PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेपाली फिल्मको लाज लाग्दो कहानी अर्थात् ‘एउटा यस्तो प्रेम कहानी’



पहिलोपोस्ट

नेपाली फिल्मको लाज लाग्दो कहानी अर्थात् ‘एउटा यस्तो प्रेम कहानी’

  • विष्णुकान्त घिमिरे -

सुपरस्टार शिव श्रेष्ठले पाकिस्तानी फिल्ममा हासिल गरेको सफलताले नेपाली कलाकारको पहिचानलाई सीमाभन्दा टाढासम्म फैलाएको थियो। फिल्म उद्योगमा ४ दशकको योगदान सानो छैन उनको। कुनै जमानामा एक्सन रोलमा एकल राज गरेका शिवले हात हालेको प्रोजेक्ट यतिखेर चर्चामा छ। चर्चा सकारात्मक भने होइन। ‘एउटा यस्तो प्रेम कहानी’ टाइटलको फिल्म जसले शिवको ४० वर्षे करिअरलाई कतै धुमिल बनाउने त होइन? चिन्ताको विषय बनेको छ।

त्यसो त नेपाली रजतपटमा धुमधामले फिल्मको घोषणा गर्ने र कहिल्यै पूरा नगर्ने रोग नयाँ होइन। कसैले अपेक्षा नगरेको ‘एउटा यस्तो प्रेम कहानी’ पनि यसैगरी बेपत्ता हुने फिल्मको सूचीमा समेटिने हो कि भन्ने शिव श्रेष्ठका फ्यानहरुमा चिन्ता बढेको छ। किनभने घोषणा हुँदै हराउने फिल्मको सूची लगातार बढ्दैछ।

एउटा यस्तो प्रेम कहानीको घोषणा हुँदा बजार गर्मिएको थियो। त्यसो हुनुका केही प्रमुख कारण पनि थिए -

  • चार दशक अभिनयमा बिताएका नायक शिव श्रेष्ठले आफै लेखेको र निर्माण गर्न लागेको फिल्म
  • शिव श्रेष्ठका छोरा शक्ति र करिस्मा मानन्धरको छोरी कविताको डेब्यु हुने फिल्म
  • चलिरहेका प्रियङ्का-आयुष्मान, वर्षा-सन्जोग, नरेन खड्का, शिव श्रेष्ठजस्ता मल्टिस्टारर फिल्म अनि ठूलो बजेट।

त्यसमाथि निकै आक्रामक ढंगले गरिएको फिल्मको घोषणा। शिव श्रेष्ठको ‘ड्रिम प्रोजेक्ट’ नेपाली सिनेमाको समकालीन अवस्थालाई चिहाउने आँखीझ्याल बन्न सक्छ।

‘बाघ निर्देशक’ भनेर चिनिन्थे प्रकाश थापा। उनै थापाले सन् १९८० मा फिल्म जीवनरेखाबाट नेपाली रजतपटमा भित्र्याएका कलाकार हुन् शिव श्रेष्ठ । ठूल्दाइ, चिनो, जीवनरेखा, कान्छी, स्वर्ग लगायत फिल्मको सफलताले उनलाई पाकिस्तानी फिल्म उद्योगसम्म पनि डोर्‍यायो।

मिस बैंकक, टाइगर, जीवन आसमान लगायत फिल्मले पाकिस्तानमा उनलाई गहकिलो उचाई पनि दियो। उनी यसरी स्थापित भए कि उनको नाम ‘एक्सन स्टार’को पर्याय नै बन्यो। कुनै दिन थियो, शिव श्रेष्ठकै पोस्टरले निर्मातालाई ढुक्क बनाउँथ्यो - फिल्म त चल्छ।

शिव श्रेष्ठकै उदाउँदो करियरका बेला सदाबहार नायिकाको उपमाले परिचित करिस्मा मानन्धरले डेब्यू गरिन् सन् १९८८ मा फिल्म सन्तानबाट। सन्तान, मायालु र कस्तुरी फिल्म गरेर फिल्मनगरीमा जमेकी करिस्माको शिव श्रेष्ठसँगको पहिलो फिल्म हो, ट्रक ड्राइभर (सन् १९९२)। पहिलो फिल्ममै यो जोडी हिट भयो। त्यससँगै फिल्म सपना, मिलनमा उनीहरुको केमिस्ट्री खुब जम्यो।

नेपाली फिल्ममा 'स्टार किड'को उर्लेको लहर
पर्दामा जमिसकेका चर्चित कलाकारका सन्तानलाई फिल्ममा डेब्यु गर्न सजिलो हुने। नेपालमात्र होइन, स्टार किडको लहर हाम्रोमा भन्दा धेरै बलिउड र हलिउडमा पनि छ। साउथ इन्डियन फिल्ममा चल्तीका नायकको धरातल हेर्ने हो भने उनीहरु कुनै स्टार कलाकारका सन्तान भेटिन्छन्। बाहुल्यता नै छ यस्ता कलाकारको।

भुवन केसीले अनमोल, झरना थापाले सुहानालाई फिल्ममा डेब्युमात्र गराएका छैनन्, उनीहरुको मार्केटिङ पनि भव्य गरेका छन्। ‘इन्ट्री’बाटै ‘स्टार’को ट्याग लगाउन कुनै कसर छाडेका छैनन् उनीहरुले।

गन्तीमा सफल फिल्म कमै भए पनि बजारमा आफ्नो दबदवा थोरैले कायम गरेका छन्। बद्री अधिकारीकी छोरी केकीबाहेक अधिकांश मार्केटिङकै कारणमात्र चर्चित छन्।

बाल कलाकारबाट उदाएका सोभित बस्नेतका छोरा सलोनलाई अझै निर्माता सोलो नायकका रुपमा लिन डराउँछन्। टीका पहाडीका छोरा गौरब, किरण केसीका छोरा सुदन लगायत धेरै स्टार किड अझै स्थापित हुन संघर्षरत छन्। चकलेटी निर्देशक नारायण पुरीका छोरा सम्यमलाई नयाँ पुस्ताले भुल्न थालिसके।

आफ्नो स्टरडमको बिरासत सन्ततीले लिउन् भन्ने चाहन्छन् सेलिब्रेटी। अनि यस्तैमा क्षमता भएर, रहरमा वा लहलहैमा स्टार किडको डेब्यु हुने गरेको छ। निर्माताहरु पनि तिनै चर्चित कलाकारका सन्तानलाई लिँदा व्यवसायिक प्रवर्द्धन हुने लोभले तानिएका हुन्छन्। त्यस्तैमा रचियो ‘एउटा यस्तो प्रेम कहानी’।

तामझामको घोषणा : एउटा यस्तो प्रेम कहानी
शिव श्रेष्ठले २०७४ चैत्र २९ गते तामझाम सहित फिल्मको घोषणा गरे। फिल्मको घोषणामा उपराष्ट्रपति नन्दकिशोर पुन प्रमुख आतिथि। त्यसो त कस्तो कार्यक्रममा जान हुने या नहुने भन्नेमा यति ठूलो पदमा बसेका व्यक्ति र उनलाई जान सल्लाह दिने सल्लाहकारमाथि नै टिप्पणी गर्नुपर्ने हुन्छ। त्यो बेग्लै विषय हो।

र्‍याडिसन होटलमा फिल्म निर्माणको घोषणा र मुहुर्त समेत भयो। शिव श्रेष्ठ फिल्मका मुख्य निर्माता। कथा पनि उनकै। र, कलाकार पनि आफैँ। तर, फिल्मको घोषणामा मुख्य कलाकार देखा परेनन्। प्रहरी प्रशासन र राजनीतिक दलका नेताको भने बाक्लै जमघट रह्यो मुहुर्तमा। यतिसम्म भयो कि फिल्ममा कुनै रोल नै नभएका कलाकार किरण केसीले मुहुर्त सट दिए।

एक महिना पछि २०७५ जेठ १ गते ‘एक्सन टिजर’ भन्दै फिल्मको टिजर रिलिज भयो। कार्यक्रममा श्रेष्ठले दर्शकहरूलाई राम्रै ‘सर्प्राइज’ दिँदै छोरा शक्तिलाई यही फिल्मबाट डेब्यु गराउने घोषणा गरे। सर्प्राइज त्यतिमै सीमित भएन। सदाबहार नायिका करिश्मा मान्नधरकी छोरी कविताको पनि डेव्युको घोषणा गरियो। चलेका दुई हिरो हिरोइनका सन्तान फिल्ममा नयाँ जोडीमा भित्रने कुरा सानो थिएन।

टिजर रिलिजसँगै आर्टिस्ट लन्चिङ पनि भयो। फिल्ममा प्रियंका कार्की, आयुष्मान जोशी, नरेन खड्का, वर्षा राउत, सन्जोग कोइराला, रेखा फागो, ध्रुव कोइराला, बसुन्धरा भुसाल र शिवानी गिरी सँगै खलनायकको रुपमा मार्शल आर्ट खेलाडी प्रभू श्रेष्ठ र कयौं हिन्दी फिल्ममा काम गरेका नवराज विक रहने जानकारी दिइयो।

कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखान कार्यक्रममा पनि दोहोरियो। टिजर त रिलिज गरियो तर त्यसमा शक्ति र कविताको कुनै दृश्य नै रहेनछ।

करिस्माको भरोसामा तुसारपात, शिवलाई लाज
करिस्मा र विनोद मानन्धर होम प्रोडक्सनबाटै छोरीलाई डेब्यु गराउने तरखरमा थिए। तर, शिव श्रेष्ठको प्रस्तावलाई मानन्धर परिवारले नकार्न सकेन।

शिव श्रेष्ठ आफ्नो ४ दशकको अनुभवले लेखेको फिल्ममा छोरालाई नायकको रुपमा डेव्यु गराउँदै थिए। त्यही भरोसामा करिस्माले छोरीलाई शिव श्रेष्ठको जिम्मा लगाइन्।

टिजर रिलिज भएको डेढ वर्ष बिते पनि फिल्मको अझै अत्तोपत्तो छैन। यसले कवितालाई मात्र होइन, मानन्धर परिवारलाई नै पहिलो गाँसमै ढुङ्गा लागेको छ।

त्यही हालत भयो शिव श्रेष्ठलाई पनि। शिव श्रेष्ठले भनेका थिए, ‘छोरा शक्तिले जहिले पनि मलाई सोधिरहन्थ्यो, कहिले म फिल्म खेल्ने भनेर। र, म भन्थेँ बेला भएको छैन। तर, आज सही पटकथामा ल्याउँदैछु।’

शिवले आफ्नै फिल्ममा डेब्यु गराउने बताए पनि शक्ति अभिनित लप्पन छप्पन २ रिलिजको सङ्घारमा छ। फिल्मको टुङ्गो नलाग्दा शिवलाई आफ्नै छोराको अगाडि लाज भएको हुनुपर्छ।

फिल्म अचानक शक्ति र कविताको इन्ट्री गराइएको भए पनि टिजरमा उनीहरुको अनुहार कतै छैन। शक्तिले टिजर रिलिज हुँदासम्म आफ्नो र कविताको फिल्ममा कुनै सिनको सुट नभएको स्वीकारेका छन्।

शक्तिकै भनाइलाई मान्ने हो भने निर्मता समूहबाट अफर आएको र स्क्रिप्ट चित्त बुझेर काम गर्न तयार भएका थिए। शक्तिले आफ्नो केही सिनमात्र बाँकी रहेको र कविताको अलि बढी नै सुट बाँकी रहेको जानकारी दिए।

रोचक के छ भने एक दिनको सुटिङ जनकपुरमा गरिसकेपछि बाँकी सेड्युल सुटको खबर कुरेर बसेको सन्जोग कोइराला बताउँछन्। उनले कुरेर बसेकै एक वर्ष भइसक्यो।

वर्षा राउतको पनि कहानी उस्तै रहेछ। उनको पनि एक वर्षदेखि सुट भएको छैन। अर्को सेड्युल कहिले हुने हो अत्तोपत्तो छैन। प्रडक्सन म्यानेजर, निर्देशक, निर्माता कसैले पनि कुनै खबर नगरेको वर्षाले जानकारी दिइन्।

के भन्छिन् त करिस्मा? उनले पनि फिल्मका लागि कविताले दिने भनेको समय गुज्रिसकेको सुनाइन्।

‘सुट गर्नुपर्ने अवधि सकिए पनि शिव दाइले फिल्म सक्न खोजे सहयोग गर्न सकिन्छ। तर, लामो समयदेखि केही अत्तोपत्तो छैन,’ करिस्माले भनिन्।

आफ्नो पनि सुट स्यडुल बाँकी नै रहेको र आर्थिक लगायत अन्य व्यवस्थापनमा निर्माताहरु चुकेकाले फिल्म रोकिएको कलाकार नरेन खड्काको भनाइ छ। शिव श्रेष्ठको फिल्म भएकाले आफूले विश्वास गरेर काम गरेको तर जुन तयारी हुनुपर्ने त्यो फिक्का भएको खड्काको भनाइ छ।

यसबारे बुझ्न खोज्दा आयुष्मान सम्पर्कमा आउन चाहेनन् भने यो आलेख तयार गर्दा प्रियङ्का नेपाल बाहिर भएकाले सम्पर्क हुन सकेन।

चल्तीका डिओपी सुशन प्रजापतीले यो फिल्म खिचेका हुन्। फिल्मको हालत के छ त? उनको जवाफ व्यङ्ग्यात्मक थियो। उनले फिल्म ‘एकादेशको कुरा भइसकेको’ र आफूले बिर्सिसकेको व्यङ्ग्य गरे।

आर्थिक चाँजोपाँजो व्यवस्थापन उचित नभएको र निर्माताले सही समन्वय नगरेकाले आफूले फिल्म नै छोडेको प्रोडक्सन म्यानेजर युवराज कार्कीले सुनाएपछि नेपाली फिल्ममा हुने लगानी र त्यसको व्यवस्थापनको हालत के छ सजिलै अनुमान गर्न सकियो।

के भन्छन् निर्देशक?
फिल्मका निर्देशक हुन् दीपेश सापकोटा। केही समय मिडिया कर्मगरी युरोप र सिङ्गापुरमा फिल्म मेकिङ पढेर फर्केका दीपेशको पहिलो फिल्म मन्दिरा हो। उनकै भाषामा मन्दिरा एउटा इन्टर्नसिप थियो। व्यवसायिक सफलता हात नपारे पनि एउटै घरभित्र सुटिङ सक्दा पनि क्यामेरा र निर्देशकीय चातुर्यता फिल्ममा देखियो जसले उनलाई सम्भावना भएको निर्देशकका रुपमा उपस्थित गरायो पनि। द मिरर उनको इन्टरनेशनल ह्युमन राइट्स फिल्म फेस्टिवलको टाइटल अवार्ड जित्न सफल सर्ट फिल्म हो।

अनि यो फिल्म कता पुग्यो त?

‘चलचित्रको छायाँकन सकिएको छ र वान लाइन सम्पादनको काम पनि सकिएको छ। तर, निर्माताहरु फिल्मको वास्तै गर्दैनन्क,’ दीपेशले भने।

यो फिल्म अड्किँदा अरुमा हात हाल्न नपाएका रहेछन् उनले। त्यसैले दीपेश म्युजिक भिडियो र विज्ञापन उत्पादनमा भुलेका छन् यतिखेर। उनको पहिलो म्युजिक भिडियो ‘कोरेर मेरो चित्र...’ इमेज अवार्डमा उत्कृष्ट निर्देशन विधामा मनोनयनमा परेको थियो।

धेरै क्षेत्रमा पढेलेखेका युवालाई ठाउँ दिनुपर्ने अवाज सुनिन्छ। दीपेशले पनि ठाउँ त पाए तर के अनुभवको कमी हो त? कि मल्टी स्टारर र हाई बजेटको भार थेग्न सकेनन्?

‘निर्माताले फिल्म अगाडि बढाउँदैनन् त म के गरुँ?’ उनको जवाफ प्रष्ट छ।

निर्माताकै कुरा गोलमाल?
पुराना कलाकार एवम् फिल्मका सह निर्माता सुनिल कटवाल शिव श्रेष्ठसँगको आत्मियताले फिल्ममा ‘एसोसिएट’ भएका हुन्। फिल्मको दुईवटा गीत र एउटा फाइट सुट गर्न बाँकी रहेको जानकारी पाएका रहेछन् उनले। अन्य निर्माताहरुसँग भेटघाट भइराखेको भए पनि फिल्मको बारेमा कुरा नभएको उनले बताए।

शिव श्रेष्ठले सहकारी र इन्भेस्टमेन्ट कम्पनी सन्चालन गर्ने दिनेश दर्शनधारी र यशोधा राईलाई मुख्य निर्माता बनाइ भित्र्याएका थिए, लगानीकर्ताका रुपमा। वाग्मती बनाई सकेका तर सिक्वलमै चिप्लिएका निर्माता दिनेश दर्शनधारी र यशोधा राई यस फिल्मका पनि अल्मलिए। कतै यो चलचित्र पनि वाग्मती २ जसरी थन्काउने त होइन?

नेपाली फिल्म ‘शहीद’ भइरहेको प्रतिकूल समयमा रिलिज गर्न नसकेको तर्क छ निर्माता यशोधा राईको।

केही मिडियामा निर्माता दर्शनधारीले सिक्वेलका कारण फिल्म आउन ढिला भएको बताएका छन्।

सिक्वेलमै वाग्मती चिप्लिएपछि फिल्म बनाएर रिलिज नगरी फेरि सिक्वेलकै चक्करमा लाग्नु उच्च महत्वाकांक्षा देखिन्छ उनीहरुमा। फिल्म रिलिज नहुँदा यशोधा र दिनेशलाई त त्यति ठूलो फरक नपर्ला तर शिव श्रेष्ठलाई भने ४० वर्षमा कमाएको ख्यातीमा पक्कै धब्बा लाग्नेछ।

पहिलो नेपाली सिनेमास्कोप फिल्म ‘राँको’को समेत निर्माता रहेका शिव श्रेष्ठकोको तयारी फितलो भएको पक्कै हो। अहिले पनि उनी आफ्नो फिल्म टुङ्गो लगाउन छोडेर अरु फिल्म खेल्न ब्यस्त छन्। शिव श्रेष्ठले गरेका फिल्म प्रेम गीत ३ र लप्पन छ्प्पन २ रिलिजको सङ्घारमा छ।

यशोधा राई फिल्म केही रि-सुट गर्नुपर्ने बताउँछिन्। सुनिल कटवालले गीत र फाइट खिच्न बाँकी रहेको बताइरहेको बेला निर्देशक वान लाइन एडिट सकेको बताउँछन्। कलाकारहरु आफूहरुले पाएको स्क्रिप्टको धेरै नै भाग खिच्न बाँकी रहेको बताउँछन्।

कलाकार र निर्माताको कुरा बाझिनुले फिल्म कहाँ पुग्यो अनुमान गर्न सकिन्छ। सबैजसो कलाकारले आफ्नो सुट धेरै नै बाँकी रहेको दाबी गरिरहँदा ९९% सुट सकेको दाबी छ यशोधा राईको।

शिव श्रेष्ठसँगै ८ जना निर्मात तथा सह–निर्माता रहेको यो फिल्म कतै निर्माताहरु बीच तालमेल नमिलेर त यस्तो भएको होइन?

वाग्मती र ‘एउटा यस्तो प्रेम कहानी’ दुवैमा निर्माता रहेकी योशोदा राईले टिजर लन्चिङ कार्यक्रममा भनेकी थिइन - ‘वाग्मतीमा कलाकारले सहयोग नगरेका कारण हामी चुक्यौं।’

कतै यो फिल्म पनि कसैलाई पुनः दोष लगाउने तयारी त होइन?

कामना गरौं, फिल्म डब्बा नहोस्। छिट्टै हेर्न पाइयोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell