PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

‘गणेशमान सिंह स्मृति किक बक्सिङ’मा एपिएफ च्याम्पियन, राजेश र रिता उत्कृष्ट खेलाडी



पहिलोपोस्ट

‘गणेशमान सिंह स्मृति किक बक्सिङ’मा एपिएफ च्याम्पियन, राजेश र रिता उत्कृष्ट खेलाडी

काठमाडौं : सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब ‘वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता’मा च्याम्पियन बनेको छ। एपिएफ ५ स्वर्णसहित टिम च्याम्पियन बनेको हो। च्याम्पियन एपिएफले १ लाख नगद पुरस्कार पायो।

ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मी ३ स्वर्णका साथ दोस्रो भयो। आर्मीले ५० हजार नगद पुरस्कार हात पार्‍यो। पुरुषमा आर्मीका राजेश चौधरी तथा महिलामा नेपाल प्रहरी क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही २५ हजार नगद पुरस्कार प्राप्त गरे। राजेशले ६५ केजी तथा रिताले ५५ केजीमा स्वर्ण जितेका थिए। स्वर्णवापत दुवैले छुट्टै जनही ३० हजार नगद पुरस्कार पनि पाए। भाटभटेनीले अनुशासित टिमको उपाधि हात पार्‍यो भने मार्चपासमा एपिएफ उत्कृष्ट बन्यो।

ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको पुरुष ५० केजीमा मेन डोजोका मनोज राना मगर पहिलो भए। पुरुष ५५ केजीमा एपिएफका रोहित चुनारो पहिलो भए। उनले आर्मीका तारा तामाङलाई फाइनलमा हराए। पुरुष ६० केजीमा एपिएफका वीरेन्द्र सिंह कोधारीले स्वर्ण जिते। उनले फाइनलमा प्रहरीका मुकेश पण्डितलाई हराए।

पुरुष ६५ केजी फाइनलमा आर्मीका राजेश चौधरीले मुवाँथाईका फुर्देनी शेर्पालाई पन्छ्याउदै शीर्ष स्थान हात पारे। पुरुष ७० केजीमा आर्मीका सनीसिंह सुनुवारले बाजी मारे। उनले फाइनलमा भाटभटेनीका सविन दिमहुमलाई निराश पारे।

पुरुष खुला तौल समूहमा रेजका कोशिष श्रेष्ठ च्याम्पियन बने। फाइनलमा कोशिषले एपिएफका भुपेन्द्र शाहको चुनौती समाप्त पारे।

महिला ६५ केजीमा एपिएफकी विनीता थापा मगरले फाइनलमा आर्मीकी मन्जु विकलाई पन्छ्याउदै स्वर्ण चुमिन्। महिला खुला तौल समूहमा आर्मीकी विन्दु पुन पहिलो भइन्। फाइनलमा विन्दुले एपिएफकी जयन्ती श्रेष्ठलाई हराइन्। महिला ६० केजीमा एपिएफकी निशा विक पहिलो भइन्। फाइनलमा निशाले मेन डोजोकी सुस्मिता शाहीलाई पराजित गरिन्।

महिला ५० केजीमा एपिएफकी सन्जु माया थिङले स्वर्ण जितिन्। सन्जुले आइकेकेएफकी करिश्मा कार्कीलाई हराइन्। महिला ५५ केजीमा प्रहरीकी रिता ठकुल्लले फाइनलमा एपिएफकी विद्या गुरुङमाथि जित हात पार्दै पहिलो भइन्।

विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्व सांसद मदनबहादुर अमात्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक मिनकृष्ण महर्जन, आयोजक ललितपुर ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

तीनदिने प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा १ सय २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रो हुने दुई खेलाडीले समान ८-८ हजार नगद पुरस्कार प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell