाउँदै आएका छन्।
स्कुलमा शिक्षकले सिकाएको शैलीमा उनी भन्छन्, ‘रक्सी खाएर बाजा बजाउनु हुँदैन, रक्सीले हाम्रो स्वास्थ्यलाई असर गर्छ त्यसैले अनुशासनमा रहनु पर्छ।’
सानैमा बाबुसँग रमाईलोको लागि विवाहमा पछि लागेर जाँदा बाजा बजाउनेहरु रक्सीले बजाउनै नसक्ने भएपछि तिनै बाजा बोक्दा बोक्दै अमितले बजाउन सिके। आफू दुई कक्षामा पढ्दादेखि नियमित रुपमा स्कुल छुट्टी भएको समयमा बाजा बजाउन हिड्ने गरेका छन् उनी।
‘म तीन वर्ष भयो यसरी बाजा बजाउन हिँडेको, बाजा बजाउने कामसँगै आवश्यक परेको बेला सबै भन्दा राम्रो नाच्न पनि सक्छु, ५/६ जनालाई त म थकाईदिन्छु,’ अमितले फुर्किदै भने।
सानैमा आफू भन्दा ठुलो बाजा बोकेर बजाउँदै हिँड्दा थकाई लाग्नु पर्ने हो।
तर उनी भन्छन्, ‘थकाई त लाग्छ नि तर पनि जिम्मेवारी लिएपछि काम गर्नु पर्दैन र?’
बाबुले बजाएका सबै बाजा बजाउन आँउछ रे अमितलाई। दमाह, ट्याम्को, ढोलकी र झ्याली उनले बजाउँछन्। विवाहमा बजाईने सबै खालका धुनमा उनी पोख्त पनि छन्। यत्तिका बाजा कसरी बजाउन जानेको होला?
‘बाबुको बिँडो धान्नु परेन? यो हाम्रो संस्कृती हो, हामीले यसको संरक्षण गर्नु पर्छ,’ नाक फुलाउँदै उनले भने।
विवाहमा बाजा बजाउनुको अर्थ उनका लागि अझ पृथक छ। शुभ विवाह आफूले बजाएको संगीतको माध्यमबाट झनै शुभ भएको महसुस गर्छन् उनी। तर शुभ कार्यलाई राम्रो बनाउँदा पनि आफ्नो काम र जातका आधार आफूलाई मानिसहरुले गर्ने भेदभावले भने उनलाई दुःखी बनाउँछ।
‘शुभ कार्यलाई राम्रो बनाउँछौँ हामी तर पनि हामीलाई हाम्रो पेशाका आधारमा गरिने भेदभाव भने कत्ति मन पर्दैन,’ उनले मन खोले।
कुनै समय यस्तो थियो विवाहमा पञ्चेबाजा बजाएर ल्याइएकी दुलही र भित्रने घरको रवाफ समाजमै पहिचान योग्य हुने गर्थ्यो। विवाह पछिका दिनमा पनि जोरका जोर गर्दुवा (विवाहमा केटि पक्षकाले केटा पक्षकालाई दिइने सामान) र पञ्चेवाजाका बारेमा ठूलै बहस हुने गर्छ। चिया पसलमा केटा पक्षका पुरुष र पँधेरो तथा मेला पातामा केटा पक्षकै महिलाहरुमा ठूलो प्रतिष्ठाको कुरा बन्थ्यो जोर गर्दुवा र जोर बाजा।
परापूर्व कालदेखि पञ्चेबाजा नेपाली समाजसँग जोडिँदै आएको छ। मंगलवाद्यका रूपमा ‘दमाई’ जातिले विवाह, व्रतबन्ध, उत्सव, रोपाई, पूजा–पञ्चबलि आदिमा पञ्चेबाजा बजाउँदै आएका हुन् जुन आज पनि उत्तिकै अपरिहार्य रहेको पाइन्छ। पञ्चेबाजामा सहनै, ढोलकी, झ्याली, दमाहा र ट्याम्को पर्दछन्।
पछिल्लो समय हुने विवाहमा पञ्चेबाजाका धुन निकै कम सुनिन्छ। अहिलेका आधुनिक विवाहमा पञ्चेबाजाको सट्टा ठूलाठूला आवाजमा स्पिकरबाट गीत बजाइन्छ। पछिल्लो पुस्ताले पञ्चेबाजालाई त्यति महत्व नदिँदा यो लोप भएर जाने सम्भावना देखिदै गएको छ।