PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हेटौँडा प्रदेश राजधानी हुँदा चितवनवासी खुशी



रासस

हेटौँडा प्रदेश राजधानी हुँदा चितवनवासी खुशी

चितवन : वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा हुँदा छिमेकी जिल्ला चितवनका बासिन्दा खुशी भएका छन्। संघीय राजधानी चितवन हुनुपर्ने माग गर्दै आएका यहाँका बासिन्दा भौगोलिक कारणले प्रदेशको राजधानीसमेत टाढा पर्ने हो कि भन्ने चिन्तामा रहेका थिए।

आफ्नै जिल्लामा प्रदेशको राजधानीसमेत नभएपछि छिमेकी जिल्लामा स्थायी राजधानीको चित्त बुझाउँदै यहाँका बासिन्दा खुशी भएका छन्। माडी नगरपालिका–७ निवासी महदत्त काफ्लेले जोडिएको जिल्ला भएकाले मकवानपुर राजधानी हुँदा चितवनवासीलाई राम्रो भएको भन्दै खुशी प्रकट गरे। पूर्वी चितवनको भण्डाराका अनुपम अधिकारीले जिल्ला फरक परे पनि सिमाना जोडिएकाले मकवानपुर राजधानी हुनु चितवन भए जस्तै भएको बताए।

चितवन क्षेत्र नम्बर २ का संघीय सांसद कृष्णभक्त पोख्रेल हेटौँडादेखि दाउन्नेबारीसम्मको भूभागलाई जोडेर एउटै शहर बनाउनुपर्ने भन्दै मकवानपुर राजधानी हुनु चितवनवासीका लागि सुखद रहेको बताउँछन्। मकवानपुर सानो क्षेत्र भएको भन्दै उनले सिमाना जोडिएको चितवनले प्रशस्त सम्भावना बोकेकाले राजधानीको लाभ लिन सक्ने तर्क गरे।

राजधानी आउने व्यक्ति बस्ने पर्यटकीय गन्तव्यदेखि विमानस्थलसम्म चितवनमा नै रहेको छ। चितवनको सदरमुकाम भरतपुरबाट राम्रो बाटो बन्दा एक घण्टाको दूरीमा प्रदेश राजधानी हेटौँडा पुग्न सकिन्छ। विश्वका ठूला देशहरुको राजधानीबाट छिमेकमा ठूला शहरहरु बनेको भन्दै त्यो सम्भावना चितवनले बोकेको पोख्रेलको भनाइ छ।

मकवानपुरलाई प्रदेशको स्थायी राजधानी बनाउन पहल गर्दै आएकी प्रदेशसभा सदस्य गीता वाग्ले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको एकताले मकवानपुर राजधानी बनेकामा जिल्लावासी खुशी भएको बताउँछिन्। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले अस्थायी राजधानी तय गरेको अहिलेको नेकपाका सांसदले राजधानी प्रस्ताव गरेको र कांग्रेस सांसदले राजधानीमा समर्थन गर्दै वाग्मती प्रदेश प्रस्ताव गरेको भन्दै वाग्लेले सबैको साझा राजधानी बन्न सक्नु खुशीको कुरा रहेको बताए।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार भूगोलको हिसाबले अन्यत्रै राम्रो हुन सक्ने भए पनि संघीयताको मर्मअनुसार मकवानपुर राजधानीका लागि उपयुक्त भएको बताए। छिमेकी जिल्ला भएकाले मकवानपुर राजधानी हुँदा आफ्नै जिल्लामा राजधानी भएको आभास यहाँका बासिन्दालाई भएको उनको भनाइ छ।

चितवनलाई नै राजधानी बनाउन नसक्दा यहाँको बासिन्दाको पहिलो रोजाइ मकवानपुर हुनु स्वाभाविक भएको उनको तर्क छ। कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ चितवनलाई वैकल्पिक संघीय राजधानीका रुपमा सम्भावना बोकेको जिल्ला भन्ने गरिएको भन्दै यो जिल्ला राजधानी हुन नपाउँदा छिमेकी जिल्ला हुनु यसका लागि राम्रो भएको बताउँछन्।

उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशका उपाध्यक्ष राजन गौतमले भौगोलिक हिसाबले मकवानपुर उपयुक्त नभए पनि राजधानी बनिसकेकाले यसको प्रत्यक्ष लाभ मकवानपुरपछि चितवनले लिने बताए। संघीय प्रणालीमा भएकाले धेरै अपेक्षा नभए पनि व्यावसायिक रुपमा यसको लाभ चितवनलाई पनि हुने उनले बताए।

उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठ छिमेकी जिल्ला मकवानपुरमा राजधानी हुँदा यहाँको उद्योग–व्यवसाय वृद्धि गर्न सहयोग पुग्ने बताउँछन्। प्रशासनिक कामदेखि अन्य व्यावसायिक कामहरुमा दूरीको हिसाबले पनि चितवनवासीलाई निकै सहज भएको श्रेष्ठको बुझाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell