PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१६ वर्षे ठिटोको ११औँ वरीयता, ओलम्पिकमा देशका लागि मेडल ल्याउने लक्ष्य



मुकुन्द घिमिरे

१६ वर्षे ठिटोको ११औँ वरीयता, ओलम्पिकमा देशका लागि मेडल ल्याउने लक्ष्य

उमेर १६ वर्ष। तर, उपलब्धिका चाङ हेर्दा एकछिन् सोच्न बाध्य बनाउँछ। यही उमेरमा हात परेका हुन त यी उपलब्धि?

केही वर्षयता एकपछि अर्को उपलब्धि हात पारेका उनी विश्व वरीयतामा राम्रै स्थान बनाइरहेका छन्।

उनको नामः प्रिन्स दाहाल

खेलः ब्याडमिन्टन

विश्व वरीयताको ११औँ स्थान।

सातदोबाटोबाट चापागाउँ जानेतर्फ भाटभटेनी छ। त्यसको विपरीत दिशामा जाँदा पिपलको रुख आउँछ। त्यहाँबाट थोरै देब्रेतर्फ गए पुगिन्छ प्रिन्सको घर।

लजालु स्वभावका उनी खासै बोल्दैनन्। केही सोधिहाले फिस्स हाँस्छन्। छोटो उत्तर दिन्छन्।

यही महिना वरीयतामा छलाङ मार्दै चर्चामा आएका प्रिन्स र ए डिभिजन लिगमा १०० गोल गर्दै चर्चा बटुलेका फुटबलर सन्तोष साहुखलको स्वभाव ठ्याक्कै उस्तै।

मुसुक्क हाँस्ने। निकै कम बोल्ने।

यतिमात्र हैन दुबैमा अर्को साझा गुणा पनि भेटिन्छ। उपलब्धिमा खासै वास्ता नगर्ने। अनि मुस्कुराउँदै हुनेसम्मको छोटो जवाफ दिने बानी ठ्याक्कै उस्तै।

प्रिन्सको पुर्ख्यौली घर दैलेख हो। उनका बुबा आमा दार्चुलामा बस्छन्। उनी मामा र दिदीहरूसँग ललितपुर बस्छन्।

बिबिजी डाँफे स्कुलमा कक्षा ९ मा अध्ययन गरिरहेका उनको खेलले जुन गति लियो पढाइले भने लिन सकिरहेको छैन।

दार्चुलाबाट सानैमा काठमाडौँ आएका उनी पुलिस स्कुलमा पढे। त्यहाँ पनि खेले उनले।

हुन त उनको पारिवारिक वातावरण नै खेल्ने। बुवा नारायण दाहाल पनि खेलाडी, दिदीहरू पनि खेल्ने अनि मामाहरू पनि खेल्ने। माहौल नै खेलको।

'ड्याडी पहिला भलिबल खेल्नुहुन्थ्यो। पछि एथलेटिक्स पनि खेल्नुभयो र ब्याडमिन्टन पनि। मैले ड्याडीसँगै सिकेको हो खेल्न।' उनले भने।

सरल दैनिकी छ उनको।

'बिहान ६:३० मा उठ्छु। उठेर रनिङमा ४० मिनेट जति जान्छु। अनि जिम जान्छु, बुल्स क्लबमा। अभ्यास त्यहीँ गर्ने हो। त्यसपछि आएर आएर रेस्ट गर्ने।' आफ्नै दैनिकी सुनाउँदै उनले भने, 'अनि गेम छ भने खेल्न जान्छु। गेम नभएको बेलमा चाहिँ स्कुल जान्छु'

६/७ वर्षदेखि नै ब्याडमिन्टन खेल्न सिके। सानैदेखि स्थानीय प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएका प्रिन्सको ट्रर्निङ प्वाइन्ट थियो, सन् २०१७ मा हल्चोकमा भएको कृष्णमोहन कप।

प्रतियोगितामा उनले त्यति बेला नेपालका नम्बर ३ वरीयतामा रहेका खेलाडीलाई पछि पार्दै सबैको ध्यान खिचेका थिए। प्रतियोगितामा उनी सेमिफाइनलसम्म पुगे। उपाधि जित्न नसके पनि सम्भावनाका ढोका खोलिदियो।

प्रतियोगितापछि उनले स्पन्सर पाए। सिल्क ग्रुपले पहिलोपटक स्पन्सर गरेसँगै उनी व्यावसायिक रूपमा अझ अघि बढे।

त्यसपछि उनी इन्डिया जुनियर यु १९ मा मेन राउन्ड पुगे। प्रतियोगितामा भारतीय र बंगलादेशी खेलाडीलाई उनले हराएका थिए। यो पनि उनका लागि ठूलै उपलब्धि थियो। त्यसपछि नेपाल आएका उनले राष्ट्रिय खेलहरू खेले। यु १७ र यु १९ जिते। सिनियर ब्याडमिन्टनमा सेमिफाइनलसम्मको यात्रा तय गरे।

अन्तर्राष्ट्रिय स्तरबाट उनीमाथि परेको नजर सन् २०१८ को दुबई इन्टरनेसनल टुर्नामेन्ट पछि हो। त्यति बेला उनले यु १५ उपाधि जितेका थिए। ब्याडमिन्टन एसिया अफिसियल पेजमा उनको बारेमा काफी चर्चा भयो। त्यसपछि उनले म्यानमारमा एसिया च्याम्पियनसिप खेले। त्यहाँ टप १६ मा डिसाइडिङमा भारतसँग पराजित भए।

त्यसपछि दुबई इन्टरनेसन २०१९ जिते। यो उनको करिअरको ठूलो उपलब्धि थियो। जसबाट वरीयतामा समेत अगाडि आए।

मंसिरमा भएको दक्षिण एसियाली खेलकुदमा तेस्रो स्थान हात पारे भने भर्खरै प्रेसिडेन्ट कपमा उपविजेता भए। प्रेसिडेन्ट कप इन्टरनेशनल प्रतियोगितामा प्रिन्स यु–१९ तर्फ दोस्रो बनेका थिए। उनी फाइनलमा भारतीय खेलाडी मिराव लुवाङसँग १६–२१, २३–२१ र १५–२१ ले पराजित भए। लुवाङ विश्व वरीयतामा तेस्रो स्थानमा छन्। भारतको भने पहिलो।

प्रेसर नलिने खेलाडी

प्रिन्स खेल करिअरको सबैभन्दा स्मरणीय क्षण भनेको दुबईमा यु १९ जितेको क्षण भएको बताउँछन्। 'मलाई जित्छु भन्ने थियो जितेर आइयो। एकदमै खुसी लागेको छ।' उनले हौसिँदै भने।

उनी जहाँ जान्छन् मामा कमलेश निरौला पनि सँगै हुन्छन्। दुबई इन्टरनेसनलको फाइनल सम्झँदै निरौला भन्छन्, 'दुई जनै थकित थिए। खेल सकिएपछि त प्रिन्स कोर्टमै सुतेको थियो। गेम एकदमै टफ थियो।'

त्यो क्षणलाई प्रिन्स सझन्छन्, '१९ अल हुँदासम्म थाकेर छोड्ने अवस्था थियो। नेपाली धेरै आएका थिए। हुटिङ पनि भइरहेको थियो।' उनले थपे, 'खेल १५/१७ को अवस्थामा थियो। पछि १८ मा अल भयो। १ प्वाइन्ट तानेको १९ अल भयो। अन्तिममा त सर्विसनै नेटमा हान्देको थियो उसले।' प्रिन्सले उत्साहित हुँदै सुनाए।

उनले पछि परेको खेलमा अग्रता बनाएको यही पटक मात्रै चाहिँ थिएन।  त्यही प्रतियोगिताका अघिल्ला खेलमा पनि १६-८ ले पछि परेको गेम जितेका थिए उनले। 'त्यति बेला म प्रेसरलाई रोक्ने। विस्तारै अंक तान्दै अघि बढ्ने भनेर सोचिरहेको हुन्थेँ।' उनी भन्छन्।

यस्तै एउटा महत्त्वपूर्ण खेलमा पनि प्रिन्सले ७-१६ मा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जित हात पारेका थिए। यो चाहिँ सन् २०१८ मा थियो।

करियरमा दुःख लाग्ने क्षण सन् २०१८ को नेशनल गेमको रहेछ। त्यति बेला एउटा सेट हराएर दोस्रो पनि लिड गरेको अवस्थामा जम्प गर्दा खुट्टामा चोट लागेको थियो। 'जितिसकेको खेल 'गिभ अप' गर्नुपर्दा धेरै दु:ख लाग्ने रहेछ।' प्रिन्सले भने। 

नयाँ अफरहरु आइरहेकाले अब करिअरमै फोकस हुने प्रिन्स बताउँछन्।

जनावर पाल्ने जिद्दी

ब्याडमिन्टनपछि उनको सोख हो जनावर पाल्ने। अहिले पनि उनले दुईवटा कुकुर पालेका छन्।

दिदी रिमा दाहाल सानैदेखि प्रिन्सले जनावर पाल्न जिद्दी गरेको सम्झिन्छिन्।

'दार्चुला हुँदा ३० वटा कुखुरा पालेको थियो। बिरालो, कुकुर, परेवा, खरायो जे पनि चाहिने उसलाई।' रिमाले हाँस्दै सुनाइन्, 'उसले एकपटक घोडा पाल्न समेत जिद्दी गरेको थियो। बाँदर पनि पालेको थियो। यता आएपछि चाहिँ अलि कम भएको हो।'

भाइको व्यवहारबारे रिमा थप्छिन्, 'एकदमै लजालु छ। खासै बोल्दैन पनि। ६/७ वर्षको हुँदादेखि नै ५ बजे उठेर खेल्न जान्थ्यो। ड्याडीलाई पनि लिएर खेल्न जान्थ्यो। खेल्न लगेन भनेर रोएर उग्र हुन्थ्यो। लानै पर्थ्यो। डेडिकेसनले यहाँसम्म पुर्‍याएको जस्तो लाग्छ।'

ओलम्पिकको सपना

प्रिन्सका बुवा नारायण दाहाल आफ्नो छोराले ओलम्पिकमा उपलब्धि हात पारेको हेर्न चाहन्छन्। 'म पनि खेलाडी नै थिएँ। जिल्लाको प्रतिनिधित्व मैले पनि गरेको थिएँ। तर मेरो छोराले राष्ट्रकै प्रतिनिधित्व गरिरहेको छ। धेरै खुसी छु,' उनले भने, 'उसले ओलम्पिकमा मेडल ल्याओस् भन्ने नै मेरो चाहना हो। उपलब्धि पनि हात पारिरहेको छ।'

मामा लवराज निरौला पनि प्रिन्सको अब ओलम्पिकका लागि तयार भइरहेको बताउँछन्।

'ओलम्पिकसम्म खेल्न जाउन् भन्ने लाग्छ। मेहनत गरेका छन्। सरकारले पनि यस विषयमा ध्यान देओस् भन्ने लाग्छ।' उनले भने।

उनलाई तालिममा समेत सहयोग गरिरहेका मामा कमलेश उनको व्यवहार बच्चाको भन्दा खास फरक नरहेको बताउँछन्,

'अझै पनि उनको बानी बच्चै छ। यति सानो उमेरमै यत्रो उपलब्धि हात पारका छन्। विश्व वरीयतामा पनि यति माथि आइसके। तर, उनलाई यो केही होइन।' प्रिन्सलाई जिस्क्याउँदै निरौलाले भने, 'जब कोर्टभित्र जान्छन् ट्रेनिङ गरेको हेरेर कोर्टमा यति खेल्न सक्छन् भनेर सोच्न सकिँदैन।'

तालिममा उनी जति सुस्त देखिन्छन्, धेरै गुणा चुस्त छन् खेलमा। निरौलाले हाँसोसँगै भने, 'फास्ट दौड भन्यो पछिपछि कुदिरा हुन्छन्। अस्ति थाइल्यान्डमा तालिम गर्दा त्यहाँका कोच पनि छक्क परेका थिए। ट्रेनिङमा जति स्लो छन्, धेरै फास्ट गेममा छन्।'

ब्याडमिन्टन, जनावरपछि उनको सोख पब्जी र शुज। पछिल्लो समय उनले पब्जी खेल्न छाडेको बताउँछन्। तर, जुत्ता चाहिँ राम्रो लागे लिइहाल्नु पर्छ।

दिदी रिमाले भनिन्, 'मन परेपछि जुत्ता त ल्याइहाल्ने हो। बर्थ डे गिफ्ट पनि जुत्ता आए मख्ख परि'रा हुन्छ।'

पब्जी र ब्याडमिन्टन उस्तै हो त? प्रश्नमा दाहाल अलि खुले।

'ब्याडमिन्टनमा गलिन्छ पब्जीमा गलिँदैन नि त। पहिलापहिला मोबाइलमा पब्जी खेल्थेँ तर आजकल खेल्दिनँ। ब्याडमिन्टनकै गेम चाहिँ मोबाइलबाट खेल्न गाह्रो हुन्छ। सुरुमा ट्राइ गरेको थिएँ। अहिले छैन।'

अहिलेसम्म दाहालले आठ देश घुमिसकेका छन्। खेलका क्रममा उनी माल्दिभ्स, थाइल्यान्ड, बंगलादेश, भारत, इन्डोनेसिया, म्यानमार, चीन र  दुबई पुगिसकेका छन्। देश अनुसार सेटअप फरक हुने हुँदा केही दिन अघि गएर अभ्यास गरेरमात्र खेल्न सकिने उनले बताए।

बाहिर र नेपालको ब्याडमिन्टनमा फरक देख्छन् उनी।

'बाहिर र यहाँ धेरै फरक छ। उता प्रोपर सेड्युलहरु हुन्छ। इक्युपमेन्ट राम्रो-राम्रो हुन्छ। मैले मलेसियामा एउटै ठाउँमा २०० कोर्टसम्म देखेँ।' अनुभव सुनाउँदै उनले भने।

सिनियर र जुनियर सबैसँग खेलिसकेका उनी उमेरले भन्दा पनि स्किलले खेलमा गाह्रो सजिलो हुने बताउँछन्।

'एजले भन्दा गेमले म्याटर गर्छ। कोहीको ठूलो एज भएर पनि स्किल कमजोर हुन्छ। त्यस्तोमा खेल्न गाह्रो हुँदैन। तर, कम एजकै भए पनि स्किल राम्रो छ भने गाह्रो हुन्छ।'  उनले थपे।

सामाजिक सञ्जाल र फ्यान

सामाजिक सञ्जालमा निकै सक्रिय छन् प्रिन्स। फेसबुक, ट्विटर र इन्स्टाग्राम चलाउँछन्। धेरै चाहिँ इन्स्टा र फेसबुक। सामाजिक सञ्जालमा उनलाई पछ्याउने फ्यानहरुको संख्या ठूलो छ। समर्थन पाउँदा खुसी लाग्ने उनी बताउँछन्।

'प्रेसिडेन्ट कपमा एकजना दाई फाइनल हेर्न इलामबाट आइपुग्नु भयो। यसरी सपोर्टर हुँदा त खुसी लाग्छ नि। सामाजिक सञ्जालमा कुराकानी हुने फ्यानसँग खासै भेट हुँदैन। गेम खेल्ने बेलामा भेट हुन्छ नत्र छुट्टै चाहिँ भएको छैन।' उनले भने।

उनका विदेश सपोर्टरहरू पनि धेरै छन्।

'किप इट अप', 'बिग फ्यान' जस्ता म्यासेजहरू उनलाई आउँछन्। यी सबै कुराहरूले उनलाई थप उत्साहित बनाउँछ।

अब अगाडि प्रिन्स जर्मनी र नेरदल्यान्डमा खेल्न जाने योजनामा छन्। मामा कमलेश भन्छन्, 'फेब्रुअरी जर्मनीमा खेल छ। डच जुनियर पनि छ। अब उसले यसमा सहभागी हुन जान्छ होला। विश्वभरका उदीयमान खेलाडी त्यहाँ आउनेछन्। त्यहाँ राम्रो गर्न सके उसको वरीयतामा अझ सुधार आउँछ। टप टेनभित्र पर्छन कि भन्ने अबको लक्ष्य हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell