PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

उक्लिँदै गरेको सेयर आज एक्कासी किन ओरालो?



पहिलोपोस्ट

उक्लिँदै गरेको सेयर आज एक्कासी किन ओरालो?

काठमाडौं : केही दिनयता निरन्तर बढिरहेको सेयर बजारमा सोमवार ब्रेक लागेको छ। बैंकिङ प्रणालीबाट तरलता हराउन थालेपछि त्यसको प्रभाव बजारमा परेको हो।

विश्लेषकहरू निरन्तर सूचक बढेका कारण 'करेक्सन' आएको बताउँछन्। बजार फराकिलो अन्तरले घटे पनि कारोबार रकम भने उल्लेख्य छ। दिनभरीमा एक अर्ब ९७ करोड रूपैयाँको किनबेच भएको छ।

अघिल्लो दिन ३४ अंकले बढेर सूचकले १३४२ अंकलाई छोएको थियो। सोमवार पनि केही समय बढेर बजार १३४२ अंकसम्म पुगेको थियो। त्यसपछि भने सूचक निरन्तर घटेको हो। बजार १३१७ अंकमा फर्किएको छ। बजार साढे २६ अंकले घटेको छ।

बजारमा सोमबार पनि हिमालयन डिष्टिलरी लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको सेयर घटेर किनबेच भएको हो। १३०० रूपैयाँ पुगेको सेयर मूल्य १२ सय ८० रूपैयाँमा झरेको छ। दिनभरी २० करोड ९२ लाख रूपैयाँको सेयर किनबेच भएको छ।

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको १३ करोड ३२ लाख रूपैयाँको सेयर किनबेच भएको छ। यसपछि नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ३० लाखको सेयर कारोबार भएको छ।

केही दिनदेखि मल्टीप्रपोज फाइनान्सको सेयर मूल्य निरन्तर बढिरहेको छ। सोमबार पनि करिब १० प्रतिशतले बढेर १ सय ४६ रूपैयाँमा पुगेको छ। यसपछि ग्लोबल आइएमइ बैंकको पनि १० प्रतिशत हाराहारीले सेयर मूल्य बढेको छ। सामूदायिक लघुवित्त, हिमालयन पावर पार्टनर, पाँचथर पावर कम्पनी, पोखरा फाइनान्स र विशाल बजार कम्पनीको सेयर सर्वाधिक घटेको छ। यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढिले घटेको छ।

सबै उपसूचकहरू रातो भएको छ। खासगरी बैंकिङ र बीमा सूचकले बजारले अलि बढि प्रभावित गरेको छ। अन्य सूचक पनि घटेको छ।

सबैभन्दा बढि सेयरको माग ३४ लाख ३९ हजार कित्तासम्म भएको छ। आपूर्ति भने सबैभन्दा बढि एनसीसी बैंकको भएको छ। बैंकको एक लाख ७ हजार ५१५ कित्ता भएको छ। बैंकको माग भने ५१ हजार ७६५ कित्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell