PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कारागारको नयाँ भवन पनि साँघुरो : कैदीको संख्या अढाई सय बढी, भवनको क्षमता सय जना



पी बी खड्का

कारागारको नयाँ भवन पनि साँघुरो : कैदीको संख्या अढाई सय बढी, भवनको क्षमता सय जना
कारागार कार्यालय, सुर्खेत।

सुर्खेत : क्षमताभन्दा बढी कैदीबन्दी रहेको सुर्खेत कारागार भवन जीर्ण अवस्थामा छ। घाम र पानी छेक्न नसक्ने भवनमा कैदीबन्दीले कष्टकर जिवन विताइरहेका छन् भने निर्माणाधिन भवनको काम पुरा भएको छैन।

कारागारका कैदीहरुले त्रिपालमुनि त्यो पनि कोच्चिएर बसेका छन्। झण्डै सय जना अट्न सक्ने क्षमता भएको कारागार भवन अझैसम्म बन्न सकेको छैन।

शहरी तथा भवन डिभिजन कार्यालयले २०६६ असार २५ मा फ्राइण्ड्स कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार निर्माण कम्पनीले २०७० फागुन २० सम्ममा काम सम्पन्न गर्नुपर्ने थियो। तर कम्पनीले काम बीचैमा अलपत्र छोडेपछि सरकारी तवरबाट नयाँ निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाएको छ। भवन डिभिजनले प्राकृतिक/हाम्रो जेवीसँग २०७६ असार ३१ मा सम्झौता गरी काम अघि बढाएको हो। निर्माण कम्पनीले सम्झौताअनुसार २०७७ असोज सम्म काम सक्नुपर्ने छ।

‘भवन डिभिजनले पहिलेको निर्माण कार्य सम्झौता तोडेर नयाँ सम्झौता गरी काम तीव्र गतिमा भइरहेको छ’, कारागारका सूचना अधिकारी भुवन गौतमले भने, ‘अहिलेको गतिमा काम अघि बढ्यो भने सम्झौता मितिमै सकिने देखिन्छ।’

भवनको अधिकांश ठूलो काम सकिएकाले अब चार वटा चेकपोष्ट र पर्खालको काम सकेर कैदीलाई सार्न मिल्ने निर्माण कम्पनीले जनाएको छ। भवनको बाँकी सम्पूर्ण काम भने तोकिएकै समयमा सकिने बताइएको छ। भवन दुई करोड १४ लाख ५७ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको हो।

निर्माणाधिन अवस्थामा रहेको भवन कैदीबन्दीको संख्याको तुलनामा सानो हुने देखिएको छ। कारागारमा अहिले अढाई सय बढी कैदी छन् भने नयाँ बन्दै गरेको भवनमा ७० पूरुष र ३० महिला गरी जम्मा सय जना मात्र अटाउँछ। जसले गर्दा पनि कारागार अझै साँघुरो हुने देखिन्छ।

जीर्ण अवस्थामा रहेको ५० जना अट्ने क्षमता भएको कारागारमा अहिलेपनि साढे दुई सय बढी कैदी छन्। अहिले कारागारमा आश्रित दुई बालकसहित दुई सय ३१ पुरुष र २७ जना महिला गरी दुई सय ५८ जना कैदी रहेका छन्। कैदीबन्दीलाई माघ मसान्तदेखि फागुनको आधासम्ममा नयाँ भवनमा सार्ने भनिएपनि कैदीबन्दी नअट्ने हुदाँ चुनौती देखिएको छ।

‘पक्कै पनि अहिले कैदीहरुको अवस्था निकै कष्टकर छ। माथिल्लो नयाँ भवनको चेकपोस्ट र पर्खालको काम सकिएपछि सार्न मिल्ने देखिन्छ’, प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारीले भने, ‘नयाँ भवनमा सारेपछि केहीहदसम्म सहज होला।’

नयाँ भवन पनि कैदीका लागि पर्याप्त नहुने भएपछि आवश्यक पहल र व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

‘नयाँ भवनमा सारियो भने पनि साँघुरो त हुन्छ नै। भवनकै अगाडीतर्फ खुल्ला फिल्ड जति पनि भएको हुँदा त्यहाँ अरु त्यस्तै कक्षहरु निर्माण गर्न सकियो भने पुग्ला,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell