
धादिङ : मध्य धादिङको ढोलामण्डली पूजाको प्रसाद खाएर घर फर्कदै गरेका यात्रु बोकेको ट्रक आज नीलकण्ठ नगरपालिका-८ ससाह ज्यामिरे सडकमा पल्टिँदा ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
ज्वालामुखी गाउँपालिका-४ स्थित ढोला मण्डलीको दर्शन गरेर फर्कदै गर्दा ग १ ख ८०१२ नम्बरको आइसर ट्रक सडकमा पल्टिएको हो। दुर्घटनामा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने चार जनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानाकारी दिए।
मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका-२ भुलभुलेका तिलकबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, प्रेमबहादुर गुरुङ, विदुर गुरुङ, बलबहादुर गुरुङ, सेते गुरुङ र ध्वजबहादुर गुरुङ रहेका छन्। दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन्।
अत्यधिक गतिमा गाडी कुदिरहेको र सबै मानिस हल्ला गरेर कराइरहेका बेला सडकमा गाडी पल्टेको गाडीमा सवार घाइते कमल गुरुङले जानकारी दिए। मण्डलीमा पाठी काटेर भोग दिने चलनअनुसार भोग चढाएपछि गाउँवासी मिलेर मासु र रक्सी खाएका थिए। रक्सीको नशामा गाडी चलाउँदा दुर्घटनामा परेको घाइतेहरुको भनाइ छ।
घाइतेहरुलाई स्थानीय बासिन्दा, नेपाल प्रहरी र सामाजिक स्वयंसेवकहरुले उद्धार गरेका थिए। घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ। गम्भीर १० जना घाइतेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ट्रमा अस्पताल पठाइएको छ भने एम्बुलेन्सबाट ६ जना लगिएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए। अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
धादिङ अस्पतालमा बिरामी घाइतेहरुको उपचार भइरहँदा आफन्त र बजारवासीको भीड लागेको थियो। स्थानीयले लापर्वाहीपूर्ण तरिकाले सवारी चलाउनेलाई कारबाहीको माग गरेका छन्।