PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दुई दशकपछि वीरगंजमा मेयर कप, ३३ विद्यालयका ३ सय खेलाडी सहभागी



राधेश्याम पटेल

दुई दशकपछि वीरगंजमा मेयर कप, ३३ विद्यालयका ३ सय खेलाडी सहभागी

वीरगंज : दुई दशकपछि वीरगंजमा मेयरकप रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ। सोमवारदेखि वीरगंज महानगरपालिकाको आयोजनामा नारायणी रंगशालामा प्रतियोगिता शुरु भएको हो।

वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रदीप यादवले शान्तिको प्रतीक परेवा उडाएर प्रतियोगिताको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा सांसद यादवले लगभग दुई दशकपछि वीरगंज महानगरपालिकाले शुरु गरेको विद्यालय स्तरीय उक्त प्रतियोगिताले विद्यालय तहका छात्र/छात्राहरुबीच खेलप्रतिको नयाँ उर्जा जागृत गर्ने बताए।

उनले मेयर सरावगीको सक्रियतामा शुरु भएको उक्त प्रतियोगितालाई अझ व्यवस्थित गर्दै महानगरपालिकाले निरन्तरता गर्दै जान सुझाव दिए।

खेलकुदको विकासले देशको सम्मान बढाउने भएकोले यसको विकासका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उनले बताए। नेता यादवले महानगरपालिकासँग सहकार्य गर्दै समुदायिक विद्यालयहरुका छात्र–छात्राहरुका खेलकुदको विकासको लागी आवश्यक आर्थिक सहयोग पनि गर्ने प्रतिबद्धता गरे।

आउने वर्षदेखि महानगरपालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रतियोगितामा समावेश गराउदै राष्ट्रका लागि उत्कृष्ठ खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने वीरगंजका मेयर सरावगीको लक्ष्य रहेको बताएका थिए।

कार्यक्रममा शिक्षक महासंघ वीरगंजका अध्यक्ष विनोद मेहता, सिदार्थ माविका प्रधानाध्यापक राजेश पाण्डे लगायतले खेलकुदको विकासले राष्ट्रको सम्मान बढाउने भएकाले विद्यालय स्तरबाट हुने यस्ता प्रतियोगिताहरुको आयोजन निरन्तर भइरहनु पर्ने विचार व्यक्त गरेका थिए।

नारायणी रंगशालामा आज भएको ३ हजार मिटर दुरीको दौड प्रतियोगितामा नृसिंह माविका आदेश कुमार यादव प्रथम, शारदा माविका सत्रुधन पटेल द्वितीय र सुरजी देवि माविका अयुब मियाँ तृतीय भएको आयोजकले जनाएको छ। विजेतालाई आजै नगर प्रमुख सरावगीले पदक वितरण गरेका छन्। महानगरपालिकाभित्र रहेका १८ वटा सामुदायिक विद्यालय र १५ वटा संस्थागत विद्यालयका विद्यार्थीहरुको प्रतियोगितामा सहभागिता रहेको छ।

मेयर कपमा भोलिबल, कबडडी र एथ्लेटिक्सका गरी कुल १४ स्वर्णका लागि ३ सय भन्दा बढी छात्र छात्रा प्रतिस्पर्धामा उत्रिएको आयोजक समितिका संयोजक अर्विन्दलाल कर्णले जानकारी दिए। प्रतियोगिता माघ १२ गते सम्म सञ्चालन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell