PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा प्रशासनद्वारा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक



पहिलोपोस्ट

सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा प्रशासनद्वारा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

काठमाडौं : बजार क्षेत्र अतिक्रमण गरी बनाइएका टहरा भत्काइएको विरोधमा स्थानीयले हुलदङ्गा र तोडफोड गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रबिसे क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ बमोजिम प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आदेश जारी गरेकी हुन्। 

आइतवार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो। अर्को व्यवस्था नभएसम्मका लागि आदेश कायमै रहने निर्देशनमा उल्लेख छ। 

आदेश अनुसार बाह्रबिसे बजारबाट तीन सय मिटर पूर्वसम्म, पश्चिममा भोटेकोशी खोलाको पुलसम्म र उत्तरको इलाका प्रहरी कार्यालय बाह्रबिसेसम्म निषेधाज्ञा जारी गरिएको छ। यस्तै, दक्षिणतर्फ पिस्कर क्षमादेवी जाने बाटोको सुनकोशी चोकसम्म निषेधाज्ञा जारी गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी चेम्जोङले शान्ति सुरक्षामा चुनौती सिर्जना भएपछि निषेधाज्ञा जारी भएको बताइन्।

उनले भनिन्, ‘सुरक्षा थ्रेट बढेपछि निषेधाज्ञा जारी गरिएको हो। वार्ताका लागि अहिले छलफल भइरहेको छ। सहमति भएमा निषेधाज्ञा हटाइनेछ।’

बाह्रबिसे नगरपालिकाले  शुक्रबार अतिक्रमित क्षेत्रबाट टहरा भत्काएको थियो। त्यसको विरोधमा शनिबारदेखि प्रदर्शन भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell