PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु, कानुन कार्यान्वयनमा सांसदहरूको जोड



एम बम

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु, कानुन कार्यान्वयनमा सांसदहरूको जोड

कैलाली : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु भएको छ। सोमवार प्रदेश सभामुख अर्जुन बहादुर थापाले प्रदेश प्रमुख शर्मिला पन्त त्रिपाठीले पठाएको पत्र पढेर सदनलाई सुनाएसँगै अधिवेशन शुरु भएको हो।

अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन दलका शीर्ष नेताहरूले शुभकामनासहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

बैठकको शुरुवातमै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तारा लामा तामाङले सरकारलाई जनभावना अनुरूप तीव्र गतिमा काम गर्न सुझाए। प्रदेश सरकारले गरेको राजधानी तोक्ने निर्णयको कार्यान्वयन जस्ता महत्वपूर्ण विषयमा उनले सरकारको ध्यानाकर्षण गराए। साथै कानुन कार्यान्वयन र छाउपडी प्रथाको अन्त्यका लागि समेत तामाङले सरकार तदारुकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

‘विगतमा तर्जुमा भएका कानुन कार्यान्वयन नभएको व्यापक जन गुनासो आएको छ’, तामाङले भने, ‘सरकारले यी जनताका गुनासा सम्बोधनमा जोड दिनुपर्दछ।’

प्रतिपक्षी दलले समेत कानुनको कार्यान्वयनसँगै सरकार अनियमितताको बाटोमा अग्रसर भएको भन्दै मुख्यमन्त्रीले यसको नियमन गर्नुपर्नेमा जोड दिए।

‘सरकारका मन्त्रीहरू बिना लगामका घोडाजस्ता भएका छन्’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता डा रण बहादुर रावलले भने, ‘प्रदेशको सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा व्यापक अनियमितता भएको आरोप लागेको छ। मन्त्रीको नियमन मुख्यमन्त्रीले गर्न जरुरी छ।’

मन्त्रीहरूलाई चेन अफ कमान्डमा राख्न नसकिएको भन्दै प्रदेश सरकार सजग भएर अघि नबढे जनताको हीतमा कुठाराघात हुने उनको तर्क छ।

अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी राजपाका सांसद मालामती कुमारी रानाले समेत सरकार भ्रष्टाचारमा अघि बढेको र कानुन कार्यान्वयनमा फितलो बनेको आरोप लगाइन्।

बजेट अधिवेशन सकिएको झन्डै पाँच महिनापछि सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अर्थात पाँचौँ अधिवेशन शुरु भएको हो। प्रदेश सभाको अर्को बैठक भोलि दिउँसो १२:१५ बजे आह्वान गरिएको छ।

भोलि प्रदेश सभा स्थापना भएको अवसरमा ‘प्रदेश सभा दिवस’ मनाउने सचिवालयले तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell