PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ब्रेक्जिटलाई छायाँमा पार्नेगरी 'हार्ड मेगजिट' : के मिडियाको 'डबल स्टयान्डर्ड'का कारण ह्यारी र मेगनले छाडे राजपरिवार?



सहयोग रञ्जित

ब्रेक्जिटलाई छायाँमा पार्नेगरी 'हार्ड मेगजिट' : के मिडियाको 'डबल स्टयान्डर्ड'का कारण ह्यारी र मेगनले छाडे राजपरिवार?
फोटो : thelensblur/Buzzfeed/AP

बेलायत युरोपियन युनियन (इयु)बाट अलग हुने प्रक्रिया (ब्रेक्जिट)को संघारमा छ। सन् २०१६ मा भएको जनमत संग्रहबाट बेलायतले युरोपियन युनियनबाट अलग हुने निर्णय गरेको थियो। २०१९ मार्चमा बेलायतले ब्रेक्जिट कार्यान्वयन गर्ने भनिए पनि त्यो सम्भव भएन। प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएपछि प्रधानमन्त्री बनेका बोरिस जोनसनले इयुका नेताहरु सँग सहमति गरी जनवरी ३१ लाई ब्रेक्जिटको मिति टुंगो लगाएका थिए। यद्यपि, सोही मितिमा नै बेलायतले ब्रेक्जिटलाई कार्यान्वयन गर्ला भन्नेमा अझै शंका छ।

चार वर्षदेखि इयुबाट 'एक्जिट' (बाहिरिने) प्रयासमा छ बेलायत। अब प्रयास सफल हुन केही दिनमात्रै बाँकी रहँदा बेलायतमा ब्रेक्जिटको चर्चालाई नै ओझेलमा पार्ने अर्को 'एक्जिट' को चर्चा चलिरहेको छ। त्यो हो 'हार्ड मेगजिट'। अर्थात्, बेलायतको राजपरिवारबाट राजकुमार ह्यारी र मेगन मार्कलको 'एक्जिट'।

एक हप्ताअघि ह्यारी र मेगनले आफूहरु आत्मनिर्भर हुन राजपरिवारबाट अलग हुने घोषणा गरेका थिए। अप्रत्यासित रुपमा आएको यस घोषणाका कारण बकिङहम प्यालेसमा हलचललाई ल्यायो। तर, अन्तत: बेलायती राजपरिवार ह्यारी र मेगनले रोजेको बाटो स्वीकार्दै उनीहरुलाई सघाउने निर्णयमा पुग्यो।

महारानी एलिजाबेथले विज्ञप्ति मार्फत् आफूले यस दिनको कल्पना नै नगरेको भन्दै 'नातिले रोजेको स्वतन्त्र जीवनको बोटो सफल होस्' भन्ने कामना गरेकी छिन्। महारानीको यो घोषणसँगै ह्यारी र मेगनले शाही पदवी प्रयोग नगर्न सहमति पनि भएको छ। यद्यपि, उनीहरु ड्युक र डचिस अफ ससिक्सका रुपमा भने रहने छन्।

बेलायती राजपरिवार गम्भीर छलफलमा रहँदा मेगन भने क्यानडामा उडिन्। ह्यारी भने यता आफ्नो परिवारसँग छलफलमा नै थिए।

ह्यारीले आफ्नो निर्णय अप्रत्याशित नभएको भन्दै यस विषमा महिनौंदेखि छलफलमा रहेको बताएका थिए। स्वतन्त्र र आर्थिक रुपमा आत्मनिर्भर हुन आफूहरुले करदाताको पैसा नलिइकन महारानीका लागि काम गर्ने भने पनि त्यो सम्भव नभएको उनले बताएका थिए।

ह्यारीले यो निर्णय लिँदा आफूलाई निकै दु:ख भएको तर यसको विकल्प पनि नभएको बताइरहँदा बेलायती मिडियाहरुले भने यसलाई 'हार्ड मेक्जिट' संज्ञा दिए।

मिडियासँगको कुरापछि बेलायतका राजकुमारी ह्यारी केही घण्टा अगाडिमात्रै क्यानडा पुगे। शाही पदवी त्यागेर धेरै समय क्यानडा बस्ने घोषणा गरेका ह्यारी मार्कल कहाँ पुगेका हुन्।

२०२० को मार्चसम्म ह्यारी र मार्कल राजपरिवारका सदस्य रहनेछन्। त्यसपछि उनीहरु स्वतन्त्र हुनेछन्। ह्यारी र मार्कल त्यसैको तयारी स्वरुप हाल क्यानडा पुगेको बताइन्छ। राजपरिवारबाट अलग भएपछि न त उनीहरुले शाही पदवी प्रयोग गर्नेछन् न त उनीहरुले करदाताको पैसा प्रयोग गर्न पाउनेछन्। आर्थिक रुपमा आत्मनिर्भर हुन उनीहरुले के काम गर्लान् भन्ने विषयलाई अहिले चासोका रुपमा लिइएको छ। उनीहरुको सुरक्षाप्रति पनि बेलायती राजपरिवार छलफलमा छ।

मेगनकै कारणले भएको हो त 'मेगजिट' ?

मेगन बेलायती राजपरिवारबाट बाहिने भएकाले यो पूरै घटनालाई 'मेगजिट'का रुपमा प्रस्तुत गरिएको हो। शाही जिम्मेवारी त्यागेर क्यानडा गएर बस्ने निर्णय मेगनकै कारण भएको मान्नहरुको कमी छैन। यसैले पनि बेलायती राजपरिवारबाट मेगनको बहिर्गमन भनिएको हो।

द सन, बिबिसी, न्यूयोर्क टाइम्स,गार्डियन, डेली मेललगायतका संचारमाध्यमले 'मेगजिट' शब्दको प्रयोग गर्दै समाचार सम्प्रेषण गरेका छन्।

मेगनको कुरा मान्नैपर्ने र अरु कुनै विकल्प नभएपछि राजपरिवार त्याग्नै पर्ने कुरा ह्यारीका लागि निकै गाह्रो भएकाले यसलाई धेरैले 'हार्ड मेगजिट' भनेर पनि प्रस्तुत गरेका छन्। शाही परिवारबाट अलग भए पनि आफ्नो समय क्यानडासँगै बेलायतमा पनि बिताउने घोषणा ह्यारीले गरे पनि मेगन भने फेरि बेलायत नफर्किने योजनामा रहेको चर्चा पनि चलेको छ।

मेगनको 'असन्तुष्टि' नै बेलायती राजपरिवारबाट उनीसँगै ह्यारीको बहिर्गमनको कारण भएको प्रस्ट छ। विशेषगरी मेगनलाई लिएर पहिलादेखि नै बेलायतीहरु पक्ष र विपक्षमा थिए। 'मेगजिट' शब्द हाल धेरै प्रयोग भएता पनि मार्कललाई अमेरिका फर्कन भन्दै ट्रोल गर्नेहरुले यी शब्द पहिला पनि प्रयोग गर्दै आएका थिए।

यस्तै, ह्यारी र मेगनले स्वतन्त्रता खोज्दै यो निर्णय लिनुको मुख्य कारण मिडियाको 'डबल स्टयान्डर्ड' भूमिका समेत हो भनिएको छ।

मेगनप्रति मिडियाको नकारात्मक टिप्पणीप्रति राजदरबार र ह्यारी दम्पत्तीले यस अघि नै असन्तुष्टि नजनाएको होइन। मेगनले गरेका हरेक काममा मिडियाले प्रश्न उठाउन थालेपछि ह्यारीले यसको प्रतिवादमा समेत उत्रनु परेको थियो। गत मे महिनामा छोरा आर्ची जन्मिएपछि उनी मिडियाको सिकार भइन्।

ह्यारी र मेगनले सार्वजनिक रुपमा नै मिडियाले आफूहरुलाई अनुचित किसिमले प्रस्तुत गरेको बताइसकेका छन्।

प्रिन्स चार्ल्सपछि बेलायतको राजगद्धिको उत्तराधिकारी रहेका ह्यारीका दाजु राजकुमार विलियम्सकी श्रीमती केट मिडलटनसँग तुलना गर्दै मिडियाले मेगनलाई प्रस्तुत गर्ने गरेकाले उनी दु:खी थिइन्।

डेली मेलमा केट गर्भवती हुँदा आफ्नो पेटमा हात राखेर हिँडिरहेको तस्विर छापिएको थियो। त्यसलाई डेली मेलले मुख्य समाचार बनाउँदै गर्भवती हुँदा पनि केटले आफ्नो राजकीय जिम्मेवारी निर्वाह गरिरहेको भनेर प्रस्तुत गरिएको थियो।

यता, मेगन गर्भवती हुँदा उनी पनि पेटमा हात राखेर हिँडेको तस्विर डेली मेलले प्रकाशित गर्‍यो। तर, त्यहाँ मिडियाको 'पूर्वाग्रह' देखियो। उनले पेटमा हात राख्नुमाथि प्रश्न खडा गरियो। मेलले यो मेगनले 'एक्टिङ' गरिरहेकी हुन्? समेत लेख्न भ्यायो।

मेगनले लगाउने पहिरनदेखि उनी बस्ने, हिँड्ने शैलीमाथि मिडियाहरुले प्रश्न उठाइरहे। केटले गरेको कुरालाई ठीक र मेगनले गरेकोलाई शाही अपमानको संज्ञा दिए मिडियाहरुले।

मेगनमात्र नभई मिडियाले ह्यारी र विलियमका कामका बारेमा पनि प्रश्न खडा गरिरहे। दुवै जनाको सम्बन्ध राम्रो नभएको र त्यसैकारण मेगजिटको अवस्था आएको समाचार प्रकाशन भयो। पछि दुवैले यी कुरा सत्य नभएको प्रस्ट पारेका छन्।

पछिल्लो चरणमा मिडियाका कारण मेगन र ह्यारी आजित बनेको देखिन्छन्। अझ छोरा जन्मिएपछि पनि टिकाटिप्पणी हुन थालेपछि दुवैजनाले दुरगामी निर्णय स्वरुप बेलायतको राजपरिवारबाट अलग हुने निर्णय गरेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell