PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

च्यासलविरुद्ध सानदार जित निकाल्दै आर्मी अंक तालिकाको शीर्ष स्थानमा



पहिलोपोस्ट

च्यासलविरुद्ध सानदार जित निकाल्दै आर्मी अंक तालिकाको शीर्ष स्थानमा
गोल गरेपछि खुसीयाली मनाउँदै त्रिभुवन आर्मी क्लबका खेलाडी नवयुग श्रेष्ठ (१८ नम्बर जर्सीमा)। फोटो : एन्फा।

काठमाडौं : शहीद स्मरक ‘ए’ डिभिजन लिग अन्तर्गतको आज भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबविरुद्ध फराकिलो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले च्यासलमाथि ३-० को फराकिलो जित निकालेको हो। जितसँगै सातौ चरण सकिँदा आर्मी शीर्ष स्थानमा उक्लिएको छ। आर्मीको अंक तालिकामा १६ अंक भएको छ।

आज भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। खेलको दोस्रो हाफ भने निकै प्रतिस्पर्धात्मक बन्यो। खेलको ४७ औँ र ४९ औँ मिनेटमा च्यासलका हेमन्त थापा मगरले पाएको राम्रा अवसरहरु गुमाए।

खेलको ५८ औँ मिनेटमा आर्मीका कप्तान भरत खवासले गोल गर्दै टिमलाई अग्रता दिलाए। अघिल्लो खेलमा मैदान प्रवेश गरे लगत्तै घाइते भएर फर्किएका खवासले आजको खेलमा गोल गरेका हुन्।

खेलको ७३ औँ मिनेटमा आर्मीले फेरि अर्को गोल थप्यो। सेसेहाङ आङ्दाम्देको पासमा नवयुग श्रेष्ठले गोल गरे।

फेरि खेलको ८५ औँ मिनेटमा च्यासलका छिरिङ गुरुङले नवयुगलाई फल गरेपछि आर्मीले पेनाल्टीको अवसर पाएको थियो। पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै सन्तोष तामाङले गोल गरे। उनले गरेको प्रहार च्यासलका गोलकिपर एलन न्यौपानेको हातमा लाग्दै गोल भएको थियो।

फेरि पनि खेलको अतिरिक्त समयमा छिरिङ गुरुङले नै पेनाल्टी एरियाभित्र फल गर्दा आर्मीले पेनाल्टीको अवसर पाएको थियो तर नवयुग श्रेष्ठले सदुपयोग गर्न सकेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell