
मार्तडी : बाजुराको बडिमालिका नगरपालिका–९ गैरी बजारमा आइतवार राति डेढ किलो चरेसको साथमा वडा सदस्यसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो।
प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईका अनुसार पक्राउ पर्नेमा बडिमालिका नगरपालिका-३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका-१ हाल मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकाया रहेका छन्।
प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको गस्तीले गैरीबजारमा कालो झोलामा लुकाएर ल्याएको चरेस लिएर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए। पक्राउ परेका दुवैलाई लागुऔषध अपराध ऐन २०३३ अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।