PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जनयुद्धबाट उदाएकी निर्मलाको अनुभव : चिनियाँ उपन्यासले युद्धमा होमिए, जनवादी गीत गाउने बेवारिसे बने



मन्दिरा खत्री

जनयुद्धबाट उदाएकी निर्मलाको अनुभव : चिनियाँ उपन्यासले युद्धमा होमिए, जनवादी गीत गाउने बेवारिसे बने

काठमाडौं : तामाङ समुदायमा ल्होछारको महोल छ यतिबेला। यही मौकामा गायिका निर्मला घिसिङले सेलो भिडियो सार्वजनिक गरेकी छिन्।

राजधानीको होटल हार्दिकमा औपचारिक कार्यक्रम आयोजना गरी'कहाँ होला च्याङबाको दरबन्दी' बोलको गीत सार्वजनिक गरेकी हुन् उनले। गीतमा सुशन लामाको शब्द/संगीत रहेको छ। अजय स्याङतनले निर्देशन गरेको म्युजिक भिडियोमा निर्मला आफैं फिचर्ड छिन्। उनी पहिलोपटक मोडलिङमा उत्रिएकी हुन्।

पाँच सयभन्दा बढी गीत गाइसकेकी निर्मलालाई पहिलोपटक म्युजिक भिडियोमा फिचर्ड हुँदा खुसी लागेको बताइन्। भनिन्, 'म्युजिक भिडियोको लागि खासै मेहनत गर्नुपरेन। पहिले पनि नाचेकी हुनाले खासै गाह्रो परेन। आफ्नै गीतमा नाच्न पाउँदा खुसी नहुने कुरै भएन।'

दरबन्दीको खोजी 

कसरी तयार भयो त दरबन्दी? उनको जवाफ थियो,'गतवर्ष ल्होसारको लागि एउटा गीत मागेकी थिएँ सुशन दाईसँग। तामाङ समुदायको एउटा केटी मान्छेको कथा भएको गीत खोजिरहेकी थिएँ। उहाँले दुई चारवटा गीत दिनुभयो। दरबन्दीको मेलोडी क्याची र लिरिक्स पनि सरल लाग्यो। दरबन्दी भन्ने थेगो एकदमै मनपर्‍यो।'

रियल लाइफमा दरबन्दी खोजीमा लागेको कति भयो नि? जवाफमा हाँस्दै उनले भनिन्,'भयो होला दश वर्ष जति। तर, अहिलेसम्म पनि भेटेकी छैन।'

क्रान्तिदेखि दरबन्दीसम्म

निर्मला 'भ्वाइस अफ नेपालको सिजन २' मा देखिएपछि थप छाइन्। माओवादी युद्धका क्रममा वैचारिक गीत गाएर सांगीतिक यात्रा थालेकी उनी युद्धविरामपछि काठमाडौँ आइपुगिन्। युद्धमा उनी वैचारिक गीत गाउन पूर्वदेखि पश्चिम पुगेकी थिइन्। युद्ध रोकिएसँगै उनी भित्रिइन् काठमाडौँ।

त्यसपछि सुरु भयो उनको व्यवसायिक सांगीतिक यात्रा। त्यसमा पनि सेलो संगीत उनलाई चिनाउने माध्यम बन्यो। तामाङ समुदायमा छाइन् उनी।

'भ्वाइसमा आउनुअघि म सेलोमामात्र सीमित थिएँ। विशेष त अनुभवकै लागि म भ्वाइसको स्टेजमा आएकी हुँ,'उनले भनिन्, 'भ्वाइसबाट थप चिनिने मौका पाएँ।' नकआउट चरणबाट बाहिरिइन् उनी।

मकवानपुर फापरबारीकी निर्मला सानैदेखि नाचगानमा सौखिन थिइन्। आफ्नो सोख पूरा गर्न १३ वर्षमा नै आन्दोलनमा लागेको उनी बताउँछिन्। 'कक्षा आठमा पढ्दै थिएँ। छाडिदिएँ पढाई अनि लागेँ जनताको पक्षमा गीत गाउन,' निर्मलाले सुनाइन्।

सानै उमेरमा त्यो आँट कसरी त? 'समृद्ध सपना देखाइएको थियो हामीलाई। असाध्यै राम्रो देशको चित्रण गरियो। हामीले आफ्नो साइडबाट युद्धको समयमा योगदान गर्नुपर्छ चाहे हामी जतिसुकै सानो उमेरको किन नहोस् भन्ने लागेको थियो। म चाहिँ गाउने सपनालाई पछ्याउँदै लागेँ त्यता,'सुनाइन निर्मलाले।

त्यति बेला गाँउघरमा माहोल नै त्यस्तै थियो। निर्मलाको गाउने रहरले पनि जनयुद्धमा डोहोर्‍यायो। भन्छिन्, 'मलाई सानैदेखि गाउने रहर पनि थियो। अनि म गीत नै गाउँछु भनेर जनयुद्धमा गए। चिनियाँ उपन्यास, रातो तारा, बाल सिपाही लगायतका पुस्तकमा सानै उमेरका मान्छेले पनि कसरी आन्दोलनमा योगदान गर्छ भन्ने लेखिएको थियो। यी पुस्तकहरुले मलाई बढी प्रभावित पार्‍यो।'

युद्धकै मञ्चमा गाउन सिकिन्, नाच्न सिकिन्। 'मैले जनयुद्धमै नाच्न र गाउन सिकेँ। हाम्रो लागि माइला अंकल (माइला लामा) नै युद्धको कमाण्डर थिए। उहाँकै छत्रछायामा लागेर जनयुद्धको गीत गाउँदै हिड्यौँ। जनसेना भनेझै त्यहाँ पनि कलाकारको एउटा टिम नै थियो। सेनाहरुको एउटा टिम हुन्थ्यो भने राजनैतिक ब्यूरो पनि। गीत गाएर मान्छेलाई आफ्नो तर्फ ल्याउने होल टाइमर बनाउने आन्दोलनभित्रै भएको मान्छेहरुलाई बढी उत्प्रेरित गर्ने लगायतको काम हामी कलाकारहरुको हुन्थ्यो,' गायन यात्राको सुरुवाती क्षणबारे उनले सुनाइन्।

उनका अनुसार सांस्कृतिक टोली लडाईँमा जानुपर्दैनथ्यो। तर, एक दिन जानुपर्‍यो उनी। 'मकवानपुरकै झुरझुरे लडाईँमा जानुपर्‍यो,' उनले भनिन्, 'एकजना घाइतेलाई सिन्धुली पुर्‍याउन जानुपर्‍यो। फर्किँदा राति भइसकेको थियो र एक्लै पनि। त्यति बेला नै माथि हेलीबाट बम खसाल्न सुरु भयो, मलाई नै बम हान्य हो कि जस्तो लाग्यो। डरले लुगलुग कामेकी थिएँ। धन्न केही भएन।'

औपचारिक सांगीतिक शिक्षा भने उनले युद्ध रोकिएपछिमात्र सिक्न पाइन्। 'प्लस टु पछि नै हो मैले संगीत सिकेको। गीत गाउनलाई माइला अंकलले एकदमै धेरै प्रोत्साहन गर्नुभयो,' उनले भनिन् 'गायनमै मलाई सपना देखाउनेहरु चाहिँ धेरै जना हुनुहुन्छ। विशेष त भरत लामा सरबाट म एकदमै धेरै प्रभावित भएको हो। भरत सरसँगै चन्दन श्रेष्ठ गुरुजी, चन्डीप्रसाद काफ्ले र माइला अंकलले मलाई संगीत सिकाउनु भयो। 'सेलोमा चन्द्रकुमार दोङदेखि योगिता मोक्तानसम्मको प्रोत्साहनले आफू लागेको सुनाइन्।

बेबारिसे बन्दै जनवादी कलाकार

राजनीतिक परिवर्तनपछि कलाकारको भूमिका गौण भएको उनको भनाई छ। भन्छिन्, 'कति जनवादी गीत गाउने कलाकारहरु बेवारिसे जस्तै भए। कति जना विदेश पलायन हुनु भयो भने कति जना आफ्नो जीवन व्यवस्थापनतिर लाग्नु भयो।'

निर्मलाले भने यो क्षेत्र छाड्न सकिनन्। भन्छिन्,'संगीतलाई छोड्न सकिएन र संगीत नै इच्छा चाहना पूरा गर्ने माध्यम पनि भयो। म गीत गाएर बाँच्छु भन्ने पनि भयो र बिस्तारै मैले यसलाई प्रोफेसनको रुपमा नै लिएर गए।'

क्रान्तिको गीतमा रम्ने बानी परेकी निर्मलालाई सुरुमा माया प्रेमका गीत गाउँदा उकुसमुकुस लागेछ। 'देश, जनता र परिवर्तनको लागि गीत गाएको मान्छे सुरुमा माया प्रेमका गीत गाउँदा म सक्छु र जस्तो मलाई लागेको थियो। हिजो एउटा वैचारिक गीत गाएर आएको मान्छे म फरक किसिमको गीत गाउनु पर्दा अलि असहज महसुस भने भएको थियो। अलिकति मनले नमानेको जस्तो,' उनी भन्छिन्,'तर पछि बिस्तारै भिज्दै गएँ। हिजो जे जस्तो भयो गर्व गर्ने कुरा पनि छ र अहिले म जस्ता गीतहरु गाइरहेको छु त्यसबाट पनि राम्रै भइरहेको छ।'

विप्लवको गीत यसरी गाउन पाएँ

उसो त अहिले पनि उनी वैचारिक गीतहरु गाइरहेकी हुन्छिन्।

तीन वर्षअघि 'कस्ले बनायो दाजै उडी जाने बस'  बोलको गीत उनको स्वरमा सार्वजनिक भयो।

'कसले बनायो दाजै उडी जाने बस

हाम्रो देशै उडायो हाम्रो साखै उडायो

हररर उडेर नजाउँ न है

नबनाई कहाँ हुन्छ आफ्नै देशलाई'

नेत्रविक्रम चन्द (विप्लव) को शब्द रहेको उक्त गीतमा माइला लामाले संगीत भरेका छन्। गीत चर्चामा आएसँगै निर्मला बढी चिनिन थालिन्।

'नेत्रविक्रम चन्द विप्लव सरले लेख्नु भएको कारण पनि त्यो गीत चर्चामा आयो,' उनले भनिन्,'त्यति बेला एउटा माहोल थियो राजनैतिक परिस्थितिको कारण पनि दर्शकलाई त्यो गीत मनपरेको हुन सक्छ। गीत पनि त्यस्तै मनछुने थियो। नेपाल भित्रैबाट बौद्धिक लेभलबाट पनि यो गीतको खोजी हुन थाल्यो। बाहिर खाडी राष्ट्रमा काम गर्न जानु भएकोहरुले पनि यो गीतको खोजी गर्न थाले।'

विप्लवको गीत गाउने मौका कसरी जुर्‍यो त? 'माइला अंकलले एउटा गीत छ भनेर मलाई सुनाउनु भयो। गीत सुने मलाई असाध्यै राम्रो लाग्यो। अनि मलाई सकेसम्म त्यो गीत छिटोभन्दा छिटो रेकर्ड गर्न पाए हुन्थ्यो भन्ने भइसकेको थियो। तर गीत रेकर्ड गर्न एक वर्ष नै ढिला भयो। एक वर्षपछि गीत रिलिज भयो नभन्दै गीत रिलिज हुने बितिकै राम्रो प्रतिक्रिया पायो।', गीतबारे उनले भनिन्।

अहिले पढाईमा निरन्तरता

युद्धमा पढाई छाडेकी घिसिङले काठमाडौं पसेपछि पढाईलाई निरन्तरता दिएकी छिन्। 'शान्ति स्थापना भएपछि मैले एसएलसी दिएँ। बिए पनि पास गरेँ। त्यसपछि फेरि यता कमर्सियल तरिकाले म संगीतमै लागे,' उनले भनिन्।

स्टेज कार्यक्रमको सिलसिलामा विभिन्न देश पुगिसकेकी उनी यो ल्होसारमा अस्ट्रेलिया जाँदैछिन्।

भविष्यमा पनि संगीतलाई नै निरन्तरता दिने उनको सोच छ। भन्छिन् 'संगीतमै छु र यसमा नै निरन्तर लागि रहेको छु। हेरौँ अब कहाँसम्म जान सकिन्छ। जहाँ गए पनि संगीत त मसँगै हुन्छ।'

सांगीतिक करिअरमा यति धेरै उतारचढाव आयो उनको। निर्मला भन्छिन्, 'म एकदमै भिन्न पृष्ठभूमिबाट आएको मान्छे। भिन्न तरिकाले संघर्ष गरेर आएँ। मलाई दर्शकले सहज तरिकाले स्वीकार गर्छ या गर्दैन भन्ने थियो। त्यो मेरो लागि एकदमै ठूलो चुनौती थियो र अहिले चाहिँ मलाई गायिकाको रुपमा चिन्नु हुने मानिसले एकदमै माया गर्नु हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell