PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेसले सभामुखमा उम्मेद्‍वारी दिन्छ कि दिँदैन? यस्ता छन् दुई विकल्प



नेत्र तामाङ

कांग्रेसले सभामुखमा उम्मेद्‍वारी दिन्छ कि दिँदैन? यस्ता छन् दुई विकल्प

काठमाडौं : प्रतिनिधि सभाको सभामुखमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेसँगै उनको प्रतिस्पर्धी खोज्न थालिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सापकोटासँग भिड्न उम्मेद्वारी दिइने अनुमान धेरैले गरेका छन्। काँग्रेसका तर्फबाट संसदीय दलको सचेतक रहेकी पुष्पा भुसाललाई प्रतिपक्षी दलबाट उम्मेद्वार बनाइने बताइएको छ।

यद्यपि, काँग्रेसले यसको औपचारिक निर्णय गरिसकेको छैन। यस विषयमा 'पर्ख रे हेर' को नीति अपनाउने काँग्रेसले जनाएको छ।

यस्ता छन् काँग्रेसका विकल्प

संविधानत: प्रतिनिधि सभामा सभामुख र उपसभामुखमध्ये एक पद फरक दलको हुनुपर्छ। यसअघिका सभामुख कृष्णबहादुर महरा र उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे एकै दलका थिए। सभामुख महरा एक महिलासँग दुर्व्यवहार गरेको आरोप लागेपछि नैतिकताका आधारमा राजीनामा दिएसँगै पद खाली भयो। हाल उनी थुनामा रहेकाले नयाँ सभामुखको खोजी भएको हो।

उपसभामुख तुङ्बाहाङ्फेले राजीनाको प्रतिवद्धता जनाइसकेकी छिन्।

संविधानको धारा ९१ को व्यवस्था अनुसार प्रतिनिधिसभाका सभामुख तथा उपसभामुख फरक लिङ्गको हुनुपर्नेछ। यसरी सभामुख/उपसभामुख चयन गर्दा फरक दलको हुनुपर्ने व्यवस्था ९१(२) ले गरेको छ।

संविधानको धारा ९१(२) मा भनिएको छ ‘उपधारा १ बमोजिम निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ।’

यदि प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन बाधा नपर्ने व्यवस्था संविधानमा छ।

यस्तो अवस्थामा सभामुख र उपसभामुख चयनमा नयाँ प्रक्रिया शुरु भएकोले यसमा काँग्रेससँग दुई विकल्प रहेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 'अहिले निर्वाचनको सेड्युल पनि केही आएको छैन। काँग्रेसले यी विकल्पमा रहेर आफ्नो निर्णय लिन्छ,' प्रवक्ता शर्माले भने।

सभामुख वा उपसभामुख पाए पर्दैन उम्मेद्वारी

संविधानले तय गरेको व्यवस्थाअनुसार नेकपा चलेमा सभामुखमा आफ्नो उम्मेद्वारी नदिने काँग्रेसले तयारी गरेको छ। यो काँग्रेसको पहिलो विकल्प हुनेछ। यसअघि पनि काँग्रेसले सभामुखमा उम्मेद्वारी दिएको थिएन। महरा शान्ति प्रक्रियामा योगदान पुर्‍याएको व्यक्ति भन्दै काँग्रेसले उम्मेद्वारी दिएको थिएन। यद्यपि, उपसभामुखमा भने भुसाललाई नै उम्मेद्वार बनाइएको थियो।

सभामुखमा नेकपाका सापकोटा उम्मेद्वार बन्ने पक्कापक्की भएको छ। यस्तो अवस्थामा काँग्रेसलाई नेकपाले उपसभामुख पद छाडिदिन सक्छ। 

नेकपा संविधानत: नचलेको खण्डमा दुबै पदमा काँग्रेसले उम्मेद्वारी दिने जनाएको छ। निर्वाचनको कुनै तालिका आएपछि काँग्रेस केन्द्रीय समितिले यसबारे निर्णय लिने प्रवक्ता शर्माले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell