
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबले सरस्वती युथ क्लबमाथि फराकिलो जित निकालेको छ। पछिल्ला खेलहरुमा प्रदर्शन सुधार्दै लगेको फ्रेन्ड्सले सरस्वतीलाई ४-१ को फराकिलो गोल अन्तरले हराएको हो।
फ्रेन्ड्सको जितसँगै सरस्वती क्लब जारी लिगको लगातार सातौं खेलमा पनि जित निकाल्न सकेन।
एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा फ्रेन्ड्सले खेलको पाँचौं मिनेटमै अग्रता लिएको थियो। वाग्नर डो काम्रोको पासमा उत्तम राईले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए। गोलसँगै फ्रेन्ड्सले शुरुबाटै खेलमा दवाब बनाउन सफल रह्यो। खेलको २४ औं मिनेटमा फिलिप डि सौजाले प्रहार गरेको उत्कृष्ट फ्रिकिकलाई साउलो डि अकिनोले टच गर्दै गोलमा परिणत गरे। पहिलो हाफमा २-० ले अगाडि रहेको फ्रेन्ड्सले दोस्रो हाफमा पनि २ गोल नै थप्यो।
खेलको ७० औं मिनेटमा वाग्नर डि काम्रोले गोल गरे। उनको गोलसँगै फ्रेन्ड्स ३ गोलले अगाडि रह्यो। खेलको ८६ औं मिनेटमा उत्तम राईले ब्यक्तिगत दोस्रो गोल गर्दा फ्रेन्डस् क्लबले सरस्वती क्लबमाथि सहज जित हात पार्यो। यता सरस्वती क्लबका लागि ८० औं मिनेटमा कजिम बुसरीले सान्त्वना गोल फर्काए।
जितसँगै ८ अंक हात पारेको फ्रेन्ड्स तालिकाको नवौं स्थानमा उक्लिएको छ। पछिल्ला खेलहरुमा राम्रो प्रदर्शन गरिरहेको फ्रेन्ड्स क्लबले यसअघिको खेलमा उपाधिको होडमा रहेको थ्री स्टार क्लबलाई हराएको थियो भने साविक विजेतासमेत रहेको मनाङलाई बराबरीमा रोकेको थियो।
आजै भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले विभागिय टोली एपिएफमाथि ३-२ को जित निकाल्दै पाँचौं स्थानमा उक्लिएको छ।
भोलि लिगका २ खेल हुनेछन्। पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले संकटा क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा च्यासल युथ क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुने छन्। भोलि ब्रिगेड ब्वाइज र संकटाबीचको खेल एन्फा कम्प्लेक्समा हुनेछ भने च्यासल र आर्मीबीचको अर्को खेल दशरथ रंगशालामा हुनेछ।