PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

धनचौरको धुलोबाट कखरा सिकेका बेदुरामको पिएचडी यात्रा, '१३ वर्ष जेलमा बास, जेलमै पढाई'



प्रकाश भण्डारी

धनचौरको धुलोबाट कखरा सिकेका बेदुरामको पिएचडी यात्रा, '१३ वर्ष जेलमा बास, जेलमै पढाई'

काठमाडौं : कुलेश्वरको जनमैत्री कलेजबाट पश्चिमतर्फ १० मिनेटको पैदलयात्रा पछि पुगिन्छ सुनारगाउँचोक। त्यहाँबाट बायाँ मोड्दै ओरालो झरेपछि देखिन्छ गणेश मन्दिर।

सानो मन्दिर नजिकै गुलाबी रंगको तीन तल्ले घर छ। यही घरको तेस्रो तल्लाको एउटा कोठाको कुनामा रहेको सोफामा बसेर खेस्रा कोरिरहेका छन् एकजना। काठको टेबलमाथि नोटकपी राखेर अझै थप्दैछन् उनी। चिसो ढाक्न बाक्लो ज्याकेटमा देखिन्छन् उनी।

तीनतिर सोफा र एकतिर स्टिलका तीनवटा दराज लहरै छन्। दराजभित्र किताब सजिएका छन्। दराजमाथि पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीका फोटो।

छेउमा केही सम्मानपत्र।

बेलाबेला फोनको घण्टी बज्छ। 'म सानो मिटिङमा छु' भन्दै कुराकानी सकाइरहेका छन्।

'ल कुरा थालिहालौँ' भर्खरै विद्यावारिधिबाट दीक्षित भएका नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसाल हामीसँग गफिन थाले। 'जबजको ऐतिहासिक विकासक्रम' शीर्षकमा ४ वर्ष लगाएर उनले यसै वर्ष पिएचडी गरेका हुन्। २०७५ मंसिरमा थेसिस सकेका उनी गत पुस ३ मा दीक्षित भए।

उनको अध्ययन पहिलो मार्क्सवादको उदय, विकास र प्रयोग, दोस्रो नेपालमा मार्क्सवादको प्रवेश र प्रयोग, तेस्रो जबजका अन्तरवस्तुको अध्ययनमा केन्द्रित छ।

धनचौरमा धुलोबाट अक्षर यात्रा

२०११ असार १५ गते अर्घाखाँचीको धनचौरमा जन्मिएका भुसालले माटोमै अक्षर चिने। २०१५ मा स्कुल खुलेको थियो। एक घण्टा हिँड्नुपर्ने। ५ सम्ममात्रै पढाई हुने भएकाले उनको पढाई रोकियो। उनका दाजु पिताम्बर भने फुपुको घरमा बसेर पढिरहेका थिए। पिताम्बरको संगत कम्युनिष्टहरुसँग भएछ। उनी भन्छन, 'त्यो बेला पुष्पलालले स्कुल खोलेर पढाउने अभियान चलाएका थिए। पुष्पलालका कार्यकर्तासँग भेट भएछ दाजुको। घर फर्किएपछि दाजु मास्टर हुनुभयो। ५ कक्षा पास भएका बसेका हामीलाई विद्यालय खोल्ने अभियानमा लगाउनु भो। २७ सालमा आन्दोलन गर्‍यौँ। २८ मा स्कुल माविमा बढुवा भयो। नाम :जनजागृति मावि।'

६ कक्षामा प्रथम भएपछि सिधै ८ कक्षा पढ्न थाले बेदुराम। देवराज भारले २०२७ मा पार्टीमा प्रवेश गराए उनलाई। पार्टीमा लागेपछि अर्घाखाँचीमा उनीहरुको समूहले बर्रे आन्दोलन चर्काए। आन्दोलन चर्किँदै गएपछि २०३० चैतमा पक्राउ परे। जेलबाटै एसएलसी दिने मौका पाए। अर्घाखाँचीमा पक्राउ परेका उनी ४ वर्ष त्यही जेलमा रहे। त्यहाँबाट उनीलगायत १० जनाको समूह काठमाडौँको सेन्टर जेल पुर्‍याए। र उनीहरुले जेलभित्रै एसएलसी पास भएको थाहा पाए। १० जनै पास भए। जेलमा रहँदै आइए, बिए हुँदै एमसम्म गरेका उनी एमए दोस्रो वर्ष पढिरहेका बेला २०४३ सालमा जेलबाट छुटेका थिए। पढ्ने काम त उनको छुट्ने जेलमा रहँदा लगातार पास भएका भुसाल जेलबाट छुटेपछि भने एक-एक विषयको परीक्षा दिएर एमए पास भए।

'जेलबाट छुटेपछि पार्टीको काममा बढी खटिनुपर्ने भयो पढने समय नहुने। त्यसैले एक-एक विषयको परीक्षा दिएर पास भएँ,' २०७२ सालमा मात्रै उनले पिएचडी सुरु गरे र चार वर्षमा पिएचडी पूरा भयो।

पिएचडी किन त?

'नेताले पढदैनन् भन्नेलाइ जवाफ दिन' उनी निर्धक्क देखिए, ' मलाइ कुनै संस्थामा गएर जागिर गर्नु छैन। अनुसन्धान गरेर पैसा कमाउनु पनि छैन। अब जे गर्ने हो राजनीतिमा गर्ने हो।'

राजनीति र जेल यात्रा

२०२७ सालमै भुसाल विद्यार्थी संगठनमा संगठित भइसकेका थिए। २०२९ मा पार्टीको सेल कमिटी सदस्य बने।

एकदिन देवराजले सोधे  - जाली फटाहले कतिको दुःख दिन्छन्?

उनले भने - दिन्छन्।

देवराजले फेरि सोधे - त्यसो भने जाली फटाहलाई मास्ने आन्दोलनमा लाग्ने त?

लाग्ने -उनले जवाफ फर्काए।

देवराज त्यो बेलाका सक्रिय कार्यकर्ता। त्यसपछि सशस्त्र आन्दोलन नै गर्ने सल्लाह भयो। आन्दोलनका लागि जाली फटाहका घरमा भएका पैसा र हतियार कब्जा गर्ने अभियान चलाए। उनी भन्छन्, 'त्यो बेलाका हुनेखानेले किसानलाई ऋण दिन्थे र पछि रकमको पछाडि शून्य थपेर तमसुक बनाउँथे हामीले ती तमसुकै च्यात्ने अभियान चलायौँ। हामी तिनीहरुलाई जाली फटाह भन्ने गर्थ्यौ।

यो आन्दोलन बर्रे आन्दालन भनेर चर्चित भएको भुसाल बताउँछन्। आन्दोलन चर्किँदै गएपछि उनीसहित १० जना २०३० चैत ३० गते पक्राउ परे। त्यहीँबाट उनको जेल यात्रा सुरु भयो। त्यो बेला पञ्चायतको समय। अर्घाखाँचीको जेलमा ४ वर्ष पढ्न लेख्न र साथीभाई भेट्न पनि पाएनन्।

एक दिन अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले अर्घाखाँचीको जेल निरीक्षण गरे। अञ्चलाधीशले निर्देशन दिए, 'पढ्न र आफन्त भेटन दिनु।' त्यसपछि जेलमै पढ्न पाए।

किताब साथीभाई र आफन्तले ल्याए। उनीलगायत सँगै १० जनालाइ काठमाडौँ आउने ठूलो रहर। कारण एउटै थियो काठमाडौँ गएपछि उच्च शिक्षा अध्ययन गर्न पाइन्छ। २०३६ सालमा जनमतसंग्रह भएपछि भने उनीहरुले सोचेजस्तै काठमाडौँ आउने वातावरण बन्यो। त्यतिखेर अरु सबै अन्दोनलका बन्दीलाई छोडिसकेको थियो हामीलाई पनि छोड्ने ठूलो दबाब परेको थियो। तर छोडेनन्। बरु जिल्लाका जेलमा सुरक्षा नपुग्ने भन्दै काठमाडौँ ल्याइयो।

काठमाडौँको जेल पढाइका लागि फलिफाप भएको भुसाल बताउँछन्। उनी भन्छन्, 'पढ्न मज्जैले पाएँ। काम नै के हुन्थ्यो र? पढ्ने त हो। जेजेको किताब पाए पनि पढने। काठमाडौँका जेलमा पढने परीक्षा दिने ब्यवस्था थियो।'

२०४३ सालमा काठमाडौँबाट छुटेका उनी घर गएनन्। लागे चितवनतिर। अनि भूमिगत बने।

भूमिगत कालमा गुल्मी अर्घाखाँची संयुक्त कमिटी सदस्य बनेका भुसालले पाल्पा रुपन्देही कमिटीमा रहेर पनि काम गरे। २०४७ मा तत्कालीन नेकपा मालेको कपिलवस्तु जिल्ला कमिटी सचिव बने। पार्टी नेकपा २०५७ मा एमालेसँग एकीकरण भएपछि केन्द्रीय विभागको सचिव भए। एमालेको नवौं महिधवेशनबाट पोलिटब्यूरो सदस्य बनेका उनी अहिले पार्टीको स्थायी समिति सदस्य छन्। २०५८ देखि जनआन्दोलन अवधिभर उनी राष्ट्रियसभा सदस्य भए। अहिले फेरि राष्ट्रियसभाको उम्मेद्वार बनेका छन्।

जेलबाट छुट्दा न बुवा भेटे न श्रीमती

बर्रे अन्दोलनमा एकजना पञ्चलाई कारबाही गरेको अभियोगमा पक्राउ परेका उनको तम्घासबाट जेलयात्रा सुरु भयो।

'श्रीमतीको कान भरिएछ बेदुराम अब कहिल्यै आउँदैनन्। बिचारी कलिली केटी पोइल गई। बिहे गरेको वर्ष नपुग्दै, म जेल उ पोइल‌…….,' बेदुराम रोकिए।

जेल हुँदै बुवा बिते। यस्तो पीडा परे पनि परिवर्तन आएकोमा खुसी छन् बेदुराम।

सिके प्रसाईँलाई जवाफ

२०४७ साल। राजनीति खुला हुँदै गयो। कांग्रेसका एक जना नेता सिके प्रसाईँले किताब लेखे। त्यसमा कम्युनिस्टले ६० वर्ष पुगेपछि गोली हान्छ लगायतका आरोप लगाए। बेदुरामलाई झोक चल्यो। पार्टीको कोही ठूलो नेताले यसको जवाफ दिए हुन्थ्यो जस्तो लाग्यो। तर कसले आँट गर्ने।  बेदुरामले नै लेखे 'सिके प्रसाईँलाइ जवाफ' पुस्तिका। त्यसले उनलाई लेखकको रुपमा चिनायो। जेलमा बस्दै पनि छद्म नाममै पनि लेख रचना छापेका थिए। चार पाँच वर्षको अध्यनपछि २०६५ मा दर्शनशास्त्रको परिचय पुस्तक प्रकाशन भयो। यसले निकै राम्ररी चिनायो। विभिन्न वादहरुको राम्रो अध्ययन पनि। जनताको बहुदलीय जनवादको दार्शनिक मान्यता, मार्क्सवादी दर्शन, नेपालमा प्रचलित चिन्तनहरु लगायतका पुस्तक प्रकाशन भए। त्यसो भने यस्तो ज्ञान राख्ने नेताको विचार पार्टीमा कतिको लागु हुन्छ? लागू हुनै पर्छ भन्ने छैन। सबैका विचार हुन्छन्। जसकोमा सहमति जुट्छ त्यसैको लागू हुन्छ। नेपालमा पुष्पलालले मार्क्सवादी विचार भित्र्याए प्रचण्डले सशस्त्र क्रान्ति अघि बढाए। भुसाललको बुझाइमा।

त्यसपछि दोस्रो बिहे…

लुम्बिनी कार्यक्षेत्र भयो। आमासँग लामो समयपछि भेट। सिद्दीनाथ ज्ञवाली पाल्पा जिल्ला कमिटीको सचिव। पाको नेता पनि। व्याहारिक पनि।

एक दिन ज्ञवालीले बेदुरामलाइ भने - कमरेड ब्या त गर्नुपर्छ? 

उनले भने -गर्ने र? झमेला हुन्छ नगरौँ होला।

ज्ञवालीले हौस्याए - होइन परिवार त चाहिन्छ। ब्या त गर्नुपर्छ।

बेदुराम पनि फकिए -गर्ने त? गरौँ न त।

त्यति बेलाको घटना विस्तार गर्दै उज्यालो देखिए भुसाल।

केटी खोजे ज्ञवालीले, बिहे भयो जनवादी। केटी पढेलेखेकी बुटवलमा स्कुलमा पढाउन लागिन श्रीमती। घर व्यवहार त्यहीँबाट चल्यो।

जेलमै केपी ‌ओलीसँग तीन वर्ष सँगै। केपी लुम्बिनीमा इञ्चार्ज भए। ओलीले छोरीको दिसापिसाव धोएको स्मरण गरे उनले। त्यहीँदेखि हो केपी ओलीलाई बेदुरामले नजिकबाट चिनेको।

महासचिव हुँदै झलनाथले जेलबाट छुटेपछि पाल्पामै सोधखोज गरेर भेटे। माधव नेपालले जेलबाट छुटेपछि स्वागत गरे।

पहिलेकाले पढ्न पाएनन्, अहिलेका पढ्दैनन्

नपढेका पुराना नेतालाई उनी सम्मान गर्छन्। कारण त्यस्तो समयमा कहाँ पढ्न पाइन्थ्यो। उनी भन्छन्, 'तर पनि परिवर्तनको चेतना त अदभूत हो नि। बरु अहिले कोही नपढेर राजनीतिमा लाग्छ भने त्यो अल्छी र अनपढ हो।'

पार्टीभित्र पनि उनलाई वैचारिक नेता भनेर चिन्न थालिएको छ। अरु अध्ययनहरुसँगै जबजमा पिएचडी गरेका छन्। अब उनलाई राजनीतिमै विचार सिद्दान्तबारे अध्ययन गर्ने मन छ। भन्छन्, 'जबजको सैद्धान्तिक विषयमा नेताहरुलाई पढाउँछु र विचार सिद्धान्तबारे थप अध्ययनमा लाग्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell