PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सरकारलाई सांसद सिवाकोटीको प्रश्न : मेडिकल कलेजहरुलाई सम्बन्धन दिन ढिलाइ किन?



पहिलोपोस्ट

सरकारलाई सांसद सिवाकोटीको प्रश्न : मेडिकल कलेजहरुलाई सम्बन्धन दिन ढिलाइ किन?
राष्ट्रिय सभा सदस्य हरिचरण सिवाकोटी।

काठमाडौं : राष्ट्रिय सभा सदस्य हरिचरण सिवाकोटीले मेडिकल कलेजहरुलाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमवारको राष्ट्रिय सभा बैठकमा सदस्य सिवाकोटीले भौतिक पूर्वाधार निर्माणका सम्पूर्ण काम पुरा भएपनि सम्बन्धन नपाएको भन्दै गुनासो गरे। मनमोहन मेडिकल कलेजले लामो समयसम्म पनि सम्बन्धन नपाएको बताउँदै सिवाकोटीले ३६ सय जनताको सेयर रहेको उक्त कलेजलाई सम्बन्धन दिने कुरामा सरकार मौन रहेको बताए।

झापाको बी एण्ड सी अस्पतालमा सुविधा सम्पन्न भवनहरुको निर्माण सम्पन्न भइसक्दा पनि किन सम्बन्ध नपाएको भन्दै गुनासो समेत गरे।

उनले भने, ‘मेडिकल कलेजहरुलाई किन सम्बन्धन दिन सकेका छैनौँ। सरकारले कलेज बना भन्छ, कलेज बनाउँछन्, सबै पूर्वाधार तयार हुन्छन् तर ५, ६ वर्षसम्म सम्बन्धन पाएका छैनन्। सम्बन्धन दिने कुरामा सरकार मौन बसेको छ। पूर्वाधार राम्रो छ तर सरकारले वर्षौँसम्म पनि सम्बन्धन दिन सकेको छैन। किन?’

हरेक वर्ष कलेजहरुले राजस्व बुझाउँदै आएको भएपनि सरकारले सम्बन्धन दिने कुरामा मौनता कायम गरेको उनको आरोप छ। ठूलो संख्यामा नेपाली विद्यार्थीहरु बंगलादेश, पाकिस्तान तथा चीन लगायतका मुलुकमा मेडिकल शिक्षा अध्ययनका लागि जाने गरेको उनले उल्लेख गरे।

सिवाकोटीले ठूल्ठूला भवन निर्माण भएपनि सम्बन्धन पाएर पढाई सञ्चालन नहुँदा मेडिकल कलेजहरु मसानघाट जस्ता भएको उनको भनाइ छ।

सांसद नन्दा चपाईंले देशको मेरुदण्डका रुपमा रहेका उद्योगहरुको सञ्चालन गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन्।

उनले भनिन्, ‘उद्योगहरुको सञ्चालन, मजदुरहरुको व्यवस्थान, ज्याला मजदुरीको भुक्तानीका लागि सरकारको ध्यान जान जरुरी छ। वीरगंज चिनी कारखाना बन्द भएको अवस्थामा सरकारले चाँडै सञ्चालन गर्ने भनेको थियो। तर अहिलेसम्म सञ्चालन हुन सकेको छैन। के प्रगति भइरहेको म बुझ्न चाहान्छु।’

सांसद तारादेवी भट्टले सरकारले संघीयता कार्यान्वयनमा दतारुकता नदेखाएको आरोप लगाइन्। तीन वटा तहमा सुविधाजनक बहुमतका साथ सरकार सञ्चालन भएपनि तालमेल भने हुन नसकेको उनले बताइन्।

‘अख्तियारले स्थानीय तहहरुमा बढी भ्रष्टाचार हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ। डोजर चलाएर प्राकृतिक स्रोतको दोहोन भएको देखिन्छ। क्रसर उद्योगहरु अनाधिकृत रुपमा सञ्चालनमा छन्। गुण्डा शैलीमा मान्छे मार्ने क्रम कहिले रोकिने हो? सरकारलाई प्रश्न गर्न चाहन्छु,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell