PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जनकपुर जाने तयारीमा रहेका महन्थ ठाकुर रोकिए



पहिलोपोस्ट

जनकपुर जाने तयारीमा रहेका महन्थ ठाकुर रोकिए

काठमाडौं : उपसभामुखको राजीनामा र नयाँ सभामुख चयनको प्रकृया अगाडि बढाउन आज दुई पटक संसद बैठक बस्ने भएको छ।

पहिलो बैठकमा उपसभामुख डाक्टर शिवमाया तुम्बहाम्फेले राजीनामा दिने बताइएको छ। उनको राजीनामापछि उमेरका हिसाबले सबैभन्दा पाका सांसद महन्थ ठाकुरको अध्यक्षतामा संसद बैठक संचालन हुनेछ। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिनेछन्।

आजै जनकपुर जाने तयारीमा रहेका राजपा नेता ठाकुरले संसद बैठकको अध्यक्षता गर्नुपर्ने भएपछि भ्रमण स्थगित गरेका छन्। ठाकुरले सपथ ग्रहण गरेपछि उनकै अध्यक्षतामा संसद बैठक बस्नेछ। ठाकुर राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुर जाँदै थिए। उनले आजको फ्लाइट क्यान्सिल गरेका हुन्।

दोस्रो बैठकले भने सभामुखको चयन प्रकृयालाई अगाडि बढाउने छ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले हिजो सिन्धुपाल्चोकका सांसद अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने एकमात्र निर्णय गरेको छ। सभामुख चयनको विषय पेचिलो हुँदा संसदमा पूर्णरुपमा गतिरोध उत्पन्न भएको थियो। बैठकको अध्यक्षता ठाकुरले गर्नेछन्।

सत्तारुढ दलका दुई अध्यक्षबीच सभामुख चयनका विषयमा लामो समय विमति कायम रहेकाले संसद बन्धक बनेको थियो। हिजो सचिवालय बैठकले उम्मेदवार तय गरेपछि आज सभामुख चयनको प्रकृया अगाडि बढ्न लागेको हो।

राजनीतिक दलहरुले आग्रह गरेमा माघ ८ गते नै सभामुख निर्वाचन गराउने तयारी सचिवालयको छ। सोभन्दा पछि सारिएमा माघ १० मा निर्वाचन हुनेछ। माघ ९ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनका कारण सोभन्दा पछि नै निर्वाचन गराउने तयारी दलहरुको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell