PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आठ भारतीयको मृत्यु, पोस्टमार्टमका लागि शव टिचिङमा

आठ भारतीयको मृत्यु, पोस्टमार्टमका लागि शव टिचिङमा

प्रकाश भण्डारी/पहिलोपोस्ट


काठमाडौं : मकवानपुरको दामनस्थित एभरेस्ट पानोरामा होटलमा बेहोस भई मृत्यु भएका ८ जनालाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्ज लगिएको छ। थाहा नगरपालिका-४ स्थित एभरेस्ट पानोरामा होटलमा बेहोस भएका उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका लागि ल्याइएको थियो। 

उनीहरुको अस्पताल नआइपुग्दै मृत्यु भइसकेको अस्पतालले जनाएको छ। अस्पतालका इमर्जेन्सी इन्चार्ज कमल थापाले मृत्युको कारण पनि थाह नभएको बताए।

उनले भने, 'मृत्युको निश्चित कारण थाहा हुन सकेको छैन। अस्पताल आइपुग्दा मृत्यु भइसकेको थियो। पोस्टमार्टमको लागि टिचिङ पठाएका छौं।'

मृत्यु हुनेहरु भारत केरलाको भएको प्रहरीले जनाएको छ।  मृत्यु हुने आठ जनामध्ये दुई बालक र दुई बालिका छन्। भारतको केरालाबाट पोखरा हुँदै दामनतर्फ घुम्न आएका थिए। बा३ क ३६८८ नम्बर बसमा जम्मा १५ भारतीय पर्यटकहरु सोमवार मात्र पानोरोमा रिसोर्टमा पुगेका ४ वटा रुम बुकिङ गरेका थिए। होटेलको एउटा रुममा हिटर बालेर सुतेका ८ करिब साढे ८ बजे बेहोस अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेहरुमा भारत केरलाका बस्ने ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीय सरिया, ५ वर्षीय अभी, ७ वर्षीय अर्चना, ५ वर्षीय बैशनव र ९ वर्षीय बन्द्रा नाम गरेका भारतीय नागरिक भएको खुलेको हो।

हिटर बालेका कारण अक्सिजनको कमीले निसास्सिएर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। यसबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell