PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आस्था राउत प्रकरणपछि विमानस्थलमा प्रहरीलाई डिआइजीको ब्रिफिङ : 'गल्ती नगरेसम्म मात्र म तपाईंहरुको पक्षमा नत्र कसैलाई छाड्दिन'



पहिलोपोस्ट

आस्था राउत प्रकरणपछि विमानस्थलमा प्रहरीलाई डिआइजीको ब्रिफिङ : 'गल्ती नगरेसम्म मात्र म तपाईंहरुको पक्षमा नत्र कसैलाई छाड्दिन'

काठमाडौं : केही दिनदेखि गायिका आस्था राउतसँग जोडिएको प्रकरणले मिडियादेखि सामाजिक सञ्जालसम्म तताएको छ। आइतवारमात्र जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई पक्राउ गर्न अनुमति दिइसकेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले आइतवार नै गायिका राउतविरुद्ध अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएको थियो।

पछिल्लो समय प्रहरी पटकपटक विवादमा तानिएको छ। कमेडियन प्रनेश गौतम एवं र्‍यापर भिटेन पक्राउ प्रकरणमा मिडियादेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरीविरुद्ध आवाज उठाएका थिए। तर, राउतको हकमा प्रहरीले विमानस्थलको सुरक्षा जाँच गर्ने कक्षको सिसिटिभी फुटेज सार्वजनिक गर्‍यो। त्यसपछि आस्था प्रस्तुत भएको शैलीमाथि टिका टिप्पणी भए।

सँगसँगै प्रहरीका तल्लो तहका कर्मचारीका व्यवहारकै कारण प्रहरी पटकपटक बदनाम हुँदै आएकोबारे पनि चर्चा भयो।

यसैबीच आइतवार महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले विमानस्थलमा खटिएका प्रहरीहरुलाई बोलाएर ब्रिफिङ गरेका छन्। उनले ड्युटीमा खटिने प्रहरीलाई आम जनतासँग शिष्ट व्यवहार गर्न निर्देशन दिएका हुन्।

'प्रहरीले आफ्नो बोली व्यवहारमा सुधार गर्नै पर्छ। यस्ता प्रकरणहरुमा प्रहरीको गल्ती देखिदैन भने त म तल्लो वा माथिल्लो दर्जा भन्दिन, प्रहरीकै पक्षमा हुन्छु। तर, प्रहरीको गल्ती देखिए म तपाईंहरुलाई नै छाड्दिन',  ब्रिफिङमा बसेका एक प्रहरीले डिआइजीलाई उद्धृत गरे।

डिआइजी पोखरेलले कार्यालयको जिम्मेवारी सम्हाले यता तल्लो तहका प्रहरीको मनोबल अभिवृद्धि गर्नका लागि सँगै खाना खाने नियमसमेत लागू गरेका छन्। आस्था राउत प्रकरणपछि तल्लो तहका प्रहरीको बोली, व्यवहारमा उठेको प्रश्नका कारण उनीहरुको मनोबल खस्किएको खण्डमा मनोबर वृद्धि गराउन उनले ब्रिफिङ् राखेका हुन्।

बिफ्रिङमा डिआइजी पोखरेलले आफू सधैं पारदर्शी र प्रहरीको तहअनुसार भेदभाव नगर्ने बताउँदै भने,'तपाईंहरु पनि जनताका लागि पारदर्शी र शिष्ट हुनुपर्छ।'

प्रहरी भित्रका कसैले पनि अनैतिक कारोबार गर्ने, सेवाग्राहीलाई दुख दिने, गैर कानुनी क्रियाकलापमा संलग्न भएको पाइए आफूले तह तप्का नहेरी कारवाही गर्ने चेतावनी समेत दिए।

आस्थाले बुधवार दिउँसो कार्यक्रमका लागि झापाको भद्रपुर जाँदा त्रिभुवन विमानस्थलमा महिला प्रहरीले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। उनले फेसबुक लाइभमार्फत् आक्रोशित हुँदै ती महिला प्रहरीलाई चेतावनी दिएकी थिइन्।

भद्रपुर हुँदै उनी सिक्किम जाँदै थिइन्। उनले प्रहरीले आफूलाई 'तँ' सम्बोधन गरेको र हात हाले दुर्व्यवहार गरेकोमा आपत्ति जनाएकी थिइन्।

तर प्रहरीले विमानस्थलमा महिला प्रहरीको कुनै पनि गल्ती नदेखिएपछि आस्था राउत प्रति कारबाही अगाडी बढाएको हो। गायिका राउतले आरोप लगाएकी महिला प्रहरीले राउतविरुद्‍ध उजुरी समेत दिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell