PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तपाईँहरु पनि जोगिनुस् है! बजारमा भटाभट भेटिँदैछ नक्कली नोट



सविन ढकाल

तपाईँहरु पनि जोगिनुस् है! बजारमा भटाभट भेटिँदैछ नक्कली नोट
फाइल फोटो

कति नोट थिए?

प्रहरीको प्रश्नमा उनीहरुले जवाफ थियो - ४३ वटा।

तर, प्रहरीले शरीर खानतलासी गर्दा ३१ वटामात्र फेला पार्‍यो।

महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले दुई जनालाई नक्कली नोटसहित पक्राउ गरेको थियो। बारा निजगढका २७ वर्षीय अनुस थापा मगर र २२ वर्षीय रवि आले मगर विशेष सूचनाको आधारमा पक्राउ परेका थिए। प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकी चोकबाट आइतवार उनीहरुलाई नियन्त्रणमा लिएको हो।

उनीहरुको साथबाट प्रहरीले एक हजार दरका ३१ वटा नोट फेला पारेको हो। ४३ वटा नोटमध्ये बाँकी १२ वटा हजारका नोट कहाँ गयो त?

सुरुमा प्रहरीलाई जवाफ दिएनन् उनीहरुले। तर, पछि भने नखुली सुख पाएनन्। उनीहरुको जवाफ थियो - रेष्टुरेष्टमा खर्च भयो?

कहाँको रेष्टुरेष्ट? प्रहरीले फेरी प्रश्न तेर्साए।

ठमेल।

प्रहरीले नियन्त्रणमा लिएका उनीहरुले नक्कली नोटलाई सक्कली सरह रेस्टुरेन्टमा खर्चिएका रहेछन्। यसको मतलब उनीहरुबाट रेस्टुरेन्टले लिएको रकम तपाई हाम्रो खल्तीमा नआउला भन्न सकिँदैन।

शतर्क!

त्यसो त प्रहरीको अनुसन्धानमा उनीहरुले नक्कली नोट ट्याक्सीवालालाई समेत दिएको खुल्छ।

'रातको समय धेरै कारोबार हुने ठाँउमा धेरैले ध्यान दिएको हुँदैनन्। त्यसैले कुन सक्कली र नक्कली छुट्याउन गाह्रो हुन्छ। उनीहरुले यसैको फाइदा उठाएको देखिन्छ,' महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी रुगम कुँवरले भने।

प्रहरीले बरामद गरेको ३१ वटा नोटमध्ये २० वटामा एउटै नम्बर छ। बाँकी १० वटामा अर्को नम्बर देखिन्छ। यसैको आधारमा उनीहरुले नक्कली नोट फोटोकपी मेसिनमाबाट तयार गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ।

'नोटको क्वालिटी देखिएको छ। तर, फोटोकपी मेसिनकै प्रयोग भएको हो भन्ने हो,' डिएसपी कुँवरले भने।

उनीहरु शनिवार मात्र बाराबाट काठमाडौं आएको प्रारम्भीक अनुसन्धान देखिएको छ। त्यसैले नक्कली नोट कहाँबाट आयो भन्ने खुलिसकेको छैन। प्रहरीको बयानमा भने उनीहरुले आफूले सापटीको रकम पाएको दावी गरेका छन्। एक व्यक्तिले शनिवार दिउँसो तिलगङ्गा नजिकै बोलाएर ती नोट दिएको उनीहरुले जानकारी दिएका छन्।

गत पुस २३ गते प्रहरीले ४ लाख १३ हजार रुपैयाँको नक्कली नोट सहित सल्यान शारदा नगरपालिकाका २९ वर्षीय कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका १३ का बल बहादुर राना मागर, डोटी पूर्वी चौकी गाउँपालिका घर भएका २४ वर्षीय आर्यान खड्का र धनकुटा छत्र जोरपाटी गाउँपालिका ३ का छत्रबहादुर लिम्बुलाई नियन्त्रणमा लिएको थियो।

उनीहरुलाई नक्कली नोट सस्तोमै बिक्री गर्न लाग्दा सामाखुसीबाट पक्राउ गरिएको थियो। उनीहरुले घरमा नै मेसिन राखेर नोट छाप्ने गरेको अनुसन्धानमा देखिएको थियो। तर, उनीहरुबाट कति नोट बाहिर गयो भन्ने प्रहरीले नै पत्ता लगाउन सकेको छैन।

पछिल्लो समय बजारमा नक्कली नोटको बिगबिगी बढेको देखिन्छ। आइतवार कलंकीबाट पक्राउ परेका उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। नक्कली नोट बजारमा गएकाले नोटको कारोबार गर्दा ध्यान दिन समेत प्रहरीले अनुरोध गरेको छ।

तपाईँहरु पनि जोगिनुस् है।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell