PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सांसद बिडारीले भने, ‘खुल्लामञ्च खुल्ला गरेर त्यहाँ जनतालाई विरोध गर्न दिनुपर्छ’



पहिलोपोस्ट

सांसद बिडारीले भने, ‘खुल्लामञ्च खुल्ला गरेर त्यहाँ जनतालाई विरोध गर्न दिनुपर्छ’

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद रामनारायण बिडारीले टुँडिखेल अतिक्रमणमा परेको भन्दै त्यसलाई पहिला जस्तै खुल्ला बनाउनु पर्ने माग गरेका छन्। राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै उनले टुँडिखेल जनताको पैतृक सम्पत्ति रहेकाले यसलाई जनताले उपभोग गर्न पाउने बताएका हुन्।

प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले टुँडिखेलको महत्व रहेको र कुनै बेला रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको टुँडिखेल अहिले साँघुरिदै गएको उनको भनाइ छ।

उनले भने, ‘जंगी अड्डा विस्तारै सर्दैसर्दै शहीदगेट आइपुग्यो। अहिले जनताले त्यहाँ उपयोग गर्न पाउँदैनन्। त्यहाँ सैनिक परेड खेलिन्छ। रत्नपार्क र खुल्लामञ्च कब्जा गरियो। पसल बनाइयो, टहरा बनाइयो भाडामा दिइयो। बसपार्क चलाइयो। यो बेठीक भयो।’

बसपार्क हटाएर भ्युटावर बनाउने नाममा टुँडिखेलको उत्तर तिरको भाग ठेकेदारले ओगटेर राखेको भन्दै बिडारीले त्यसरी सार्वजनिक सम्पत्ति ओगटेर राख्न दिने व्यक्ति को हो? भन्दै प्रश्न समेत गरे।

 

‘कसले ठेक्का दियो। किन ठेक्का दियो। कति पैसा खायो। किन त्यहाँ जनतालाई रोकियो। त्यो कुन मन्त्रीले गर्‍यो? त्यो मन्त्री कुन पार्टीमा छ, कहाँ हल्लिदैछ? त्यसलाई खोज्न पर्‍यो,’ उनले भने।

टुँडिखेल सेनाको नियन्त्रणमा रहेकाले त्यहाँ हुँदै आएका चाडपर्व रोकिने अवस्थामा पुगेको भन्दै उनले नेवार सभ्यतासँग जोडिएको टुँडिखेल संरक्षणमा सरकारले ध्यान दिनुपर्ने माग राखे।

टुँडिखेल पहिला जस्तै खुल्ला बनाएर जनताले गएर विरोध गर्न सक्ने स्थान बनाउन माग गर्दै उनले भने, ‘मैले भाषण कहाँ गर्नै? जनताले विरोध कहाँ गर्ने? एउटा खुल्लामञ्च थियो। त्यो पनि खर्लप्पै?’

खुल्लामञ्च अर्कैको कब्जामा रहेकाले नै अहिले जनता माइतीघर मण्डल पुग्ने गरेको बताउँदै उनले सरकारले खुल्लामञ्च अतिक्रमण हुँदाहुँदै ध्यान नदिएको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell