PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

‘किड्डी फेस अफ दि इयर २०२०':  सात प्रतिस्पर्धी, पाँचलाई उपाधि!



पहिलोपोस्ट

‘किड्डी फेस अफ दि इयर २०२०':  सात प्रतिस्पर्धी, पाँचलाई उपाधि!

काठमाडौं : काठमाडौंमा शनिवार बालबालिकाको सौन्दर्य प्रतियोगिता आयोजना भयो। 'किड्डी फेस अफ दि इयर'को पाँचौ संस्करणमा बालक तथा बालिकातर्फबाट तीन शीर्ष विजेता चुनिए।

कार्यक्रमको रोचक पक्ष त के रह्यो भने बालिकातर्फ २५ जनाको सहभागिता रहेको कार्यक्रममा बालकतर्फ जम्मा ७ को सहभागिता जनाएका थिए। अझै रोचक त ती सातजना मध्य पाँचजनाले विविध उपाधि हात पारे।

कार्यक्रममा ९ देखि १४ वर्षसम्मका बालबालिका सहभागिता रहेको थियो। जसमध्ये बालक तथा बालिका दुबैतर्फ सिनियर र जुनियर विजेता घोषणा गरिएको थियो।  

बालिकाको समूहबाट टाइटल उपाधिका लागि सिनियर र जुनियर कोटा छुट्याइयो। तर, त्यही नियम बालकहरुको हकमा भने लागू गरिएन। सिनियरतर्फको शीर्ष उपाधि आगमन थापालाई दिइयो तर जुनियरतर्फ शीर्ष विजेता नै छानिएन।

अन्य उपाधि भने प्राय सहभागी सबैलाई 'बाँडिएको छ। सहभागी सात जना बालकमध्ये एकलाई शीर्ष उपाधि, दुईजनालाई सिनियरतर्फ पहिलो र दोस्रो रनर्स अप र दुईलाई जुनियरतर्फ पहिलो र दोस्रो रनर्स अपको उपाधि दिइएको छ।   

बालिकाको हकमा भने सिनियर जुनियर दुबैतर्फ शीर्ष विजेता छानिएका छन्। २५ जना बालिकामध्ये ६ जनालाई टाइटल दिइएको छ।

उपत्यकाका विभिन्न १६ विद्यालयका सय बालबालिकाले आवेदन दिए पनि फिनालेका लागि ३२ जनाको चयन भएको भनिएको छ। तर, आयोजकले कुनै मापदण्ड तय गरेको थिएन? वा बालक र बालिकाको हकमा किन अस्वभाविक फरक सङ्ख्यामा फाइनलिस्ट तय गरियो?

यी प्रश्नको जवाफ दिन मानेनन् आयोजक राज फैंजु। सुरुमा फोन उठाएर प्रश्न सुनेपनि पछि सम्पर्क गर्न खोज्दा उनले पटकपटक फोन कल रिजेक्ट गरे। 

आयोजकले जारी गरेको विज्ञप्तीमा तीनजना शीर्ष विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने जनाइएको छ। तर, के र कस्तो प्रतियोगिता भन्ने बारे कुनै जानकारी उल्लेख गरेको छैन। त्यस्तै विजेता बालबालिकाले 'विभिन्न आकर्षक पुरस्कार' प्राप्त गर्ने भनिए पनि शीर्ष विजेताको समेत पुरस्कारबारे जानकारी दिइएको छैन। 

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट नामक संस्थाबाट यस्ता कार्यक्रम आयोजना गर्दै आएका छन् फैंजु। बालबाललिकाको व्यक्तित्व विकास, क्षमता अभिवृद्धीका लागि कार्यक्रम आयोजना गर्ने जनाउँदै आएका छन्।

दुई महिना अघिमात्र सोही संस्थाले 'लिटल प्रिन्स एण्ड प्रिन्सेस' नामक बालबालिकाकै सौन्‍दर्य प्रतियोगिता आयोजना गरेको थियो। संस्थाले किशोर किशोरी र युवा युवती केन्द्रित कार्यक्रहरु पनि आयोजना गर्दै आएको छ।

प्रतियोगिताको कोरियोग्राफी आयोजक रेडियन्टका प्रबन्ध निर्देशक समेत रहेका राज फैजुकी श्रीमती श्रीषा बैदार फैजुले प्रतिस्पर्धी बालबालिकाका लागि ड्रेस डिजाइन गरेकी हुन्। श्रीषा सन् २०१५ की मिस काभ्रे पनि हुन्। राज झैंजु भने मिस काभ्रेका संस्थापक एवं आयोजक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell