काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।
आजको पहिलो खेलमा न्यूरोड टीम (एनआरटी) र विभागीय टोली एपीएफ भिड्नेछन्। खेल १२ बजे सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुनेछ।
छ खेल खेल खेलेर ३ जित २ हार १ बराबरी खेलेको एनआरटीको ८ अंक छ। अघिल्लो सिजन तालिकाको पुछारमा रहेको एनआरटीको यो सिजन २ अंक घटाइएको थियो। आठौं स्थानमा रहेको एनआरटीले आज जित निकाल्न सकेको खण्डमा चौथो स्थानसम्म पुग्ने सम्भावना रहन्छ।
अर्कोतर्फ विभागीय टोली एपीएफले हालसम्म एक मात्र जित निकालेको छ। छ खेल खेलेको एपिएफले १ जित २ बराबरी र ३ हार ब्यहोर्दै ५ अंक जोडेको छ। तालिकामा एपिएफ १३ औं स्थानमा छ। रेलिगेसन जोनबाट माथि उठ्नकै लागि पनि आजको खेलमा एपिएफलाई जित चाहिएको छ। आज जित निकालेको खण्डमा एपिएफ सातौं स्थानसम्म पुग्न सक्छ।
आजै हुने दोस्रो खेलमा सरस्वती युथ क्लबले फ्रेण्ड्स क्लबको सामना गर्नेछ। लगातार हारको सामना गरिरहेको सरस्वती युथ क्लब आज पहिलो जित निकाल्ने दाउमा हुनेछ। दुवै टिमको लक्ष्य रेलिगेसन जोनबाट माथि उठने रहेको छ।
६ खेलमा १ जित ३ हार र २ बराबरी खेलेको फ्रेन्डस क्लबले जारी सिजन शीर्षस्थानको होडमा रहेको थ्री स्टार क्लबलाई हराएको थियो भने मनाङ मर्स्याङदी क्लबलाई बराबरीमा रोकेको थियो। फ्रेन्डस क्लब तालिकाको १२ औं स्थानमा छ।
अर्को तर्फ जारी सिजन एउटा पनि जित निकाल्न नसकेको टिम हो सरस्वती युवा क्लब। सरस्वती क्लबले ६ खेलमा ५ हार र १ बराबरी खेल्दै १ अंक जोडेर तालिकाको पुछारमा छ। आजको खेलमा जित निकाल्न सकेको खण्डमा सरस्वती क्लब १ स्थान माथि उक्लने सम्भावना रहन्छ।
दोस्रो खेल ३ बजे शुरु हुनेछ। आजका दुवै खेल सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुनेछ।