PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

राजकुमारी एस्ट्रिडलाई भरतपुरमा पञ्चैबाजाले स्वागत



रासस

राजकुमारी एस्ट्रिडलाई भरतपुरमा पञ्चैबाजाले स्वागत
भरतपुर महानगरपालिकाद्वारा बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई बुधवार भरतपुर विमानस्थलमा पञ्चैबाजाका साथ स्वागत गरिँदै। फोटो : रासस।

चितवन : बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई आज भरतपुरमा स्वागत गरिएको छ। नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा हुने एक कार्यक्रममा सहभागी हुन आएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले औपचारिक रुपमा पञ्चैबाजाका साथमा स्वागत गरेको हो।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले विमानस्थलमै पुगेर फूलमालाले राजकुमारी एस्ट्रिडलाई स्वागत गरेका हुन्। सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईसहित जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो।

विमानस्थल बाहिर महानगरपालिकाले राजकुमारी एस्ट्रिडलाई पञ्चैबाजाका साथ स्वागत गरेको थियो। राजकुमारीको स्वागतमा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा पनि सहभागी थिए।

राजकुमारी एस्ट्रिडलाई महानगरपालिका प्रमुख दाहालले महानगरको बारेमा जानकारी गराएकी थिइन्। यहाँको पर्यटकीय, भौगोलिक, सांस्कृतिक महत्वका विषयमा दाहालले जानकारी दिइन्। दाहालसँगै राजदूत थापाले जिल्लाको महत्वका बारेमा राजकुमारी एस्ट्रिडलाई अवगत गराए।

राजकुमारी एस्ट्रिडसँगै उनका श्रीमान् राजकुमार लोरेन्जसहित सात जनाको समूह सहभागी भएको थियो। यही माघ ५ गतेका दिन नेपाल आएकी एस्ट्रिड ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। राजदूत थापाका अनुसार राजकुमारी एस्ट्रिडले नेपालका राष्ट्रपति, उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्यमन्त्री, पर्यटनमन्त्रीलगायतसँग भेट गरेकी छिन्। यस्तै उनले भक्तपुरको दरवार क्षेत्र, बौद्धनाथ स्तूप, काठमाडौंका विभिन्न स्थलहरु र धनगढीको भ्रमण गरेकी छिन्।

उनी आजै नवलपरासीबाट फर्किएर मेघौली बस्ने कार्यक्रम रहेको छ। राजकुमारी एस्ट्रिड दुई दिनसम्म चितवन राष्ट्रिय निकुञ्जमा निजी घुमफिरमा रहने राजदूत थापाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell