PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ह्यारी र मार्कलले शाही पदवी प्रयोग गर्न नपाउने, रानी भन्छिन् 'नातीको स्वतन्त्र जीवन सफल होस्'



पहिलोपोस्ट

ह्यारी र मार्कलले शाही पदवी प्रयोग गर्न नपाउने, रानी भन्छिन् 'नातीको स्वतन्त्र जीवन सफल होस्'

बेलायती राजपरिवारका सदस्य राजकुमार ह्यारी र मेगन मार्कलले शाही पदवी प्रयोग गर्न नपाउने भएका छन्।

महारानी एलिजावेथको तर्फबाट प्रकाशित विज्ञप्तिमा उनीहरुले अबदेखि महारानीको प्रतिनिधित्व समेत नगर्ने उल्लेख गरिएको छ। बेलायती राजपरिवारमा महारानीबाहेक राजकुमार र राजकुमारीहरुलाई समेत शाही पदवी दिइएको हुन्छ।

उनीहरुलाई समेत हिज/हर रोयल हाइनेस भनेर सम्बोधन गरिन्छ। अब भने ह्यारी र मार्कलले ती पदवी प्रयोग गर्न पाउने छैनन्।

उनीहरुले आफ्नो सैन्य जिम्मेवारी समेत त्याग्नु पर्नेछ। यस्तै उनीहरु बस्ने फ्रगमोर कटेजको पुनर्निर्माणका लागि उनीहरुले २.४ मिलियन पाउन्ड समेत फिर्ता गर्नुपर्ने भएको छ। यो नयाँ नियम यही वर्षको ग्रीष्मदेखि लागू हुने बताइएको छ।  

ड्युक र डचिस अफ ससिक्स रहेका ह्यारी र मेगनले केही दिनअघि शाही भूमिकाबाट अलग बस्ने घोषणा गरेका थिए। आर्थिक रुपमा आत्मनिर्भर बन्न दुवै जना काम गर्ने चाहनास्वरुप उक्त निर्णय लिएको बताइएको थियो।

तर, बेलायती राजपरिवार उनीहरुको निर्णयका कारण खुसी थिएनन्। सोमबार बसेको राजपरिवारका वरिष्ठ सदस्यहरुको बैठकले ह्यारी र मार्केललाई राजपदवी प्रयोग गर्न नपाउने निर्णय गरेको थियो।

रानीले यस निर्णयबाट आफ्ना नाती र उनको परिवारको भविष्य उनीहरुले चाहे बमोजिम स्वतन्त्र हुने विश्वास समेत व्यक्ति गरेकी छिन्।

बकिङहम प्यालेसद्वारा प्रकाशित विज्ञप्तिमा लेखिएको छ, 'मैले विगतको दुई वर्षदेखि उनीहरुले भोगिरहेको चुनौतीहरु पहिचान गर्ने प्रयास गरेकी छु। त्यसैले म उनीहरुको स्वतन्त्र जीवन बाँच्ने चाहनालाई म सम्मान गर्छु। आजको निर्णयबाट उनीहरुले नयाँ सुरुवात गर्नेछन् र खुसी र शान्तिपूर्ण नयाँ जीवन सुरु गर्नेछन् भन्ने अपेक्षा मेरो परिवारले गरेको छ।'

ह्यारी र मार्कलले क्यानडा र बेलायतमा समय मिलाएर बस्ने योजना बनाएको बताइएको छ। राजपरिवारको सदस्य नरहे पनि उनीहरुको सुरक्षा दिने योजनाबारे भने छलफल जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell