PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सुर्खेतमा लाइसेन्स वितरण शुरु, ‘व्यक्तिको दक्षताका आधारमा मात्र अनुमतिपत्र दिनुस्’



रासस

सुर्खेतमा लाइसेन्स वितरण शुरु, ‘व्यक्तिको दक्षताका आधारमा मात्र अनुमतिपत्र दिनुस्’
मुख्यमन्त्री महेन्द्रबहादुर शाही यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतमा सोमवार स्मार्ट लाईसेन्सको उद्घाटन गर्दै। तस्विर : रासस ।

सुर्खेत : कर्णाली प्रदेशमा यातायात व्यवस्था कार्यालयले आजबाट सवारी चालक अनुमतिपत्र वितरण कार्य शुरु गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्विच अन गरेर स्मार्ट सवारी चालक अनुमतिपत्र शुभारम्भ कार्यक्रमको उद्घाटन गरे। 

मुख्यमन्त्री शाहीले चालक अनुमति पत्र व्यक्तिको दक्षताका आधारमा मात्र प्रदान गर्न कर्मचारीलाई निर्देशन दिए।

‘यातायात क्षेत्र अति संवेदनशिल जगत हो, उदार भएर सवारी अनुमतिपत्र दिने काम कर्मचारीले नगर्नुस्’, उनले भने, ‘यसका लागि कसैले माथिल्लो तहबाट पनि दबाब दिने काम नगरौँ।’

उदार भएर अनुमतिपत्र दिने र दबाब दिने तथा लिनेलाई कारबाही गर्ने उनले चेतावनी दिए।

उनले भने, ‘कर्णालीमा भौगोलिक जटिलता धेरै भएकाले सानो कमजोरीले पनि ठूलो जनधनको क्षति हुने सम्भावना छ, यसमा सबैले ध्यान दिन जरुरी छ।’

यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि कानुन निर्माण गरिने मुख्यमन्त्री शाहीले बताए।

अहिले डोजर पुगेका ठाउँमा गाडी लैजाने काम रोक्ने उल्लेख गर्दै उनले भने, ‘यो क्षेत्रमा कसैको जीवनसँग खेलवाड नहुनेगरी सडकको मापदण्ड हेरेर मात्र सवारी सञ्चालन अनुमति दिन्छौँ।’

अहिलेसम्म यातायात व्यवस्था कार्यालयमा सबैभन्दा बढी अनियमितता भएको भन्दै उनले यातायात क्षेत्र अख्तियारको निगरानीमा रहेको उल्लेख गरे।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार साहले कर्णालीवासीले लाइसेन्स बनाउन नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको बताए। जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले यातायात व्यवस्थापनका लागि प्रदेश सरकारले ऐन तथा कार्यविधि बनाएर कार्यान्वयनमा लैजान सुझाए।

यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख आनन्द चौलागाईंले एकाई कार्यालयबाट शुरु गरिएको कार्यालय गत असोज ६ गतेदेखि सेवा कार्यालयबाट व्यवस्था कार्यालयमा रुपान्तरण भएको जानकारी दिए। उनका अनुसार गत आवमा नौ करोड ७१ लाख रुपैयाँ राजश्व संकलन गरेको यातायात व्यवस्था कार्यालयले चालु आवको पुससम्म छ करोड ४६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell