PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अनेरास्ववियूको जिल्ला नेतृत्वमा एक मात्रै महिला!



कुञ्जरमणि भट्टराई

अनेरास्ववियूको जिल्ला नेतृत्वमा एक मात्रै महिला!

काठमाडौं : गत पुस १८ गतेमात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्याथी संगठन अनेरास्ववियूले पूर्णता पायो। एकतासँगै पुस २७ र २८ गते अनेरास्ववियूको केन्द्रीय कमिटीको पहिलो बैठक बस्यो। उक्त बैठकको निर्णयपछि आइतवार मात्रै जिल्ला कमिटीको संयोजक र सह संयोजक तोकिएको छ।

जसअनुसार अनेरास्ववियू जिल्ला संयोजकमा खोटाङले मात्र महिला नेतृत्व पाएको छ। खोटाङमा जिल्ला संयोजक माया चाम्लिङलाई बनाइएको छ। चाम्लिङ पूर्व अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष हुन्। त्यहाँ सह-संयोजक भने साविकको अनेरास्ववियूका खेमराज राईले पाएका छन्। केन्द्रीय संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा अन्य सबै जिल्लाको नेतृत्व पुरुषलाई दिइएको छ।

कसरी गरियो बाँडफाट, महिलालाई किन दिइएन नेतृत्व?

एकताका क्रममा साविकको अनेरास्ववियुले ४२ तथा अनेरास्ववियु क्रान्तिकारीलाई ३५ जिल्ला संयोजक बाँडिएको छ। जिल्ला कमिटीको नेतृत्व टुंग्याउँदा साविकको दुई संगठनको अध्यक्षमध्ये एकलाई संयोजक र अर्को संगठन अध्यक्षलाईको सहसंयोजक बनाएको अनेरास्वियूका केन्द्रीय अध्यक्ष एन महरले जानकारी दिए। सो हिसाबले अघि बढ्दा महिलालाई नेतृत्व न्युन देखिएको उनको दाबी छ।

‘संगठनको एकताका क्रममा साविकको अखिल र अखिल क्रान्तिकारीका अध्यक्षहरुलाई नै नेतृत्वको जिम्मेवारी दिने गरी हामी अघि बढ्यौं। पहिलाको संगठनमा महिला नेतृत्व न्युन थियो’, महरले पहिलोपोस्टसँग भने, ‘अहिले एकताका क्रममा पनि पुरुष मात्रै नेतृत्वमा देखियो। यो विषयले हामीलाई ध्यानाकर्षण गराएको छ।’

दलमा पितृ सत्तात्मक सोच हावी नै छ

अनेरास्ववियूकी पूर्व विद्यार्थी नेतृ तथा प्रदेश सभा सदस्य रचना खड्का राजनीतिक पार्टीहरुमा अझै पनि पितृसत्तात्मक सोच नै हावी रहेको बताउँछिन्।

‘राजनीतिक दलमा पितृ सत्तात्मक सोच हावी नै छ। पुरुष सरह महिला राजनीतिमा आउन सक्दैनन् भन्ने हिसाबले नै संविधानमा महिलालाई विशेष व्यवस्था गरिएको छ। महिललाई राजनीतिमा ल्याउन योजनाबद्ध ढंगले लाग्नुपर्छ,’ उनले भनिन्।

पूर्व दुई संगठनको अध्यक्षमध्ये एकलाई संयोजक तथा अर्को अध्यक्षलाई सह-संयोजक बनाउने हिसाबले अघि बढेको कारणले पूर्व संगठनको नेतृत्वमा महिला नहुँदा यो अवस्था आएको उनले सुनाइन्। संगठनको एकताका क्रममा महिला नेतृत्वमा छैनन् भन्ने कुरा वेवास्ता गरिएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell