PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेहरुलाई बिहे गर्न चुनौती दिने चर्चित गंगूबाईको स्टोरी : आलियामार्फत् पर्दामा उतार्दैछन् भंसाली



पहिलोपोस्ट

नेहरुलाई बिहे गर्न चुनौती दिने चर्चित गंगूबाईको स्टोरी : आलियामार्फत् पर्दामा उतार्दैछन् भंसाली

सन् १९६० को दशक। मुम्बईको कमाठीपुरामा वेश्यालय चलाउँथिन् गंगूबाई। सरकारी कागजहरुमा त उनको नाम गंगा हरजीवनदास थियो। स्कूल पढुन्जेल साथीहरुले गंगा भनेरै बोलाउँथे। जसै जन्मथलो, गुजरातको काठियावाडी छाडेर मुम्बई आइन् तब उनको परिचय फेरियो।

प्रेम सम्‍बन्धले गंगालाई गुजरातबाट मुम्बई पुर्‍यायो। उनको परिचय बदल्यो। प्रेम नै कारण थियो जसले उनको परिचय र ठेगानासँगै जिन्दगीलाई नै कोल्टे फेरायो।

गुजरातमा जीवन मस्त बितेकै थियो। खानदानी परिवार, सबै पढे लेखेका। उनका बुबा अनि काकाहरु गाउँका मुद्दामा बलियो गरी बहस गर्ने क्षमता राख्थे। त्यसैले उनले पनि चाहे जसरी पढ्न पाइन्। छोरी भएकै कारण घरमा थुनिएर बस्नु परेन।

तर, जब रमणीक लालसँग प्रेममा परिन्, तब सबैकुरा उस्तै रहेन। उनका प्रेमी गाउँमै बस्दै आएका एक लेखन्दास थिए। समाजलाई विवाहपूर्व सम्बन्ध स्वीकार्य हुने जमाना थिएन। त्यसैले विवाहका लागि घरमा कुरा भयो। उनको परिवारले पनि त्यो प्रेम स्वीकारेन। र, उनी भागिन्। प्रेमीसँग बम्बई लागिन्, सपनाको शहर।

सपना थियो विवाह गर्ने। शहरमा आफ्नै संसार सजाउने। तर, प्रेमी श्रीमानमा रुपान्तरित हुनै पाएनन्। रमणीक लालले गंगालाई वेश्यालयमा बेचिदिए। जब उनी त्यहाँबाट निस्कन पाइनन् अनिमात्र थाहा पाइन् प्रेमको नाममा धोका पाएको कुरा।

घर फर्कने अवस्था बाँकी रहेन। त्यही यथार्थ स्वीकारिन्। अघि बढिन्।

उनीहरुले गर्ने पेशालाई 'धन्दा' भनिन्थ्यो। बिस्तारै उनी धन्दाको प्रमुख बनिन्। कमाठीपुरा रेड लाइट एरियाको व्यवस्थापन गर्न थालिन्। यसरी नै उनी गंगाबाट गंगु बनिन्। र गंगुबाट 'म्याडम' बनिन्।

हठी स्वभावकी गंगूबाईको नेतृत्वदायी क्षमता कोठीमा मात्र सीमित भएन। उनले नगर पञ्चायतमा उम्मेद्वारी दिइन् र जितिन् पनि। र, बनिन् गंगूबाई कोठेवाली।

कोठीवालीहरुको नामभन्दा ज्यादा बदनामी थियो। तर, गंगूबाईले तरिका बदलिन्। उनले कोठी चलाउने अन्य 'म्याडम'हरुको प्रभाव हटाइन्। बीबीसी हिन्दीका लागि अम्रुता दुर्वेले गरेको रिपोर्टमा लेखेकी छिन् - उनी कोठीमा कार्यरत् महिलाहरुका लागि आमा समान थिइन्। बाध्यता र स्वेच्छाले कोठीमा काम गर्नेहरुको व्यवस्थापन र झुक्काएर कोठीमा ल्याइएकालाई घर फर्काउनु उनको महानता थियो।

उनले शोषित महिलाको उद्धार र शोषकविरुद्ध सजायमा पनि सक्रिय रहेका काम गरिन्।

महिला सशक्तिकरण र अधिकारको माग गर्दै आयोजित र्‍यालीमा उनले यौन व्यवसायका लागि ठाउँको व्यवस्थापनको माग गरेको भाषणले देशव्यापी चर्चा भयो।

उनको व्यवहारले कोठीमा प्रवाह गरेको सकारात्मक प्रभावकै कारण सन् १९७० को दशकमा उनी निकै चर्चित बनिन्। उनको ड्रेस कोड बनेको सुनौलो फेर भएको सेतो सारी, सुनौलो टाँक भएको सेतै ब्लाउज र सुनौलो रङकै चश्माको पनि खुब चर्चा हुन्थ्यो।

कमाठीपुरामा भएको एक घटनापछि भने गंगूबाईको दबदबा बढ्यो।

एउटा पठानले कोठीमा आएर जबरजस्ती गर्‍यो। त्यो पठानसँगको घम्साघम्‍सीमा गंगूबाईलाई चोट समेत लाग्यो। पठानले पैसा पनि दिएन र पटकपटक दु:ख दिन आउनेक्रम पनि छाडेन। जसको नतिजाले गंगूबाईलाई एकपटक त अस्पतालसम्मै पुर्‍यायो।

पछि उनले उक्त पठानको बारेमा खोजी गरिन्। शौकत खान नामको त्यो मानिस अब्दुल करीम खान अर्थात् करीम लालाको ग्याङको केटा भएको पत्ता लगाइन्। माफिया डन लालाको सदस्य विरुद्ध कोही किन बोलोस्?

तर, गंगूबाई लालालाई भेट्न पुगिन्। र, घटानाको बेलिबिस्तार लगाइन्। उनले सोचेकी थिइनन्, ती अन्डर वर्ल्ड डनले उनको कुरा सुन्लान् भन्ने। तर, ध्यानपूर्वक सुने र गंगूको सूरक्षाको प्रतिवद्धता समेत जनाए।

भोलिपल्ट पुन: शौकत सान कोठीमा पुगेको थियो। तर, त्यसदिन उसको सेखी झर्‍यो। उसले कोठीमै कुटाई खायो।

घटना त्यतिमै सीमित भएन। माफिया डनले गंगूबाईलाई बहिनी बनाए। त्‍यसपछि त यी गुजराती म्याडमलाई कमाठीपुरामा कसले रोक्ने? कसले छेक्ने?

त्यसताका वरपरका स्कूल र विद्यार्थीहरुमा कोठीका कारण नकारात्मक असर परेको भन्दै कोठी बन्द गराउन आवाज उठिरहेको थियो। तर, ती कोठीभित्र रहरले पुगेका महिला आफ्नो देह व्यापार गर्दै थिएनन्। कोही घरविहीन भएर पुगेका थिए भने कोही घर भएर पनि सहज जीवन नभएकाहरु थिए। धेरैका लागि कोठी बाध्यताले पुर्‍याएको ठाउँ थियो। अनि धेरैले स्वेच्छाले अपनाएको पेशा पनि।

त्यहाँ भित्र ती महिला थिए जो आफ्नो लागि आवाज उठाउन डराउँथे। किनकि उनीहरु एक शब्द बोल्नु भनेको समाजको, परिवारको सय प्रश्नको सामना गर्नु थियो। त्यसैले कोठी बन्‍द गराउने विषयलाई लिएर बोलेनन्।

तर, गंगूबाई चुप बसिनन्। उनले उक्त मागको विरोध गरिन्। आफूले चिनेका नेताहरुको सहायतामा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुलाई भेट्न पुगिन्। उक्त भेट बारे कुनै औपचारिक दस्तावेज नभए पनि हुसेन जेदीले उनीहरुको भेट बारे आफ्नो पुस्तक 'माफिया क्वीन्स अफ मुम्बईमा' लेखेका छन्। पुस्तकमा जेन बोर्गेसको सह लेखन रहेको छ।

सोही पुस्तकमा आधारित फिल्म बनाउँदै छन् निर्देशक संजय लीला भंसालीले।

पुस्तकमा लेखिएको छ, 'गंगूबाईको सजग र स्पष्ट विचार सुनेर नेहरु पनि हैरान भएका थिए।'

बीबीसी हिन्दीले जनाए अनुसार नेहरुले उनलाई असल पति पाउन सक्ने क्षमता राख्दा राख्दै धन्दामा लाग्नुको कारणबारे सोधेका थिए। जवाफमा गंगूबाईले भनेकी थिइन्- यदि तपाईं मसँग विवाह गर्न सक्नु हुन्छ भने म यो धन्दा छाडिदिन्छु।

नेहरुले उनको कुरामा आपत्ती जनाएका थिए। उनले प्रष्ट पार्दै भनेकी थिइन्- नरिसाउनुस् प्रधानमन्त्री ज्यू, मैले त यति मात्र पुष्टि गर्न खोजेकी हुँ कि - सल्लाह दिन सजिलै हुन्छ, अपनाउन मुश्किल।'

उक्त भेटपछि प्रधानमन्त्रीले नै कोठी हटाउने विषयमा हस्तक्षेप गरे। र, त्यहाँको कोठी हटेन।

गंगूबाई काठेवालीको रियल लाइफ 'हिरोइजम'लाई रिलमा उतार्दै छिन् आलिया भट्टले। सन् २०२० को ११ सेप्टेम्बर रिलिज टार्गेट राखेको फिल्‍मको पहिलो पोस्टर पनि सार्वजनिक भइसकेको छ।

फिल्म निर्माणबारे किताबका लेखक हुसेन जेदीले भनेका छन्, 'भंसालीसँग पर्दामा यथार्थलाई दुरुस्तै उतार्ने खुबी छ। अब गंगूबाईको बारेमा पढ्नेहरुले उनको जीवनलाई दृश्यमा देख्नेछन्। महसुस गर्नेछन्।'

बाल्यकालमा अभिनेत्री बन्ने सपना देखेकी गंगूबाईको जीवनमाथि फिल्म बन्दैछ। उनको फिल्म र अभिनयप्रतिको रुची बारे ड्रेसअपले पनि बोल्ने बीबीसी हिन्दीमा जनाइएको छ। गंगूबाईको निधनपछि पनि उनको त्यही ड्रेस कोडसहितको तस्विर कोठीहरुमा झुण्ड्याइएको थियो। अब हेर्न बाँकी छ भन्सालीको कलामा यसलाई कसरी झल्काइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell