PahiloPost

May 15, 2024 | २ जेठ २०८१

पुलमा पप्पु राज : लापरवाही गरेर बनाएको पुल मनलाग्दी हिसाबले मर्मत सुरु



दिनेश खड्का

पुलमा पप्पु राज : लापरवाही गरेर बनाएको पुल मनलाग्दी हिसाबले मर्मत सुरु

काठमाडौं : पप्पु कन्स्ट्रक्सनले संरचना निर्माणमै गम्भीर लापरवाही गरेको जब्दीघाट पुल एकतर्फी रूपमा मर्मत गर्न थालेको छ।

निर्माण हुँदाहुँदै भासिएपछि सडक विभागले गरेको अध्ययन समितिले नयाँ पुल बनाउनुपर्ने सुझाव दिए पनि पप्पुले सामान्य निवेदन दिएर मर्मत थालेको हो। कम्पनीले जब्दीघाट पुल मर्मत गरिदिने भन्दै डिभिजन सडक कार्यालय नेपालगंजमा निवेदन दिएको छ भने अर्कोतर्फ मर्मतका लागि खोलाको बहावलाई डाइभर्ट गर्न सुरू गरेको छ।

कम्पनीले मर्मतको डिजाइनसहित निवेदन पेश गरेको र खोलाको बहाव डाइभर्ट गर्न थालेको डिभिजन सडक कार्यालय प्रमुख रामकुमार देवले बताए। उनका अनुसार भासिएको पिल्लर मर्मत गरेर गाडी चल्ने बनाउँछौं भन्दै निवेदन पेश गरेको हो।

कम्पनीले झण्डै दुई साताअघि डिभिजनमा निवेदन दिएको हो।

'कन्ट्रयाक्टरबाट पुल मर्मतका लागि निवेदन आएको छ,' प्रमुख देवले भने, 'सडक विभागबाट स्वीकृति पाएपछि मात्रै मर्मतको काम गर्न कम्पनीलाई भनेका छौं। हामी सडक विभागमा निवेदन र डिजाइन पेश गर्ने प्रोसेसमा छौं।'

तर, यता निर्माण कम्पनीले मर्मतको काम सुरु गर्ने भन्दै खोलाको बहावलाई डाइभर्ट गर्न सुरू गरेको छ। अहिले पुल भासिएको भन्दा अर्को साइट पनि खोला डाइभर्ट गर्न लागेको हो।

'निवेदन दिएको दुई दिन खोलालाई डाइभर्ट गर्न काम गरेको देखियो। आजै म  पुगेको थिएँ। साइटमा कोही पनि छैन। पछि पनि आफैंले गर्नुपर्ने हो भनेर गर्दै गरेको हुनसक्छ,' उनले भने, 'त्यो पाइलमात्रै मर्मत गरेर हुन्छ वा पूरै पुल नयाँ बनाउनुपर्छ भन्ने निर्णय विभागले गर्नेछ।'

सडक  विभागले उक्त डिजाइन स्वीकृत गरेपछि मात्रै निर्माण कम्पनीले स्ट्रक्चरको काम गर्न पाउनेछ। स्वीकृति नलिइ स्ट्रक्चरको काम गरे त्यसले मान्यता पाउने छैन। पप्पुले मर्मत गर्ने भने पनि पाइलमा नै समस्या रहेकाले नयाँ पुल निर्माण गर्नुपर्ने पुल महाशाखाका इन्जिनियरहरू बताउँछन्। यसबारे थप अध्ययन गरेर मात्रै निर्णय गर्ने पक्षमा सडक विभाग छ।

गुलरिया र बर्दिया नगरपालिका जोड्ने यो पुल २०६७/६८ मा सम्झौता भएर २०७३/७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। करिब डेढ वर्ष ढिला गरी निर्माण गरिएको पुल हस्तान्तरण नहुँदै भासिएको हो। निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको थियो। करिब ४ सय २५ मिटर लम्बाइको पुलको लागत १६ करोड ६८ लाख रूपैयाँ छ। निर्माणपछि पुल हस्तान्तरण नहुँदै भासिएपछि आयोजना र ठेकेदार कम्पनी आरोप-प्रत्यारोप गर्दै बसेका थिए। पप्पु विवादित कम्पनी हो, जसले देशका विभिन्न भागमा पुल लगायत पूर्वाधार संरचना निर्माणको जिम्मा लिएर अलपत्र पारेर छाडेको आरोप छ। सार्वजनिक खरीद अनुगमन कार्यालयले यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा समेत राखिसकेको छ।

आयोजनाका एक इन्जिनियरका अनुसार जब्दीघाट पुलका कारण निर्माण कम्पनीलाई अरू ठेक्का पाउन असर पर्ने भएपछि आफैंले मर्मत गरिदिन तयार भएको हो। यसअघि डिभिजनकै कमजोरीका कारण भत्किएको भन्दै आरोप लगाएर बसेको थियो। कम्पनी कुनै हालतमा पुल मर्मत गर्ने पक्षमा थिएन। असर पर्ने भएपछि पुल मर्मत गरिदिन बाध्य भएर अघि सरेको दाबी ती इन्जिनियरको छ। आयोजनाका अधिकारीहरूले पप्पुलाई 'करेक्सन' गर्न अवसर भने नदिएका होइनन्। तर, निर्माणमा भएका त्रुटि सच्याउनुको साटो लामो समय वावविवाद चलिरहेको थियो।

अख्तियारको मुद्दा विचाराधीन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुल निर्माणका क्रममा प्रारम्भीक चरणदेखि नै गल्ती भएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो। २०७५ असोज १९ मा पप्पु कन्स्ट्रक्सनका पूर्व अध्यक्ष हरिनारायण रौनियार सहित १२ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दा अदालतबाट अझै छिनोफानो हुन बाँकी छ।

पुल निर्माण गर्दा अनियमितता भएको ठहर गर्दै आयोगले मुद्दा दर्ता गरेको हो। हरिनारायणका छोरा सुमित रौनियार अहिले कम्पनीका प्रमुख छन्। उनीसहित अन्य १० जना मुद्दामा प्रतिवादी छन्। मुद्दाको अभियोगपत्रमा १९ करोड ३२ लाख २५  हजार ६ सय ९५ रूपैयाँ मागदाबी आयोगले गरेको छ।

आयोगले एभरेष्ट इन्जिनियरिङ कन्सल्टेन्टका सञ्चालक कृष्णदेव यादव, डिभिजन सडक कार्यालय नेपालगंजका तत्कालीन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ तथा राजकुमार यादव, त्यही कार्यालयका निमित्त प्रमुख नवराज केसी, इन्जिनियरहरु प्रेमप्रसाद चुवाई, हरिबहादुर  खड्का, दीपेन्द्रबहादुर विष्ट तथा सव इन्जिनियरहरु कर्मा तेन्जिन तामाङ र गोविन्द गैरेलाई मुद्दामा विपक्षी बनाएको छ। पुल निर्माणका क्रममा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरिएको, पुल निर्माणाधीन अवस्थामा नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्कने अवस्थामा पुग्नुमा प्रारम्भिक चरणदेखि अन्तिमसम्म गल्ति भएको ठहर गर्दै आयोगले मुद्दा दर्ता गरेको हो। प्राविधिक कर्मचारीहरुबाट पनि गल्ति भएको ठहर गरिएको छ।

लाइन लेभल र पिएर हाइटको सम्बन्धमा भएको गम्भीर लापरबाही नसच्याई त्रुटिपूर्ण कार्यलाई स्वीकार गरि गुपचुप रूपमा अनुगमन गरेको, नापजाँच हचुवाको भरमा गरेको, पुल स्पेसिफिकेशन बमोजिम नभएको तथा गुणस्तर प्रमाणित नगराई भुक्तानी सिफारिस गरेका आरोपहरू अभियोगपत्रमा छ।

जमिन मुनिको भागमा निर्माण गरिएका पाइलहरू डिजाइन बमोजिम निर्माण नगरेको तथा निर्माण भएको पाइलहरूमा समेत क्याभिटिज नभएका कारण पाइलले भार नथेगी पुल भासिएको आयोगले गरेको प्राविधिक परीक्षणमा देखिन आएको थियो।

सडक विभाग अन्तर्गतको पुल महाशाखाले उद्घाटन नहुँदै पुल भास्सिएपछि के कारणले हो भन्दै पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गतको इन्स्टिच्युट अफ इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसेजबाट प्राविधिक अध्ययन गराएको थियो। उक्त अध्ययन प्रतिवेदनमा जमिनमुनि १६ मिटरसम्म हुनुपर्ने पाइल ५.५ मिटरभन्दा मुनि कंक्रिट नभेटिएकाले पुलको भार थाम्न नसकी भासिएको उल्लेख छ। पप्पु कन्स्ट्रक्सनले भने डिजाइनमै कमजोरी रहेका कारण पुल भासिएको बताउँदै आएको छ। पुल्चोकको रिपोर्टमा भने डिजाइनमा समस्या नरहेको उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell